बुधबार, कार्तिक ६, २०७६
    बिदेश

    साउदी युवराजले लिए पत्रकार खाशोज्जी हत्याको जिम्मेवारी

    शुक्रबार, १० असोज २०७६, आहाखबर

    काठमाडाैं, १० असाेज । 

    साउदी अरबका युवराज मोहम्मद बिन सलमानले पत्रकार जमाल खाशोज्जीको हत्याको जिम्मेवारी लिएका छन्।

    समाचार एजेन्सी रोयटर्सका अनुसार युवराज सलमानले गतवर्ष भएको खाशोज्जी हत्याको जिम्मेवारी लिएका हुन्। उनले आफ्नै उपस्थितिमा नै हत्या गरिएको स्वीकार गरेका हुन्। युवराज सलमानले अर्को हप्ता प्रशारण हुने पिबिएसको एक डकुमेन्ट्री छायांकनका क्रममा उक्त कुरा बताएका हुन्।

    सलमानले पहिलोपटक पत्रकार खाशोज्जीको हत्याको जिम्मेवारी लिएका हुन्। खाशोज्जीको गतवर्ष टर्की राजधानीस्थित साउदी अरबको दूतावासमा हत्या गरिएको थियो। अमेरिकी जासुसी संस्था सिआइए र पश्चिमी मुलुकहरूले पत्रकार खाशोज्जी हत्याको आदेश सलमानले दिएको बताउँदै आएका थिए भने साउदी अरबले भने उक्त कुरा अस्वीकार गर्दै आएका थिए।

    साउदी अरबका अधिकारीले उक्त हत्यामा सलमानको कुनै संलग्नता नरहेको बताउँदै आएका थिए। उक्त हत्यालाई लिएर विश्वभर साउदी अरबको कडा आलोचना भएको थियो। युवराज सलमानको पनि विश्वभर व्यापक आलोचना भएको थियो।

    विश्वको सबैभन्दा ठूलो तेल निर्यात मुलुकका शासकलाई युरोप र अमेरिका भ्रमणमा पनि बाधा आएको थियो। पत्रकार खाशोज्जी सलमानले पिबिएसका लागि मार्टिन स्मिथलाई भनेका छन्, 'उक्त हत्या म हुँदै भएको थियो। म यसको पूरै जिम्मेवारी लिन्छु, किनकी यो मेरो उपस्थितिमा नै भएको थियो।'

    उक्त डकुमेन्ट्रीको नाम 'द क्राउन प्रिन्स अफ साउदी अरेबिया' हो। डकुमेन्ट्रीमा स्मिथले सलमानलाई उनको अनुमति र जानकारी नभइ कसरी हत्या हुन सक्छ भनेर सोधेका छन्। जवाफमा सलमानले भनेका छन्, 'हामी दुई करोड जनता छौँ। हाम्रा ३० लाख सरकारी कर्मचारी छन्।'

    त्यसपछि स्मिथले सरकारी निजी विमानको प्रयोग भएको थियो भनेर सोधेका छन्। जवाफमा सलमानले भने, 'हाम्रा अधिकारी र मन्त्री जिम्मेवार छन्। उनीहरूले त्यो प्रयोग गर्ने अधिकार राख्छन्।'

    यसबाट पत्रकार खाशोज्जीको हत्या सलमानको जानकारीमा भएको र त्यसको ढाकछोप गर्न सरकारी शक्तिको प्रयोग भएको प्रष्ट भएको छ। अमेरिकी अखबार वासिंगटन पोष्टका पत्रकार खाशोज्जीको २ अक्टोबर २०१८ मा इस्तानबुलमा रहेको साउदी दूतावासमा हत्या गरिएको थियो। उनको लास पनि पत्ता लागेको छैन।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast