बिहिवार, कार्तिक २८, २०७६
    कृषि-उर्जा

    जुम्लाबाट ६ हजार ५०० मेट्रिक टन स्याउ निर्यात

    मंगलवार, ५ कार्तिक २०७६, –विजय रावत.
    खलङ्गा, ५ कात्तिक । 
     
    जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात गरिएको छ । विगत दुई वर्षयताकै स्याउबाट भित्रिने आर्थिक आम्दानीको रेकर्ड तोड्दै यस वर्ष रु ३४ करोड १८ लाख ८० हजार बराबरको स्याउ निर्यात भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताउनुभयो ।
     
    आर्थिक वर्ष २०७४-७५ मा रु १६ करोड र आव २०७५-७६ मा रु १७ करोड बराबरको स्याउ जिल्ला बाहिर गएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दुई आवको तुलनामा यस वर्ष स्याउबाट करीब रु १७ करोड आम्दानी बढी भएको छ ।” पछिल्लो समय जुम्ली किसानको स्याउखेतीप्रति बढ्दै गएको आकर्षणका कारण पनि उत्पादन वृद्धि भइरहेको छ । 
     
    जुम्लाका साढे १६ हजार घरधुरी स्याउखेतीमा निर्भर छन् । स्याउको आम्दानी हेर्दा कम्तीमा एक किसानले रु चार देखि रु छ लाख बराबर कमाएका छन् । तिला गाउँपालिका–१ का नर रावत र महेन्द्र बुढाले स्याउ निर्यातबाट करीब रु दुईदेखि रु चार लाख कमाएको जानकारी दिनुभयो ।
     
     
    १२ हजार मेट्रिक टन स्याउ उत्पादन
     
    जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार यस वर्ष जुम्लामा १२ हजार मेट्रिक टनभन्दा बढी स्याउ उत्पादन भएको छ । स्याउ उत्पादनको तथ्याङ्क पनि विगत दुई वर्षयताकै धेरै छ । जम्मा उत्पादित स्याउको ७० प्रतिशत अर्थात आठ हजार ५४७ मेट्रिक टन स्याउ बिक्रीयोग्य रहेको थियो ।  असोज अन्तिमसम्मको तथ्याङ्कअनुसार जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ मात्रै निर्यात भएको छ । 
     
    सोबाट रु ३४ करोड जुम्ला भित्रिएको छ । जुम्लाको कूल खेतीयोग्य जमीन ३९ हजार ४३५ हेक्टर छ । त्यसको तीन हजार ७०० हेक्टर जमीनमा गरिएको स्याउखेतीमध्ये एक हजार ४४७ हेक्टरमा मात्रै स्याउ फलेको थियो । सरदर रुपमा प्रतिकिसानले ८.२५ मेट्रिक टन स्याउ उत्पादन गरेका छन् । व्यापारीले बगैँचामै पुगेर धमाधम स्याउ खरीद गरेका थिए ।
     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast