बुधबार, असोज २९, २०७६
    कृषि-उर्जा

    बाजुराको स्याउ उपभोक्ताको रोजाइमा, १ दाना स्याउको मूल्य १ रुपैयाँ

    शनिबार, ११ असोज २०७६, –सिद्धराज भट्ट.

    धनगढी, ११ असाेज ।

    खानामा रसिलो र स्वादिलो हुने बाजुराको हावापानीमा फलेको प्राङ्गारिक स्याउ धनगढीलगायतका शहरी क्षेत्रका उपभोक्ताको रोजाइमा पर्न थालेको छ ।

    त्यहाँ फलेको प्राङ्गारिक स्याउ रसिलो र स्वदिष्ट हुने भएकोले धेरैको रोजाइमा पर्ने गरेको होे । वर्षभरी भारतबाट आयात हुने स्याउ किनमेल गर्ने बानी परेका स्थानीयवासी नजिकिँदै गरेको वडादशैँको मुखमा स्वदेशमै उत्पादन भएको स्याउ पहिलो पटक आफ्नै बजारमा पाउँदा खुशी छन् । 

    बाजुराका उत्तरपूर्वी क्षेत्रका स्वामीकात्तिक, जुकोट, जगन्नाथ, पाण्डुसैनलगायतका गाउँमा यो वर्ष स्याउको उत्पादन राम्रो रहेको छ । “यो स्याउ खानामा निकै रसिलो र स्वादिलो छ”, कृषि ज्ञान केन्द्र बाजुराका अधिकृत मीनप्रसाद जैशीले भन्नुभयो, “भारतबाट आयातित स्याउमा ‘हरमन’ वा अन्य विषादीको प्रयोग हुने गरेकामा यहाँको स्याउ कुनै पनि विषादी प्रयोग नगरी उत्पादन हुने गरेको छ ।”
       
    बजारीकरणको समस्याः बाजुरामा उत्पादन भएको स्याउ तराईका शहरी क्षेत्रका उपभोक्ताको रोजाइमा पर्न थालेपनि यसको बजारीकरण गर्न भने समस्या छ । स्याउ फल्ने गाउँसम्म सडकको पहँुच पुग्न नसकेको र भएका सडक पनि बिग्रेभत्किएका कारण स्याउको बजारीकरण हुन नसक्दा स्थानीय कृषकले यसको उचित मूल्य पाउन सकेका छैनन् ।

    दुई सय ३० हेक्टर जग्गामा गरिएको स्याउ खेतीबाट योवर्ष एक हजार ५० मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको छ । पहिलो पटक स्वामीकात्तिक सहकारी संस्थाको पहलमा ‘जसले खायो, उसले स्वाद थाहा पायो’ भन्ने नारासहित त्यहाँ उत्पादन भएको स्याउ तराईका शहरी क्षेत्रमा बजारीकरण गर्न थालिएको छ । सो संस्थाको पहलमा ६० क्वीन्टल स्याउ धनगढी पु¥याइएकामा तीन दिनमा झण्डै ३६ क्वीन्टल बिक्री भइसकेको छ । 

    सो स्याउ काठमाडौँं पठाउने तयारी पनि संस्थाले गरेको छ । यसको बजारीकरण गर्नका लागि कृषि ज्ञान केन्द्रले किसानलाई कार्टून उपलब्ध गराउनुका साथै ढुवानीमा सहयोग गरेको जनाएको छ । “स्याउ बेच्न नसकेका किसानको परिश्रम, व्यथा, समस्या देख्दा चित्त दुःख्यो”, संस्थाका अध्यक्ष मेघबहादुर शाहीले भन्नुभयो, “स्याउ किसानले भोगेका समस्यामा कसैले चासो नदिएपछि सहकारी आफैले बजारीकरणको पहल गरी किसानलाई थोरै भए पनि राहत दिने प्रयत्न गरेको हो ।‘‘  
      
    बाजुरा सदरमुकाम मार्तडीदेखि कोल्टीसम्मको सडक बिग्रेका कारण त्यहाँ उत्पादन भएको स्याउ धनगढीसम्म पु¥याउन कर्णाली नदी पारीका कालीकोट, दैलेख, सुर्खेत, बाँके हुँदै बर्दियाको बाटो प्रयोग गर्नुपरेको छ । बाजुराको स्वामीकार्तिकबाट धनगढीसम्म स्याउ पु¥याउन एक हप्ताको समय लागेको थियो । 

    स्याउको स्वाद लिनुभएका यहाँका ओमप्रकास जोशीले भन्नुभयो, “सात सय किलोमिटरको दूरीका भारतीय शहरबाट स्याउ नेपाली बजारमा भित्र्याइन्छ, तर तीन सय किलोमिटरको दूरीमा रहेको बाजुरामा उत्पादन भएको स्याउ नेपालका बजारमा पु¥याउने व्यवस्था हुन नसक्नु बिडम्बना हो ।” धनगढी, अत्तरियालगायतका शहरी क्षेत्रको फलफूल बजारमा भारतका विभिन्न शहरबाट भित्रिने स्याउको कारोबार हुँदै आएको छ ।

    बारीमा एक दाना स्याउको मूल्य एक रुपैयाँ 
      
    स्याउ फल्ने गाउँमा यतिबेला एक दाना स्याउ एक रुपैयाँमा पाउने गरेको छ । ‘‘गाउँमा एक रुपैंयामा एक दाना पाउँदा सदरमुकाम मार्तडीमा रु दश रुपैयाँमा एक दाना पाउँछ”, सहकारीका अध्यक्ष शाहीले भन्नुभयो, “यस्तो अवस्थामा सडकको पहँुच पु¥याउन सकिए किसानले आफ्नो स्याउको उचित मूल्य पनि पाउँथे ।” 
      
    सहकारी संस्थाले भने ग्रेडिङ गरिएको स्याउ किसानबाट प्रतिकिलो रु १५ देखि रु २५ मा खरीद गरेर धनगढी बजारमा पु¥याएको हो । धनगढी बजारमा उक्त स्याउको मूल्य एक किलोको रु १०० पाँच किलो भन्दा बढी लिनेलाई प्रतिकिलो रु ९० र प्रति कार्टून २० किलोको पोका लिनेलाई प्रतिकिलो रु ७५ तोकिएको छ । भारतबट आयातित स्याउको भने स्थानीय बजार मूल्य प्रतिकिलो रु १०० देखि रु १८० सम्म छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast