सोमबार, मंसिर ३०, २०७६
    बैंक-बीमा

    बैङ्क जत्तिकै बलिया बन्दै सहकारी, आफ्नै भवन र एटीएमसमेत सञ्चालन

    शुक्रबार, १० असोज २०७६, आहाखबर

    बुटवल, १० असाेज ।

    पछिल्लाे समय स्थानीय तहमा खुलेका साना साना वित्तीय संस्था अर्थात सहकारी संस्थाहरू विकास बैङ्क बराबरकै हैसियतमा देखिन थालेका छन् ।

    स्थानीय तहमै निक्षेप सङ्कलन गरी किसान वा साना व्यापारीहरूलाई कर्जा वितरण र उद्यमी बनाउन प्रेरित गर्ने गरी खोलिएका यस्ता वित्तीय संस्थाहरू यतिबेला बैङ्क जत्तिकै बलियो मात्रै होइन, सेवा र सुविधा पनि बैङ्कले दिने बराबर नै दिन थालेका छन् । 

    प्रदेशको अस्थायी राजधानी बुटवलमा खुलेका सहकारी बैंक बराबरकाे सेवा सुविधा दिन पुगेका हुन् । पुँजी वृद्धिदेखि निक्षेप सङ्कलन र कर्जा प्रवाहमा पनि यहाँ सहकारीहरू बैङ्ककै हाराहारीमा पुगिसकेका छन् । 

    बुटवलमा रहेका सबैजसो बैङ्कहरू भाडाको घरमा बसिरहँदा यहाँका सहकारीहरूले आफ्नै भवन निर्माण गर्न थालिसकेका छन् । 

    कतिपय बैङ्कको एटीएम भेट्न मुस्किल भइरहँदा बुटवलमा रहेका सहकारीहरूले भने आफै एटीएमसमेत सुरु गरिसकेका छन् । जनउत्थान, कल्याणकारी, तिलोत्तमा, मातृभूमि, बुटवल बहुउद्देश्यीय आदि रुपन्देहीका ठूला सहकारी संस्था हुन् । यी सहकारीहरूले ४० देखि ५० करोडसम्मको कारोवार गर्ने गरेका छन् । 

    बुटवलको धौलागरी सहकारीका अध्यक्ष गोविन्द खनालका अनुसार उक्त सहकारीले १० करोड कर्जा प्रवाह गरेको छ । जबकि यो रुपन्देहीको मध्यमस्तरको सहकारी हो। 

    कतिपय सहकारीहरू पर्याप्त सहस्य तथा निक्षेप सङ्कलन र कर्जा प्रवाह हुन नसकेर मर्जरमा जाने तयारी भइरहँदा रुपन्देहीका ठूला भनिएका सहकारीको प्रगति भने सबैका लागि लोभलाग्दो र अनुकरणीय छ । यहाँका ठूला सहकारीहरूले बैङ्ककै हाराहारीमा बर्सेनि नाफासमेत कमाउँदै आएका छन् । 

    सहकारी विभागको २०७४ असारसम्मको तथ्याङ्क अनुसार प्रदेश नम्बर ५ मा चार हजारभन्दा बढी सहकारी संस्थाहरू सञ्चालनमा रहेका छन् । यो प्रदेश सहकारी सङ्ख्याको हिसाबले चौथो स्थानमा रहेको सहकारी हो । प्रदेश नम्बरम ५ मा सबैभन्दा बढी सहकारी पनि रुपन्देहीमै रहेको छ । यस जिल्लामा ७ सय ७९ वटा सहकारी संस्थाहरू सञ्चालनमा छन् । रुपन्देहीपछि दाङमा ६ सय २७ वटा सञ्चालित छन् । 

    प्रदेश नम्बर ५ मा सबैभन्दा कम सहकारी संस्था रुकुममा छन् । बाँकेबाहेक प्रायः सबै जिल्लामा यस्ता सहकारीको सङ्ख्या उल्लेख्य मात्रामा रहेको छ ।
     
    सहकारीहरूमध्ये बहुउद्देश्यीय र सामान्य सहकारी छुट्याउँदा बचत तथा ऋण सहकारी संस्थाहरू धेरै सङ्ख्यामा सञ्चालनमा छन् । सबैभन्दा बढी बचत तथा ऋण सहकारी संस्था रुपन्देहीमा ३ सय ५२ वटा रहेका छन् ।

    अर्घाखाँचीमा सबैभन्दा कम ६ वटा बहुउदेश्यीय सहकारी संस्थाहरू भए पनि बचत तथा ऋण सहकारी संस्थाको सङ्ख्या भने ७३ वटा छन् । प्रायः सबै जिल्लामा कृषि सहकारी संस्थाहरू उल्लेख्य सङ्ख्यामा छन् । कपिलवस्तुमा सबैभन्दा बढी ३ सय २९ वटा कृषि सहकारी रहेका छन्, यसपछि दाङमा २ सय ८७ वटा छन् । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast