सोमबार, कार्तिक ४, २०७६
    स्वास्थ्य

    सभामुख महरा हिरासतमा परे बिरामी, उच्चरक्तचाप र अक्सिजनको कमी

    सोमबार, २० असोज २०७६, आहाखबर

    काठमाडाैं, २० असाेज ।

    महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरामा स्वास्थ्य समस्या देखिएको छ।

    प्रहरी स्रोतका अनुसार सिंहदरबारस्थित महानगरीय प्रहरी वृत्तको हिरासत कक्षमा रहेका उनलाई उच्च रक्तचापसँगै श्वासप्रश्वासको समस्या दखिएको हो।

    उनलाई हिरासत कक्षमै अक्सिजन दिएर राखिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

    संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा महरालाई आइतबार साँझ प्रहरीले बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको हो। 

    सोही राति त्रिवि शिक्षण अस्पतालमा महराको स्वास्थ्य परीक्षण गरिएको छ। प्रहरीले उनको नियमित तथा फोरेन्सिक दुवै तरिकाबाट स्वास्थ्य जाँच गराएको हो।

    प्रहरीको प्रारम्भिक अनुसन्धनबाट यही असोज १२ गते राति तत्कालीन सभामुख महरा तीनकुनेस्थित रोशनीको कोठामा गएको पुष्टि भएको थियो। किटानी जाहेरीपछि प्रहरीले पीडित महिलाको स्वास्थ्य जाँच गरी अनुसन्धान अघि बढाएको हो।

    प्रहरीले शुक्रबार नै पीडित महिलाको स्वास्थ्य परिक्षण गराइसकेको छ भने उनको कोठाबाट प्राप्त प्रमाणहरुको पनि फोरेन्सिक जाँच गरिसकेको छ। तर दुवैको रिपोर्ट आयोरआएन भन्नेबारे प्रहरीले कुनै जानकारी दिएको छैन। 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast