बुधबार, कार्तिक २७, २०७६
    अावास-निर्माण

    नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास आज हुँदै, ४२ महिनाभित्र बनिसक्ने

    सोमबार, ४ कार्तिक २०७६, आहाखबर

    काठमाडौं, ४ कात्तिक ।  

    सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार शिलान्यास गरिने भएको छ । 

    प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे सुरुङमार्ग शिलान्यास गर्ने कार्यक्रम छ ।

    थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख श्यामप्रसाद खरेलका अनुसार यो सुरुङमार्गको पूर्वतर्फको मुख्यद्वार (पोर्टल)मा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नेछन् ।

    शिलान्यास कार्यक्रममा नेपालका लागि जापानी राजदूत, जाइकाका उच्च प्रतिनिधि, नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू लगायतको सहभागिता रहनेछ ।

    यो सुरुङमार्ग निर्माणका लागि असोज ६ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखा र निर्माणको जिम्मा पाएको हाज्मा एन्डो कर्पोरेसनबीच निर्माण सम्झौता भएको थियो।

    महाशाखाका प्रमुख अर्जुनजङ्ग थापा र हाज्मा एन्डो कर्पोरेसनका व्यापार प्रवद्र्धन विभाग, अन्तर्राष्ट्रिय महाशाखाका महाप्रबन्धक कियोसी हिरोसेकबीच सम्झौता भएको थियो ।

    दुईवटा फ्लाई ओभरसहित निर्माण हुन लागेको सो सुरुङमार्ग अबको ४२ महिनाभित्र सम्पन्न हुनेछ। करसहित करिब १५ अर्ब २५ करोड रुपियाँको लागतमा निर्माण हुन लागेको सुरुङमार्गको निर्माण सम्झौता करबाहेक साढे १३ अर्ब रुपियाँमा भएको हो ।

    श्यामप्रसाद खरेलले प्रवेश मार्गसहित ५.५६ किमी सुरुङ मार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको कुराकानीमा जानकारी दिँदै उहाँले करिब रु छ अर्ब प्रभावितलाई मुआब्जा वितरणमै खर्च हुने उल्लेख गर्नुभयो ।

    यसअघि जलविद्युत् र खानेपानी आयोजनाका लागि सुरुङ निर्माण भएपनि यातायात नै सञ्चालन हुनेगरी पहिलोपटक मार्ग निर्माण हुन लागेको हो । उक्त मार्गमा दुईवटा साना ‘फ्लाई ओभर’समेत निर्माण गरिने आयोजना निर्देशक खरेलले बताउनुभयोे ।

    जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा साँढे दुई वर्षअघिदेखि सुरुङमार्ग निर्माण प्रक्रिया शुरु भएको थियो । यसका लागि रु २२ अर्ब लाग्नेमा जाइकाले रु १६ अर्ब सहयोग गर्ने र रु छ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ । 

    सुरुङमार्गलाई जोड्ने तीन किलोमिटर प्रवेश मार्गसमेत निर्माण हुनेछ । सोही परियोजनाअन्तर्गत स्थानीय उत्पादन सङ्कलन केन्द्र (सर्भिस सेन्टर) निर्माण हुने आयोजनाले जनाएको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast