सोमबार, कार्तिक ४, २०७६
    स्वास्थ्य

    नेपालमा भयावह बन्दै गर्भपतनकाे अवस्था, गर्भपतन गराउनेमा ११ प्रतिशत किशोरी

    शुक्रबार, १० असोज २०७६, आहाखबर

    काठमाडौं, १० असाेज ।

    नेपालमा गर्भपतनकाे अवस्था भयावह बन्दै गएकाे छ । आर्थिक वर्ष २०७५÷७६ मा झन्डै एक लाख महिलाले गर्भपतन गराएका छन्। जसमध्ये ११ प्रतिशत किशोरी छन्।

    औषधि खाएर र शल्यक्रियामार्फत ९५ हजार ३ सय ६९ जना महिलाले गर्भपतन गराएकाे स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएकाे छ। यो तथ्यांक नेपाल सरकारबाट सुरक्षित गर्भपतन गराउने संस्थाहरुको मात्र हो। त्यसबाहेक अवैध रुपमा गर्भपतन गराउनेको संख्या अझ बढी हुनसक्ने अनुमान छ।

    अझै पनि सुरक्षित गर्भपतन सेवाको अभावमा महिलाले घरमै असुरक्षित गर्भपतन गराउँदा ज्यानै गुमाउनु परेको र अन्य जटिल स्वास्थ्य समस्या गर्ने गरेका छन्।पछिल्लो समय अप्रत्याशित रुपमा बढिरहेको गर्भपतनले नेपालको मातृ मृत्युदर घटाउने लक्ष्यमा चुनौती थपिँदै गएको आकलन गर्न थालिएको छ।

    परिवार कल्याण महाशाखा, योजना शाखाका तत्थांक अधिकृत पुष्कर बिजुक्छे भन्छन्, ‘कम उमेरमै गर्भवती, किशोरीको गर्भपतन दर उच्च हुनुले मातृ मृत्युदर घटाउने लक्ष्यमा ठूलो समस्या निम्तन सक्छ।’ यसको रोकथामका लागि ठोस योजना बनाएर अघि बढ्नुपर्ने उनले बताए। गर्भपतन गर्नेमध्ये किशोरीको संख्या धेरै हुनु चिन्ताजनक भएको उनको भनाइ छ।

    हरेक पाँच वर्षमा हुने जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ मा नेपालमा प्रजनन उमेर समूहका १५ देखि ४९ वर्षसम्मका महिलामध्ये २० वर्ष मुनिका १७ प्रतिशत किशोरी गर्भवती हुने गरेको देखिएको छ।

    विभागको तथ्यांक अनुसार सबैभन्दा धेरै प्रदेश नम्बर १ का महिलाले गर्भपतन गराएका छन्। प्रदेश १ मा १८ हजार ९ सय १ र प्रदेश नम्बर ३ मा १८ हजार ५ सय १ जनाले गर्भपतन गराएका छन्। 

    परिवार कल्याण महाशाखाका अनुसार प्रदेश ३ को रिर्पोटिङ छुटेकोले पूर्ण तथ्यांक आएको छैन। प्रदेश नम्बर ३ को गर्भपतन गराउनेको संख्या अहिले देखिएभन्दा उच्च हुनसक्ने बताइएको छ।

    विभागको विगतको तथ्यांक हेर्ने हो भने पनि प्रदेश ३ मा २५ प्रतिशत किशोरीले गर्भपतन गराउने गरेको पाइएको छ। यसमध्ये धेरै अविवाहित किशोरी रहेका छन्।

    त्यसैगरी प्रदेश नम्बर ५ मा १७ हजार १ सय ३५ जना महिलाले गर्भपतन गराएका छन्।

    विभागले प्रदेश अनुसार निकालेको तथ्यांक हेर्न हो भने गण्डकी प्रदेशमा १४ हजार १ सय ३०, सुदूरपश्चिम प्रदेशमा ११ हजार ३ सय ५९, प्रदेश २ मा ९ हजार ३ सय ४१ र कर्णाली प्रदेशमा ६ हजार २ महिलाले गर्भपतन गराएका छन्।

    सरकारबाट स्वीकृति लिएर सुरक्षित गर्भपतन गराउने संस्थाहरुले औषधि खुवाएर र शल्यक्रियामार्फत गर्भपतन गराउने गर्छन्। 

    नेपालमा औषधि खाएर गर्भपतन गराउनेको संख्या उच्च छ। झन्डै ५० प्रतिशतभन्दा बढीले औषधि खाएर गर्भपतन गराएका छन्। ५७ हजार ४ सय २६ ले औषधि खाएका छन्। भने शल्यक्रियामार्फत २७ हजार ८ सय ५८ ले शल्यक्रिया गराएका छन्। २० वर्ष मुनिका ५ हजार ९ सय ११ किशोरीले औषधि र ४ हजार १७४ किशोरीले शल्यक्रियामार्फत गर्भपतन गराएको परिवार कल्याण महाशाखाको तथ्यांक छ।

    त्यसैगरी, प्रदेशअनुसार हेर्ने हो भने प्रदेश १ का १२ हजार ८ सय ४२ र प्रदेश ३ मा १० हजार महिलाले औषधि खाएर गर्भपतन गराएका छन्।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast