बुधबार, कार्तिक ६, २०७६
    धर्म-संस्कृति

    यस्ताे छ विजया दशमीमा दिने आर्शिवचनको अर्थ

    बिहिवार, १६ असोज २०७६, आहाखबर

    काठमाडौँ, १६ असोज

    श्री रामद्वारा रावणमाथिको विजयको प्रसंग होस् वा देवीद्वारा दैत्यमाथिको विजय प्राप्तको प्रसंग होस् बडादशैं पर्वलाई शत्रुमाथि विजय प्राप्त गरेको खुसियालीमा मनाउँदै आएको पाइनछ । 

    ईश्वर, स्वर्ग, नर्क, पाप, धर्म, पुनर्जन्मजस्ता कुरामा विश्वास राख्ने हाम्रो पूर्वीय संस्कृतिको प्रचलन अन्य समाजमा देखिने प्रचलनभन्दा अलि भिन्न छ । जस्तो कि अन्य धर्मावलम्बीहरुका ब्यवहारमा देखिने प्रचलनहरुमा छाला मुलायम बनाउने निहुँमा, प्राणीहरुमा हुने यातनाको प्रवाह नै नगरी जिउँदो जनावरको शरीरबाट सिधै छाला उतार्ने, अमानवीय तरिकाले पशु वध गर्ने, अरुको हकअधिकारको हनन् गर्ने वा अरुलाई पीडा दिनेजस्ता कार्यलाई सामान्य ठानिन्छ भने यस्ता कर्मलाई हाम्रो हिन्दुधर्मले सदा निन्दा र बर्जित ठान्दै आएको छ । 

    तर्क गर्नेहरुले यो पनि तर्क दिन सक्छन् कि हिन्दुहरुको धार्मिक कार्यहरुमा बलि प्रथा किन त ? हो, यो प्रश्न यहाँनिर उठ्नु सान्दर्भिक पनि ठानिन्छ र यो प्रथा हिन्दुहरुको महान् पर्व मानिएको दशैंसँग जोडिएको विषय वस्तु पनि हो र यहाँ अहिले यसै विषयवस्तुतर्फ केन्द्रित हुन चाहन्छु ।

    हिन्दुहरूले दशैँको बेलामा देवीका मन्दिरहरुमा बलीदिने प्रचलन छ । हिन्दुहरुका पूज्य आराध्य देवताहरुमा दुर्गा भवानीको साथै ब्रह्मा, विष्णु, र रूद्र पनि पर्दछन् । भवानी दुर्गाको मन्दिरमा बाहेक अन्य कुनै देवताको मन्दिरमा बली चढ्दैन । दुर्गाको मन्दिरमा पनि मन्दिरको बाहिरै काठको मौलो खडा गरेर, मौलामा मात्र वली चढाउने चलन छ । मन्दिरको बाहिरै मौलामा चढाइने बली देवीको वाहनको निमित्त अर्पण गरिएको हो ।

    अरु देवताहरुको नाममा बली कहिल्यै चढ्दैन र चढाइदैन पनि । किन भने ब्रह्माजीको वाहन राज हंस, विष्णुको वाहन गरूड, शिवजीको वाहन साँढे भएको हुनाले यिनीहरुलाई पशुवली दिनु पर्दैन । त्यसैले बली दिने चलन पनि छैन् । शास्त्रहरुमा उल्लेख गरिएको बली शब्दको अर्थ हो समर्पण गर्नु । राजा बलीले भगवान विष्णुसँगको बाचामा हारेपछि आफ्नो शरीर नै भगवान विष्णुलाई समर्पण गरेका थिए । 

    यही समर्पणको अपभ्रंस नै बली प्रथा हो, जो वाचा गरेपछि वाचा पुरा गर्नको निमित्त दिने गरिन्छ । लोक प्रचलनमा पनि हे भगवान मेरो यो कामना पुरा होस् म यहाँलाई बली वा पञ्च बली चढाउँछु भनेर प्रतिज्ञा गरेको हुन्छ र कामना पूर्ण भएपछि वली अर्पण गर्ने प्रचलन छ । बली दिने भनेको अर्पण गर्ने हो हत्या गर्ने होइन ।

    बली शब्दले जनावरको अर्पण मात्र होइन्, फलको अर्पण गर्नेहरुले पनि बली भनेरै अर्पण गर्दछन् । शाकाहारीहरुले फलको बली दिदा, फललाई पनि नकाटी बली दिनु भन्ने प्रमाण पाइन्छ भने जनावर काट्नु भन्ने कुरा त परै छाडौ र आफ्नो स्वार्थपूर्तिको निमित्त कसैको ज्यानको हत्या गर्नुजस्तो अपराधिक कुरो त सोंच्दा पनि नसोंचौ । त्यसैले बली दिदा काटेर दिनु हुँदैन । मानिसको बुझाइमा ढुङ्गो रातो पेट तातो भन्ने वहानामा यहिनेर भ्रम परेको छ र मासु खाने निहुमा पशुबली हत्या गरेर चढाउने र मासु आफै खाने गर्छन् ।

    सिंहलाई आहार दिंदा काटेर वा पकाई कवाफ बनाएर दिनु पर्दैन । उ स्वयं शिकारी जनावर भएको हुनाले स्वयं आक्रमण गरेर खान सक्छ । त्यसैले अर्पण गरिएको जनावरलाई स्वतन्त्र रूपमा जङ्गलमा छाडिदिनु पर्दछ । सिंहको खजाना गृह जङ्गल नै हो ।

    प्रकृतिले सवै प्राणीका निमित्त उनीहरुको आचरण र स्वभाव अनुसारको आहार सृजना गरिदिएको छ । मांशाहारी जनावरहरुको निमित्त शिकार गर्नको निमित्त हातमा नंग्र्रा, जिउँदो जनावरलाई कोपर्न सक्ने दाँत, काचै मासु चपाएर पचाउन सक्ने शरीरिक क्षमता र त्यस्तै स्वभाव पनि हिंस्रक शिकार देखेपछि आफै झम्टेर खान सक्ने बनाइदिएको छ, भने वनस्पति खानेहरुको निमित्त सोही अनुकूलका पथ्य वनस्पतिजन्य उत्पादनहरुमा अन्न, अनाज, फलफूल, सागसब्जी आदि प्रदान गरेको छ ।

    हाम्रा ऋषिमुनिहरुले सात्विक आहार गर्ने भएको हुनाले उनीहरुलाई देवताको वर्गमा वर्गीकरण गरिएको छ भने हिंसा कर्म गर्ने, मासु मदिरा सेवन गर्ने शरीर हेर्दा पनि भयानक डरलाग्दा देखिने मानवलाई राक्षस भनिएको छ ।

    बाघले जति भोकाए पनि घाँस खाँदैन् किनभने त्यो एउटा मांशाहारी प्राणी हो । मानिस चेतनशील प्राणी भएको हुनाले उसबाट सम्पादन हुने कार्यहरु सोचेर विवेकपूर्ण तरिकाले गर्नुपर्ने हुन्छ । त्यसैले उसलाई सात्विक आहारमा सन्तुलित भोजनको आवश्यकता पर्छ भनेर मानिसलाई वनस्पति भोजन गर्न सिफारिस गरिएको छ ।

    प्रकृतिको पूजक मानवले पशु, वनस्पति, किटपतङ्ग मानव सवैको पूजा गर्छ र आफ्नो प्रकृतिले दिएको आहारमात्र सेवन गर्नु मानव धर्म हो ।

    हिंस्रक जनावरहरुको निमित्त आवश्यक देखिएका पाँच विकार (काम, क्रोध, लोभ, मोह र अहंकार )जस्ता गुण उत्पादन गर्न, यिनै गुणले युक्तभएका पाँच किसिमका जनावर खोजी अर्पण गर्ने प्रचलनलाई पञ्चवली भनिन्छ । सात्विक व्यक्तिहरुले पनि वनस्पति भित्र पाइने यस्ता उत्तेजक पदार्थलाई ग्रहण गरेमा आफूमा उत्तेजना आउने हुनाले यस्ता वस्तुलाई त्याज्य ठानेर लसुन प्याजजस्ता उत्तेजक वनस्पतिलाई पनि अशन (खान नहुने वस्तु)मा वर्गीकरण गरेका छन् ।

    हाम्रो समाजमा हामीले देखे भोगेकै छौं कि आमाहरुलाई खुशी तुल्याउन पर्यो भने उनका सन्तानको प्रसंशा गरिदिनुपर्छ र ती नानी बाबुलाई माया दिनुपर्छ । त्यस्तै ठूला वडाहरुको आगमनमा उनलाई प्रसन्न पार्न उनका अरौटे भरौटे, वाहन आदिको पहिला ब्यवस्था मिलाइएको हुनुपर्छ । 

    मन्दिरहरूमा जाँदा पनि पहिला आसपासमा रहेको देवी देवताहरुको दर्शन गरेर वल्ल मूल देवताको दर्शन गर्नु पर्दछ । भनिन्छ नि घामको ताप ताप्न सकिन्छ तर त्यहि घामले तताएको वालुवाको ताप सहन सकिदैन । यी आसेपासे, भरौटे कुरौटेहरुको ताप पनि यहि वालुवाको ताप जस्तै हुने भएकोले यिनीहरुको सम्मान पहिला गर्नुपर्छ भनिएको हो ।

    यस्तै यहाँ पनि देवीलाई प्रशन्न गराउन पहिला उनको वाहन सिंहलाई प्रशन्न तुल्याउन पर्ने भएको हुनाले सिंहलाई भोग दिन उसको आहार पशुलाई अर्पण गरिएको हो । बली दिने देवीको निमित्त होइन् । देवीको पूजा त चन्दन, अक्षता, फूल फल अर्पण गरिन्छ । 

    सिंह आफै एक शिकारी जनावर भएको हुनाले उसलाईं अर्पण गर्ने आहार सिंङ्गै अर्पण गर्नुपर्छ, काटेर होइन । काट्ने त आफ्नो स्वार्थको निमित्त हो । अर्पण गरिसकेको वस्तुमा किन फेरि लोभ गर्नु र आफै हत्या कर्म गरेर पाप भोग्नु? स्वार्थले गर्दा मानिसले धर्मको नाममा पाप गरिरहेको छ । त्यसैले पूजा गर्दा हत्या कर्म गर्न हुँदैन । खान इच्छा हुनेले आफ्नै इच्छामा हत्या गर्दा हुन्छ तर देवताको नाममा बली भनेर हत्या कर्म गर्नु अपराध हो । प्रकृतिको पूजक मानवले पशु, वनस्पति, किटपतङ्ग मानव सवैको पूजा गर्छ र आफ्नो प्रकृतिले दिएको आहारमात्र सेवन गर्नु मानव धर्म हो ।

     

    विजया दशमीमा दिने आर्शिवचन

    आयू द्रोणसुते श्रीयं दशरथे शत्रुक्षयं राघवे, ऐश्वर्यं नहुषे गतिष्च पवने मानञ्च दुर्योधने । सौर्यं सान्तनवे बलं हलधरे सत्यं च कुन्ति सुते, विज्ञाने विदुरे भवन्तु भवताम् कृतिश्च नारायणे ।

     

    यसको अर्थ यस्तो छ

    आयू द्रोणसुते द्रोणका छोरा अश्वस्थामा अष्ट चिरञ्जीवी मध्येका एक हुन् । यिनी कहिल्यै मर्दैनन् । मानिसलाई मर्नुपर्छ तापनि दिर्घायु होस् र कृति चिरञ्जीवी रहोस् भन्ने यो मन्त्रको आशय हो । 

    श्रीयं दशरथे राजा दशरथको जस्तो अथाह सम्पत्ति होस् । शत्रुक्षयं राघवे राघव भनेका रामको जस्तो पराक्रम होस् । ऐश्वर्यं नहुसेस्वर्गका राजा इन्द्रलाई जितेर वसमा लिनसक्ने क्षमता भएका राजा नहुशको जस्तो ऐश्वर्य लोकमा फैलियोस् । गतिश्च पवने हनुमानका पिता वायुको गतिजस्तो तेज गति होस् । मानं च दुर्योधने दुर्योधनको जस्तो मान सम्मान होस् । 

    सौर्यं सन्तनवे सन्त भनेका भीष्म पितामहको जस्तो सौर्य (तेज) धारण गर्ने क्षमता होस् । बलं हलंधरे हलो धारण गर्ने बलरामको जस्तो बल होस् । सत्यं च कुन्ती सुतेकुन्तीका पुत्र युधिष्ठिरको जस्तो सत्य निष्ठता र विदुरको जस्तो ज्ञान तिमीमा प्राप्त होस् भनेर वरदान दिइन्छ ।

    अर्को पनि एउटा मन्त्र प्रचलनमा छ,स्वस्तिस्तुते कुशललमस्तु चिरायू रस्तु गोवाजीहस्ती धनधान्य समृद्धि रस्तु । विजयस्तु रिपु क्षयस्तु सन्तान बृद्धिसहिता हरिभक्तिरस्तु । यसको अर्थ पनि माथिकै श्लोकमा उल्लेख भएको आशयजस्तै शुभकामनाको आशय हो ।

    यस्तै महिलाहरुको निमित्त जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनि, दुर्गाक्षमा शिवाधात्री स्वहाश्वधा नमस्तुते । यो मन्त्रले टिका लगाइदिने चलन छ ।महिलाहरुलाई सामान्य अवस्थामा देवीका प्रतीक अर्थात धैर्य धारण गर्न सक्ने सहनशील स्वभाव भएका करूणाका धनी जननी भनिन्छ भने विपद्को बेलामा तिनै नारीले उग्र रणचण्डीको रुप धारण गर्नसक्ने हुनाले नारीहरुलाई देवीका सहस्र रुपको उपमा पनि दिने गरिन्छ । 

    त्यसैले यिनीहरुलाई आशिर्र्वाद दिदा पनि देवी नै ठानेर देवीकै स्तुति गर्ने मन्त्रोच्चारण गरेर आर्शिवचन दिने प्रचलन छ । यो हिन्दु धर्मले नारीप्रति दिएको सम्मान र महानता हो । पौराणिक घटनासँग जोडिएको यो पर्वको विषयवस्तु बडो विशाल छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast