सोमबार, मंसिर २३, २०७६
    कृषि-उर्जा

    जाजरकोटमा विद्युतीकरण गर्न सवस्टेशन निर्माण शुरु

    बिहिवार, ९ असोज २०७६, आहाखबर

    जाजरकोट, ९ असोज

    विद्युतीकरणका लागि तीन स्थानमा सवस्टेशन निर्माणको कार्य सुरु भएको छ । जिल्लाका सात स्थानीय तहमा सजिलो र भरपर्दो तरिकाले विद्युतीकरण गर्नका लागि सवस्टेशन बनाउन लागिएको जाजरकोट वितरण केन्द्रका प्रमुख लोकबहादुर खड्काले जानकारी दिनुभयो । यसअघि ३३ केभी प्रसारण लाइनबाट भेरी नगरपालिका र छेडागाड नगरपालिकामा विद्युतीकरणका लागि कुदुमा सवस्टेशन निर्माण गरिएको थियो ।
     
    नलगाड नगरपालिका–१० चौखामा वितरण केन्द्र निर्माणका लागि जग्गा अधिग्रहण भएर काम शुरु हुन लागेको खड्काले जानकारी दिनुभयो । यो वितरण केन्द्रबाट नलगाड नगरपालिका, डोल्पाको तल्लो भाग, रुकुम पश्चिम आठबिसकोट नगरपालिकालाई विद्युतीकरण गरिनेछ । छेडागाड नगरपालिका–५ वडावनमा बन्न लागेको सवस्टेशनबाट कुशे गाउँपालिका, जुनिचाँदे गाउँपालिका, छेडागाड नगरपालिकाको केही वडा र शिवालय गाउँपालिकाको पूरै वडा विद्युतीकरण गरिनेछ ।

    समाइला सवस्टेशनबाट जिल्लाको बारेकोट गाउँपालिका, नलगाड नगरपालिका, कुशे गाउँपालिकामा विद्युतीकरण गर्नका लागि काम शुरु भएको छ । त्यस्तै अहिले जिल्लाका अधिकांश ठाउँमा सवस्टेशन निर्माणको कामसँगै फलामका पोल गाड्ने काम शुरु भएको छ । अघिल्लो आर्थिक वर्षमा अधुरा रहेका काम यो वर्ष पूरा गर्न लागिएको जाजरकोट वितरण केन्द्रले जनाएको छ ।
     
    यो आवमा भौतिक संरचना निर्माणको काम पूरा गरी विद्युत् प्रसारण लाइन विस्तारमा ध्यान दिन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले दिएको निर्देशनअनुसार काम भइरहेको जाजरकोट वितरण केन्द्रका प्रमुख खड्काले जानकारी दिनुभयो । 

    प्रमुख खड्काले भन्नुभयो, “मध्यपहाडी (पुष्पलाल लोकमार्ग) राजमार्ग, जाजरकोट–डोल्पा सडकखण्ड र जाजरकोट–जुम्ला सडकखण्डको बीच भागमा पर्ने गरी लाइन र सवस्टेशन निर्माण गर्न मन्त्री बस्नेतले दिएको निर्देशनअनुसार काम भएको छ ।” ११ केभी प्रसारण लाइनको दूरी २० किलोमिटरभन्दा बढी नराखी व्यवस्थापन गर्न लागिएको छ ।

    पहिलो चरणमा स्टेशन निर्माणलाई प्राथमिकता दिइएको छ । जाजरकोटमा ल्याइने ३३ केभी प्रसारण लाइनको कोहलपुरदेखि सुर्खेतसम्मको लाइनमा १३२ केभी प्रसारण लाइनको काम शुरु भएको छ । सुर्खेतको सुवाकुनामा सवस्टेशन निर्माण हुने बित्तिकै जाजरकोटमा पनि १३२ केभी प्रसारण लाइन विस्तार हुनेछ । 

    जाजरकोटमा ४०० केभी प्रसारण लाइनको लागि नलगाड नगरपालिकाको दानीपिपलमा सवस्टेशन निर्माणका लागि जग्गा अधिग्रहणको काम शुरु भई मुआब्जा काम शुरु भएको छ । 

    डोल्पामा विद्युत्को केन्द्रीय लाइन विस्तारका लागि जाजरकोट खण्डको स्टेशन निर्माण नभई काम अगाडि नबढ्ने भएकाले जाजरकोटको चौखामा पहिलो स्टेशन निर्माण हुन जरुरी छ । जाजरकोट सदरमुकाममा दुई वर्ष अघि मात्र केन्द्रीय विद्युत् प्रसारण लाइनमा जोडिएकाले अहिले तीव्र गतीमा काम भइरहेको छ । 

    ४१७ मेगावाट विद्युत् उत्पादनका गर्ने लक्ष्यका साथ निर्माण कार्य थालिएको नलगाड हाइड्रोपावर आयोजना निर्माणका लागि केन्द्रीय लाइन छिटो पु¥याउनु पहिलो प्राथमिकता रहेको नलगाड सरोकार समितिका अध्यक्ष तथा कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले बताउनुभयो । आयोजना निर्माणका लागि अहिले जाइकासँग छलफल भइरहेको मन्त्री बस्नेतले बताउनुभयो । 

    जाजरकोटका सबै स्थानमा स्टेशन निर्माण भएमा जिल्लाभरि एकै पटक विद्युत् बाल्न सकिनेछ । जाजरकोट–डोल्पा सडक, जाजरकोट–जुम्ला सडक र मध्यपहाडी लोकमार्गसमेत जाजरकोट भएर जाने भएकाले जाजरकोट जिल्लाभरि विद्युतीकरण गर्न थप सजिलो भएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast