बुधबार, कार्तिक ६, २०७६
    बिदेश

    ह्वाइट हाउसले सार्वजनिक गर्‍यो डोनाल्ड ट्रम्पको फोन वार्ता

    बिहिवार, ९ असोज २०७६, आहाखबर

    वाशिङटन, ९ असाेज ।

    अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति ब्लोदीमीर जेलेन्स्कीबीच भएको फोन वार्ताको विस्तृत विवरण बुधबार सार्वजनिक गरेको छ ।

    सोही विषयलाई लिएर अहिले राष्ट्रपतिविरुद्ध संसदमा महाअभियोगको प्रक्रिया चलिरहेको छ ।  ह्वाइट हाउसले सार्वजनिक गरेको वार्ताको विवरणमा ट्रम्पले जेलेन्स्कीलाई २५ जुलाईका दिन फोन गरेका थिए ।

    उनले विपक्षी डेमोक्रेटिक पार्टीका सम्भावित राष्ट्रपति पदका उमेदवार जो बाइडेन र युक्रेनी ग्यास फर्ममा काम गर्ने उनका छोराविरुद्ध जाँच गर्न आग्रह गरेका थिए । 

    ट्रम्पले मंगलबार सो वार्ताको विस्तृत विवरण सार्वजनिक गर्ने बताएका थिए । तर, बुधबार सार्वजनिक गरिएको विवरण अमेरिकी अधिकारीले गरेको टिपोट मात्रै हो । ट्रम्पले जेलेन्स्कीसँगको कुराकानीमा वाइडेन अमेरिकाको उपराष्ट्रपति भएका बेलामा युक्रेनका सरकारी वकिल विक्टर शौकिनलाई हटाउन दबाब दिएको जनाएका  थिए।

    शौकिनको कार्यालयले न्याचुरल ग्यास कम्पनीविरुद्ध जाँच शुरु गरेको थियो । जसमा जो बाइडेनका छोरा हन्टर बाइडेन बोर्ड सदस्य छन् । यद्यपि पश्चिमी अधिकारीहरुले शौकीनलाई हटाउनुको कारण उनी भ्रष्टाचारको मामिलामा नरम देखिएकाले भएको जनाएका छन् । ट्रम्पले आफ्नो फोनवार्ताका क्रममा भनेका छन्, “दोस्रो कुरा यहो हो कि बाइडेनका छोराको विषय निकै चर्चामा छ । वाइडेनले जाँच रोकिदिएका थिए । यसैले तपाईँले जे गर्नुहुन्छ त्यो राम्रो हुनेछ ।”

    ट्रम्पले भनेका छन्,“बाइडेनले आफूले जाँच रोकाइदिएको बताउने गरेका छन् । यसकारण तपाईँ यसलाई हेर्नुहोला, मलाई यो भयानक घटना लागेको छ ।” 

    ट्रम्पले वार्ताका क्रममा जेलेन्स्कीलाई अमेरिकी महान्यायाधिवक्ता विलियम बार र राष्ट्रपतिका निजी वकिल रुडोल्फ गियलियानीसँग पनि सम्पर्कमा रहन आग्रह गरेका छन् । यही विषयलाई लिएर अहिले ट्रम्पका विरुद्धमा महाअभियोग चलेको हो । 

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast