आईतवार, कार्तिक ३, २०७६
    राज्य-समाज

    धुमधामले सिंगारिँदै काठमाडाैं, चिनियाँ राष्ट्रपति सि नेपालमा आउने मिति भने अझै गोप्य

    सोमबार, २० असोज २०७६, आहाखबर

    काठमाडौं, २० असोज ।

    चिनियाँ राष्ट्रपति सी जिन पिङ नेपाल आउने भनेर हिजोआज काठमाडौंको सडक सिंगारिँदै छ ।

    उनी ठ्याक्कै कहिले काठमाडौं ओर्लन्छन् भन्ने मितिबारे सरकार र चीन दुबैले गोप्य राखेका छन् । यद्यपि, सि दशैं लगत्तै काठमाडौं ओर्लने बताइएको छ ।

    सि आफ्नो भारत भ्रमणकै मेसो पारेर नेपाल आउने बताइएको छ । यसैका लागि सरकारले सि हिड्ने सडक धमाधम कालोपत्रे गर्दैछ । सडक दायाँबायाँ पनि सकेसम्म राम्रो देखाउन नक्कली विकास देखाइदैछ ।

    काठमाडौंको तीनकुने क्षेत्रमा रातारात डोजर चलाएर पार्क बनाइदै छ । हरियाली पार्क बनाउन बोटविरुवासमेत रोपिएको छ । सरकारको यस्तो नक्कली विकास हरेक पटक विदेशी अति विशिष्ठ पाहुना आउँदा देखिन्छ ।

    अघिल्लो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा होस् वा बिम्स्टेकको बैठक हुँदा यसैगरी रातारात नक्कली विकास गरेको देखाउँदै करोडौं उडाइएको थियो । यस पटक पनि सि जिन पिङलाई देखाउनकै लागि अस्थायी विकासको मूल फुटाइएको छ ।

    सि आउने आधिकारिक मिति सार्वजनिक नगरिएपनि काठमाडौं रंग्याइन थाल्दा चिनियाँ राष्ट्रपति सि भारत भने आउँदो शुक्रबार भ्रमणमा जाने निश्चित भएको छ ।

    भ्रमणका क्रममा राष्ट्रपति सीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । राष्ट्रपति सी भारत भ्रमण सकाएर नेपाल आउने बताइएको छ ।

    भारत–पाकिस्तानबीच कश्मीर मामला बल्झिएका बेला सिको भारत भ्रमण हुन लागेको छ । यसअघि पाकिस्तानी प्रधानमन्त्री इमरान खान भने सोमबारदेखि चीन भ्रमणमा छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast