बुधबार, असोज २९, २०७६
    खेल संसार

    क्यानमाथि लगाएको प्रतिबन्ध छिट्टै फुकुवा हुने – अध्यक्ष चन्द

    सोमबार, १३ असोज २०७६, आहाखबर

    काठमाडौँ, १३ असोज

    नेपाल क्रिकेट सङ्घ (क्यान) का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले क्यानमाथि लगाएको प्रतिबन्ध छिट्टै फुकुवा गर्ने विश्वास व्यक्त गर्नुभएको छ । 

    आइसिसीकै सल्लाह र निर्देशनानुसार काम भइरहेको बताउँदै अध्यक्ष चन्दले आइसिसीको अक्टोबरमा बस्ने बैठकले क्यानमाथिको प्रतिबन्ध छिट्टै हट्नसक्ने आज यहाँ आयोजित एक कार्यक्रममा बताउनुभयो ।  

    क्रिकेट विकासका लागि गृहकार्य थालिएको भन्दै अध्यक्ष चन्दले भन्नुभयो, “निलम्बन फुकुवाको लागि हामीले पत्राचार गरिरहनुपर्दैन्, नेपाली क्रिकेटको निकासलाई आइसिसीले दिएको रोडम्याप अनुसार नै हामीले काम पूरा गरेका छौं । आइसिसीकै निगरानीमा निर्वाचन भएकाले निलम्बन चाँडै फुकुवा हुने विश्वास छ ।”

    अध्यक्ष चन्दले आगामी दिनमा क्रिकेट क्षेत्रको विकास र विस्तारको लागि योजनाबद्ध ढङ्गले अघि बढ्ने उल्लेख गर्दै चाँडोभन्दा चाँडो खेल मैदान निर्माण गर्नको लागि सरकार, राष्ट्रिय खेलकूद परिषद (राखेप), प्रदेश सरकार र स्थानीय सरकारसँग अनुरोध गर्ने बताउनुभयो । 

    उहाँले राम्रो खेल मैदान भएपछि राम्रो क्रिकेट प्रतियोगिता हुने र राम्रो प्रतियोगिता भएपछि खेलाडीले पनि राम्रो र उत्कृष्ट प्रदर्शन गर्ने बताउदै सरकारसँग खेलमैदानको लागि सहकार्य गरेर अघि बढ्ने उल्लेख गर्नुभयो 
     
    क्यानको सिईओ पनि प्रतिस्पर्धाको आधारमा नियुक्त गर्ने अध्यक्ष चन्दको भनाइ छ । “आइसिसीले हामीसँग आर्थिक पारदर्शीता, चुस्त प्रशासन सञ्चालनका लागि सिइओ राख्नुपर्ने शर्त राखेको छ । हामी आइसिसीको शर्तमा रहेर काम गर्छौं”, उहाँले भन्नुभयो 

    अध्यक्ष चन्दले यही वर्ष देशकै ठूलो नेपाल प्रिमियर लिग (एनपिएल) समेत आयोजना गर्ने जानकारी दिनुभयो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast