आईतवार, मंसिर १, २०७६
    खेल संसार

    सुमनको उत्कृष्ट प्रदर्शनमा चितवन बन्यो च्याम्पियन

    बिहिवार, ७ कार्तिक २०७६, आहाखबर

    काठमाडौं, कार्तिक ७ । 

    सुमन खतिवडाको अलराउण्ड प्रदर्शनसँगै चितवन राइनोजले वुमन च्याम्पियन्स लिग क्रिकेटको उपाधि जितेको छ ।

    चितवन राइनोजले वुमन्स च्याम्पियन्स लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बिहिबार भएको फाइनलमा क्याट क्विन्स काठमाडौंमाथि ४५ रनको नतिजा निकाल्दै चितवनले पहिलो संस्करणको वुमन्स च्याम्पियन्स लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो ।

    त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर ११२ रन बनायो ।

    ११३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको काठमाडौं निर्धारित २० ओभरमा ६७ रनमा अलआउट भएपछि चितवन अपराजित रहँदै उपाधि जित्न सफल भएको छ । काठमाडौंलाई सस्तैमा समेट्न चितवनकी सुमनले उत्कृष्ट बलिङ गरिन् ।  

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंका लागि अप्सरी बेगमले १५, ममता थापाले १३ तथा ईश्वरी बिष्टले १२ रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन । कप्तान रुविना क्षेत्री २ रनमा आउट भएपछि दबाबमा परेको काठमाडौंले लगातार विकेट गुमाएको थियो । ओपनर शोभा आलेले ६ रन जोड्दा नितु भण्डारीले २, संगिता राइले ४ रन बनाइन् । रोमा थापा र सरस्वती कुमारीले खाता नै खोल्न सकेनन् ।

    चितवनकी सुमनले सर्वाधिक ३ विकेट लिइन् । रेखा रावल र रितु कन्नौजियाले २–२ विकेट लिए । यसअघि पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय १३ रनको विजय लक्ष्य दिएको थियो । चितवनका लागि उत्कृष्ट बलिङ गरेकी समुनले ब्याटिङतर्फ पनि सर्वाधिक २९ रन बनाएकी थिइन् ।  

    कागल श्रेष्ठले २१ रन बनाउँदा कञ्चन श्रेष्ठले १९ रन जोडिन् । कप्तान इन्दु बर्मा २२ रनमा अविजित रहँदा रितु कन्नौजियाले ६ रन बनाएकी थिइन् । प्यारी चौधरी ३ रनमा अविजित रहिन् । काठमाडौंका लागि संगिता राई, लक्ष्मी साउँद र सरस्वती कुमारीले १–१ विकेट लिएका थिए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast