बुधबार, असोज २९, २०७६
    धर्म-संस्कृति

    दशैँको सातौँ दिन देशभरका शक्तिपीठमा भक्तजनको भीड

    शनिबार, १८ असोज २०७६, आहाखबर
    काठमाडौँ, १८ असोज 
     
    बडा दशैँको सातौँ दिन अर्थात् दुर्गा पक्षका अवसरमा देशभरका देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । बडादशैँका अवसरमा आजैदेखि एकादशीसम्म सार्वजनिक बिदा दिइएको छ । सरकारी कार्यालय, विद्यालयलगायत शैक्षिक संस्था सबै बन्द भएपछि आम मानिस पर्व मनाउन व्यस्त भएका छन् । 
     
    बिदा भएपछि बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको हो । सामान्य शनिबार पनि मन्दिरमा भीड लाग्ने गरेकामा आज दशैँको फूलपाती भएकाले भक्तजनको लर्को लागेको हो । राजधानीका गुह्येश्वरी, जयबागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनीलगायत मन्दिरमा भक्तजनको भीड छ ।
     
    यसैगरी उपत्यका बाहिरका देवी मन्दिरमा पनि भक्तजनको भीड बढ्न थालेको छ । पाथीभरा, छिन्नमस्ता, गहवामाई, पलाञ्चोक, पाल्चोक, नाला भगवती, चण्डेश्वरी, मनकामना, बिन्ध्यवासिनी, बाग्लुङ कालिका, शैलेश्वरीलगायत मन्दिरमा भक्तजनको भीड लागेको छ । नवरात्रसमेत भनिने यस अवसरमा शक्तिपीठमा दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । 
     
    नवरात्रको सातौँ दिन कालरात्रिको आराधना
     
    दुर्गा पक्षको सातौँ दिन आज कालरात्रि देवीको पूजा आराधना गरिएको छ । यो पक्षको नौ दिनसम्म दुर्गा देवीका नौ रुपको विशेष पूजा आराधना गर्ने शास्त्रीय परम्परा छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको विशेष पूजा आराधना हुने गर्छ । 
     
    यस अवसरमा महाकमाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेष रुपमा पूजा आराधना गरिन्छ । नौ दिनसम्म विशेष साधना गरे मनले चिताएको पुग्ने, शक्ति प्राप्त हुने लगायत धार्मिक विश्वास छ । नवौँ दिनसम्म विधिपूर्वक पूजा आराधना गरिएको दुर्गादेवीको प्रसाद विजयादशमीका दिन मान्यजनका हातबाट लगाइन्छ । 
     
    दशैँको महत्वपूर्ण दिन विजयादशमीका अवसरमा घटस्थापनामा राखिएको घडाबाट विधिपूर्वक अभिषेक गरी दुर्गाको प्रसादका रुपमा जमरा र रातो टीका लगाइन्छ । केही जातिले भने यस अवसरमा सेतो अक्षताको टीका लगाउँछन् । यसैगरी दशैँका अवसरमा बजारमा किनमेल गर्नेको भीड पनि बढ्न थालेको छ । मुख्य बजारमा सामान किनमेल गर्नेको लर्को छ । कति मानिस भने आ–आफ्नो थातथलो फर्केका छन् । कतिले जाने तयारी गर्न थालेका छन् । यात्रुले सार्वजनिक यातायात सहज नभएको गुनासो गरेका छन् ।
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast