बुधबार, कार्तिक ६, २०७६
    आर्थिक खबर

    सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशत हुने एडीबीको प्रक्षेपण

    शुक्रबार, १० असोज २०७६, आहाखबर
    काठमाडौँ, १० असोज
     
    एशियाली विकास बैंकले सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशत रहने प्रक्षेपण गरेको छ । बैंकले आज ‘नेपाल म्याक्रोइकोनोमिक अपडेट’ सार्वजनिक गर्दै पूँजीगत खर्चमा हुने वृद्धि, निजी क्षेत्रको सबल लगानी तथा ठूला भौतिक पूर्वाधारको विकास तथा विस्तारले पनि आर्थिक वृद्धिदरलाई बढावा दिने बैंकले जनाएको छ । 
     
    बैंकले सामान्य मनसुन, ठूला भौतिक पूर्वाधारको योजनाले गति लिएको, पर्यटक आवागमनमा भएको वृद्धिजस्ता कारणले नेपालको आर्थिक विकास र विस्तारलाई समेत थप बल पु¥याउने एडीबीका देशीय निर्देशक मुख्तोर खामोदखानोभले बताउनुभयो । गत आवमा सरकारले ८.२ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको भए पनि ७.७ प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ । 
     
    बैंकले सन् २०२० मा औद्योगिक क्षेत्र ७.९ प्रतिशतले विस्तार हुने तथा औद्योगिक उत्पादनमा वृद्धि हुनेसमेत स्पष्ट पारेको छ । ठूला भौतिक पूर्वाधारसहित विद्युत् वितरणमा आएको सुधार, लगानीमा हुने विस्तारले नेपालको आर्थिक वृद्धिलाई टेवा पु¥याउने बैंकको भनाइ छ । 
     
    यस्तै सेवा क्षेत्रमा ६.९ प्रतिशतले विस्तार हुनेसमेत प्रक्षेपण गरेको छ । गत आवमा ४.६ प्रतिशतमा रहेको मूल्यवृद्धि सो अवधिमा ५.५ प्रतिशत पुग्ने उल्लेख गरेको छ । भारतीय बजारमा हुने मूल्य वृद्धिको प्रभाव नेपाली बजारमा समेत पर्ने भएकाले मूल्य वृद्धिको दरमा वृद्धि हुने उल्लेख गरेको छ । चालू खातामा रहेको घाटा तथा उच्च व्यापार घाटाका कारण बाह्य क्षेत्रसमेत असन्तुलित हुने बैंकको भनाइ छ । 
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast