सोमबार, कार्तिक ४, २०७६
    बैंक-बीमा

    नाेटकाे जतन गराैं, एक वर्षमै नष्ट भए ७७ अर्बको नोट

    मंगलवार, २१ असोज २०७६, आहाखबर

    काठमाडाैं, २१ असाेज ।

    दसैंतिहारका लागि भन्दै वर्षेनी राष्ट्र बैंकले नयाँ नोट प्रचलनमा ल्याउने गरेकाे छ। चार्डपर्वबाहेक अन्य समयमा पनि नयाँ र सुकिला नोटहरू प्रचलनमा आउने गरेका छन्।

    बैंकका अनुसार यस वर्षको दसैंतिहारमा मात्रै १३ अर्ब बढीको नयाँ नोट बजारमा आउने छ। त्यतिमात्रै होइन, तपाईंसँग पुराना झुत्रा नोट छन् भने जुनसुकै बेला बैंक तथा वित्तीय संस्था वा राष्ट्र बैंकमा गएर साट्न पाइन्छ। ती झुत्रा नोट फेरि चलनचल्तीमा आउँदैनन्। यस्ता नोट राष्ट्र बैंकले जलाएर नष्ट गर्छ।

    वर्षेनी राष्ट्र बैंकले नष्ट गर्ने नोटको रकम अत्याधिक दरमा बढ्दै गएको छ। गत आर्थिक वर्षमात्रै राष्ट्र बैंकले ७६ अर्ब ९५ करोड रुपैयाँको नोट जलाएर नष्ट गरेको छ।

    आर्थिक वर्ष २०७४/७५ मा ५६ अर्ब ४० करोड रुपैयाँ बराबरको झुत्रा नोट जलाइएकोमा ०७३/७४ मा २५ अर्ब ७५ करोड रुपैयाँ मूल्यको नोट जलाइएको थियो। विगत ६ आर्थिक वर्षमा कुल ४ खर्ब ९४ अर्ब रुपैयाँको नोट जलाएर नष्ट गरिएको छ।

    यो तथ्यांकले के देखाउँछ भने हामी नोट प्रयोगको मामिलामा गैरजिम्मेवार छौं। हामी धनलाई लक्ष्मी मानेर पूजा त गर्छौं, तर लक्ष्मी स्याहार्नमा ध्यान दिँदैनौं। नोट कसरी प्रयोग हुन्छ भन्नेले कति छिटो झुत्रिन्छ भन्ने निर्धारण गर्छ।

    खल्तीमा नोट राख्दा सावधानी नअपनाउने र कच्याककुचुक पारेर राख्ने प्रवृत्ति छँदैछ। सानातिना हरेक खरिदबिक्रीमा नोट प्रयोग हुँदा धूलोमैलो, चिल्लो र फोहोर लाग्ने गर्छ। यसले नोटको आयू स्वतः कम हुन्छ।

    धनलाई लक्ष्मी मानेर पूजा गर्दा नोटमा सिधै अबिररकेसरी लत्पत्याउने चलनले पनि हाम्रा नोट बढी झुत्रिन्छन्।

    पछिल्लो समय राष्ट्र बैंकबाट छापिएका नोटको गुणस्तर कम हुनुले पनि छिटो झुत्रिएको हो कि भन्ने शंका छ। राष्ट्र बैंकका अधिकारी भने नोटको गुणस्तरभन्दा लापरबाहीपूर्वक प्रयोग गरिनुले नै झुत्रिने क्रम बढ्दै गएको दाबी गर्छन्।

    भौतिक रूपमा कागजी नोट लेनदेन गर्ने प्रचलनले हिफाजतमा असर परेको मुद्रा व्यवस्थापन विभाग प्रमुख तथा प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए।

    उनले भने, ‘डिजिटल पद्धतिबाट भुक्तानी गर्ने चलन कम भएको हाम्रोजस्तो देशमा भौतिक नोटको प्रयोग बढी हुन्छ। जहाँ भौतिक नोटको प्रयोग बढी हुन्छ, त्यहाँ बढी नोट झुत्रिनु स्वाभाविक हो।’ठूल्ठूला डिपार्टमेन्ट स्टोर, सिनेमा हल, होटल लगायतमा डिजिटल भुक्तानी भए पनि यसले व्यापकता पाउन सकेको छैन।

    ‘डिजिटल कारोबार बढाउन सक्यौं भने बजारमा सर्कुलरमा रहने रकम घट्छ, यसले नोट लामो समय सुरक्षित रहन्छ,’ विभाग प्रमुख निरौलाले भने, ‘झुत्रिएका र नष्ट गर्नुपर्ने हालतका नोटहरू कम हुन थाल्छन्।’

    वार्षिक रूपमा नष्ट हुँदै आएको यस्ता नोटको छपाइमा लाग्ने खर्च पनि ठूलै छ। राष्ट्र बैंकका अनुसार ५, १०, २०, ५० र १०० का नोट छपाउँदा प्रतिनोट औसत १ रुपैयाँ ६५ पैसा लागत पर्छ।

    त्यस्तै, ५०० र १००० का नोट छपाउँदा प्रतिनोट औसत २ रुपैयाँ ६४ पैसा लागत पर्छ। तर यो लागत महँगो हुँदै गएको छ। हालै चिनियाँ कम्पनीले १ हजार रुपैयाँ नोटको छपाईका लागि पाएको टेन्डरअनुसार एक हजारको प्रतिनोट छपाई लागत ३ रुपैयाँ ३७ पैसा पर्ने भएको छ।

    गत आर्थिक वर्ष जलाइएको नोटको हिसाव गर्ने हो भने करिब ४५ करोड रुपैयाँ पर्न आउँछ। नोट छपाईका लागि विदेशी कम्पनीलाई जिम्मा दिइँदै आएकाले यो सम्पूर्ण रकम बाहिरिने हो।

    अब डिजिटल्ली रुपमै कारोबार बढाउनुपर्ने र प्रयोगमा ल्याउँदा तपाईहामीले नोटको हिफाजत गर्न सक्यौँ भने धेरै हदसम्म नष्ट गर्नुपर्ने नोटमा कमी आई छपाईका लागि बाहिरिने रकम पनि बचत हुने थियो।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast