आईतवार, मंसिर १, २०७६
    आर्थिक खबर

    दीगो विकासका लागि अनिवार्य शर्त : स्वदेशी लगानीकर्तालाई विशेष प्राथमिकता

    मंगलवार, ५ कार्तिक २०७६, आहा खबर टिप्पणी । .

    काठमाडौं, ५ कार्तिक । 

    गत २०७५ माघमा प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपालमा लगानी गर्न आव्हान गर्दै आफ्नो सरकार भावी पुस्ताप्रति सन्तुलित, सचेत र जिम्मेवारपूर्ण विकासको प्रयासमा लागि रहेको बताएका थिए । तत्कालीन समयमा स्विटजरल्याण्डको डाभोसमा  विश्व आर्थिक मञ्चको ४९ औं बैठकलाई सम्बोधन गर्दै उनले नेपालमा लगानीको वातावरण बनेको बताएका हुन् ।

    प्रधानमन्त्री ओलीले ‘स्ट्राटेजीक आउटलुक अन साउथ एसिया’ सत्रलाई सम्बोधन गर्दै नेपालको सामाजिक, आर्थिक, रुपान्तरणका लागि सरकारले आफ्नो सम्पूर्ण प्रयास केन्द्रित गरेको भन्दै सरकारले वातावरण संरक्षण, दीगो विकास र जनतामा समर्पित भएर काम गरिरहेको उल्लेख गरेका थिए ।

    त्यस्तै, गत साउन २१ गते  वाशिङटन डिसी पुगेर अर्थमन्त्री डा. युवराज खतिवडाले विदेशमा बसोबास गरिरहेका नेपालीलाई पर्यटन, वित्त तथा अन्य विभिन्न क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

    अर्थमन्त्रीले मेरिल्याण्डमा आयोजित प्रवासी मञ्चको कार्यक्रममा सहभागी गैर आवाशीय नेपाली (एनआरएन) लाई लगानीको लागि आग्रह गरेका थिए ।

    विश्व बैंकसँग रणनीतिक साझेदारीसम्बन्धी छलफल गर्न डिसी गएका अर्थमन्त्रीले लगानीको वातावरण निर्माण गरेर आगामी १० वर्षभित्र कोही नेपालीलाई रोजगारीको लागि विदेश जान नपर्ने वातावरण बनाउने बताएका थिए ।


    नेपालमा लगानी विदेशी कम्पनीको अवस्था 

    नेपालमा मनग्गे आम्दानी गर्ने विदेशी लगानी भएका कम्पनीहरूको सूचीमा एसबीआई बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, डाबर नेपाल, गोर्खा ब्रुअरी लगायत समेत पर्छन्।

    नेपालमा विदेशी लगानी भित्रिन नसकेको भन्दै कतिपय अर्थशाश्त्रीहरु गहिरो चिन्ता व्यक्त गर्छन् ।

    नेपालमा सञ्चालित धेरैजसो विदेशी लगानीका कम्पनीहरूले मनग्गे कमाइरहँदा पनि अहिले भने नेपालमा विदेशी लगानी भित्रिन नसकेको भन्दै कतिपय अर्थशाश्त्रीहरु गहिरो चिन्ता व्यक्त गर्छन् ।

    त्यसका लागि पहल गरिरहेको बताउने नेपाल सरकारलाई भने विदेशी लगानीकर्ता आकर्षित गर्न अहिलेसम्म पनि निक्कै हम्मेहम्मे परेको देखिन्छ।


    राष्ट्रिय पूँजीलाई प्रोत्साहन

    रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलन २०७६ को उद्घाटन गर्दै नेकपा अध्यक्ष पुष्पकमल दाहालले सरकारले नीति कार्यक्रम बनाउँदा लगानीमैत्री वातावरण निर्माणको विषयलाई महत्व दिएको बताएका थिए । 

    उनले राष्ट्रिय पूँजीलाई प्रोत्साहन र दलाल पूँजीलाई नियन्त्रण गर्ने कुरामा सरकार गम्भीर रहेको समेत प्रष्ट पारेका थिए ।

    त्यस्तै, हेटौंडामा आयोजित एक कार्यक्रममा बोल्दै नेकपा अध्यक्ष तथा पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले स्वदेशी व्यवसायी र लगानीलाई आकर्षित गर्न प्रदेश स्तरीय लगानी सम्मेलन आवश्यक भएको बताएका थिए ।

    स्वदेशी लगानीकर्तालाई प्रोत्साहन नगरी बिदेशी लगानीकर्ता नेपाल ल्याउछु भनेर सोच्नु दिवासप्ना हुने उनको भनाई रहने गरेको छ । जबसम्म स्वदेशी लगानीकर्तालाई आकर्षित हुँदैनन् तबसम्म बिदेशी लगानीकर्ताहरु आउँछन् भन्नु गलत भएको पनि उनको कथन छ ।

    त्यस्तै, नेपाली काँग्रेसका नेता तथा पुर्व अर्थमन्त्री डा. रामशरण महत पनि नेपालमा गुणस्तरीय योजना र नीति निर्माणमा समस्या नभइ कार्यान्वयनमा समस्या रहेको बताउँछन् । लगानीको वातावरण, शान्ति सुरक्षा, ऐन कानुनमा सरकार स्पष्ट हुन नसकेसम्म निजी क्षेत्र आकर्षित नहुने उनको ठम्याई रहेको छ ।


    प्रदेश ३ को आधारपत्र

    प्रदेश नं. ३ अन्र्तगत प्रदेश सरकार प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष खिमलाल देवकोटाले प्रदेशको आधारपत्र प्रस्तुत गरिसकेका छन् । 

    आधारपत्रलाई नियालेर हेर्दा पूर्वाधार, उद्योग, सेवा, कृषि र पर्यटन गरी कुल ५ क्षेत्रमा लगानी केन्द्रीकृत गर्ने लक्ष्य लिइएको छ ।

    देवकोटाले प्रस्तुत गरेको आधारपत्रलाई नियालेर हेर्दा पूर्वाधार, उद्योग, सेवा, कृषि र पर्यटन गरी कुल ५ क्षेत्रमा लगानी केन्द्रीकृत गर्ने लक्ष्य लिइएको छ । उक्त आधारपत्रलाई केलाउँदा कार्यान्वयन भएको खण्डमा स्वदेशी लगानीकर्ता थप लाभान्वित हुने देखिन्छ । 


    स्वदेशी लगानीकर्ताको अवस्था

    सरकारको प्रयासका बावजुद उद्योगमा लगानीको प्रभाव देखिन सकेको छैन। उद्योग विभागमा दर्ता हुने उद्योग र आउने प्रतिवद्धतालाई आधार मान्दा लगानी निरन्तर घटेको देखिएको छ। 

    गत आर्थिक वर्षमा स्वदेशी लगनीका उद्योग र विदेशी लगानीको लागि आएको प्रतिवद्धताको जम्मा रकमलाई आधार मान्दा अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको समेत देखिन्छ।

    सरकारी अधिकारी तथा बिभिन्न दूतहरुमार्फत बिदेशका बिभिन्न कार्यक्रमहरुमा सहभागी भई नेपालमा लगानीका लागि आब्ह्वान गरिरहँदा नेपालमै रहेका स्वदेशी लगानीकर्ताहरुको अवस्था के कस्तो छ भन्ने विषयमा समेत उत्तिकै सचेत हुनुपर्ने देखिन्छ । 

     

    निष्कर्ष

    कुनै पनि देशको अर्थतन्त्रमा सुधार ल्याउनका लागि उत्पादकत्व बढ्नु अपरिहार्य छ । त्यसका लागि आवश्यक क्षेत्रमा प्रयाप्त लगानीको जरुरी पर्छ जो सर्वविदितै छ । अतः लगानी चाहियो भन्दै बिभिन्न विदेशी फोरमहरुमा गई चिल्ला-चिल्ला कुरा गर्नुपूर्व स्वदेशी लगानीकर्तालाई विश्वासमा लिन जरुरी छ । 

    सामान्यरुपमा देशमा विदेशी लगानी आएता पनि त्यसको नाफा बिदेशमै फर्किने भएकाले सकेसम्म स्वदेशी लगानीकर्तालाई नै आकर्षित गर्न जरुरी छ । पूँजी पलायन दीगो विकासका लागि बाधक समेत हुने भएकाले स्वदेशी उद्योगी तथा लगानीकर्तालाई विशेष प्राथमिकता दिन सरकार पछि पर्नु हुँदैन । 

    आफू जन्मिएको माटौमै केही गरौं भनेर जोश र होशका साथ लाग्ने लगानीकर्तालाई सरकारले उपेक्षा गरेर दीगो विकासको लक्ष्य हासील गर्न कठीन हुने कुरामा कुनै दुईमत छैन । तसर्थ देशमा विदेशी लगानी भित्र्याउनुपूर्व देश भित्रै रहेका लगानीकर्ताको हीतमा अघि बढ्न सरकारले ढीलो गर्नु हुँदैन । यसैमा सबैको हीत छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast