मंगलवार, कार्तिक २६, २०७६
    विज्ञान/प्रविधि

    फेसबुकलाई पछि पार्दै टिकटक बन्यो सर्वाधिक डाउनलोड हुने एप

    शुक्रबार, ८ कार्तिक २०७६, आहाखबर
    काठमाडौँ, ८ कात्तिक
     
    लोकप्रिय भिडियो मेकिङ तथा शेयरिङ एप टिकटक विश्वमा सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको छ ।
     
    फेसबुक तथा इन्स्टाग्राम लगायतका चर्चित एपहरुलाई पछि पार्दै टिकट सर्वाधिक डाउनलोड हुने एप बन्न सफल भएको हो । एप एनालिटिक्स प्लाटफर्म सेन्सर टावरको रिपोर्ट अनुसार गत सेप्टेम्बर महिनामा विश्वमा सबैभन्दा धेरै डाउनलोड भएका सोसल मिडिया एपमध्ये टिकटक पहिलो नम्बरमा रहेको छ । 
     
    गुगलको प्लेस्टोरमा मात्र नभै एप्पलको एप स्टोरमा समेत टिकटक नै सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको हो । फेसबुक र इन्स्टाग्राम जस्ता सोसल मिडिया एपहरु डाउनलोड संख्याको आधारमा टिकटक भन्दा पछि परेका छन् ।
     
    रिपोर्ट अनुसार सेप्टेम्बर महिनामा मात्रै टिकटक ६ करोड पटक डाउनलोड भयो । अर्को रोचक तथ्य त के भने यस अवधिमा टिकटक सबैभन्दा धेरै पटक भारतमा डाउनलोड भएको छ । कूल डाउनलोड मध्ये भारतमा झण्डै आधा अर्थात् ४४ प्रतिशत डाउनलोड भएको छ भने अमेरिकाको हिस्सा ८ प्रतिशत रहेको छ ।
     
    दोश्रो स्थानमा रहेको फेसबुकको एप सेप्टेम्बर महिनामा विश्वमा ५ करोड ५ लाख पटक डाउनलोड भयो । फेसबुक पनि यस अवधिमा भारतमा नै सबैभन्दा धेरै पटक डाउनलोड भयो भने । सेप्टेम्बर महिनामा कूल डाउनलोडको २३ प्रतिशत भारतमा भएको छ भने दोश्रो स्थानमा रहेको इण्डोनेसियामा ११ प्रतिशत डाउनलोड भएको छ ।
     
    सबैभन्दा धेरै डाउनलोड हुने एपहरुमध्ये टप फाइभमा इन्स्टाग्राम, लाइकी तथा स्नापच्याट रहेका छन् । त्यस्तै हेलो छैटौँ स्थानमा रहँदा ट्वीटर सातौँ, पिन्ट्रेस्ट आठौँ, हागो नबौँ र बिगो लाइभ दशौँ स्थानमा रहेको छ ।
     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast