बुधबार, कार्तिक ६, २०७६
    बिदेश

    ट्रम्पमाथि महाअभियोगको प्रक्रिया शुरू भएकाे सभामुखकाे घाेषणा

    बिहिवार, ९ असोज २०७६, आहाखबर

    वासिङ्टन, ९ असाेज । 

    अमेरिकी तल्लो सदनकी सभामुखले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउन औपचारिक अनुसन्धानको प्रक्रिया सुरु भएको घोषणा गरेकी छन् ।

    डेमोक्रेट पार्टीकी नेतृसमेत रहेकी सभामुख न्यान्सी पेलोसीले राष्ट्रपतिमाथि ‘विदेशी शक्तिलाई अमेरिकी चुनावमा हस्तक्षेप गर्न निम्ता दिएर संविधान उल्लंघन गरेको’ आरोप लगाएकी छन् । डेमोक्रेटिक पार्टीबाट आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार हुने दौडमा अग्रस्थानमा रहेका जो बिडेन र उनका छोराविरुद्ध भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्न युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीलाई दबाब दिएको आरोप ट्रम्पमाथि लागेको छ ।

    हाउस अफ रिप्रिजेन्टेटिभ्सले महाअभियोगको तयारी गरेपछि ट्वीट गर्दै ट्रम्पले पेलोसीको घोषणा दुराशय राखेर आफूलाई हतोत्साहित गर्ने तुच्छ कदम भएको टिप्पणी गरेका छन् । पेलोसीले भने राष्ट्रपति उत्तरदायी हुनुपर्ने बताएकी छन् ।

    राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग गरेको फोनवार्ताबारे एक सुराकीले औपचारिक उजुरी हालेको समाचार आएपछि विवाद चर्किएको हो ।

    यद्यपि, ट्रम्पले फोनमा भनेको सबै कुरा प्रस्टसँग बाहिर आएको छैन । तर, ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवारका प्रतिस्पर्धी जो बिडेन र उनका छोराविरुद्ध अनुसन्धान नगरे सैन्य सहायता रोक्ने चेतावनी दिएको डेमोक्रेटकको आरोप छ ।

    सभामुख पेलोसीले ट्रम्पले कानुनको उल्लंघन गरेको र उनका कदमले राष्ट्रपतिको संवैधानिक जिम्मेवारी अवज्ञा गरेको बताएकी छन् । पेलोसीको घोषणाले संसदीय समितिलाई राष्ट्रपतिको फोन संवादबारे अनुसन्धानका निम्ति बाटो खुला गरिदिएको छ । जुन अनुसन्धानले राष्ट्रपति ट्रम्पले महाभियोग भोग्नुपर्ने गलत काम गरे वा नगरेको टुंगो लगाउनेछ ।

    घोषणामा उनले ६ वटा अन्य समितिले ट्रम्पविरुद्ध अरू विषयमा अनुसन्धान गरिरहेको र ती महाभियोगको औपचारिक अनुसन्धानअन्तर्गत जारी रहने उल्लेख गरेकी छन् । महाभियोगको पक्षमा विपक्षी डेमोक्रेट पार्टीको बलियो समर्थन छ । महाअभियोगको प्रस्ताव तल्लो सदनमा गएमा सहज रूपमा पारित हुने अवस्था छ । सिनेटमा ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत रहेको छ । महाअभियोगको प्रस्ताव पारित हुन दुई तिहाइ मत आवश्यक हुने भएकाले ट्रम्पविरुद्ध महाअभियोग पारित हुने सम्भावना कम छ ।

    ट्रम्पले विपक्षी दलले दुराशय राखेर नै संयुक्त राष्ट्रसंघको उनको भ्रमण प्रभावित पार्न खोजेको आरोप लगाएका छन् । उनले भने,‘उनीहरूले फोनवार्ताको लिखित प्रतिलिपि हेरेकै छैनन् ।’ युक्रेनका राष्ट्रपतिसँग भएको फोनवार्ता उचित भएको लिखित प्रतिलिपि सार्वजनिक गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

    पेलोसीको घोषणापछि एउटा समितिले ट्रम्पले युक्रेनी नेतासँग गरेको कुराकानी महाभियोगयोग्य अपराध हो या होइन भनेर अनुसन्धान गर्नेछ । आफ्नो घोषणामा पेलोसीले अन्य ६ वटा संसदीय समितिले अरू विषयमा ट्रम्पबारे छानबिन जारी राख्ने र तिनको काम महाभियोगको औपचारिक अनुसन्धानअन्तर्गत आउने बताएकी छन्।

    ट्रम्पले युक्रेनलाई दबाब दिन सैन्य सहायता रोकेको पुष्टि भए ५५ प्रतिशत अमेरिकीले महाभियोगको समर्थन गर्ने ‘युगभ’ नामक वेबसाइमा गरिएको एउटा सर्वेक्षणमा देखिएको छ ।

    ह्वाइट हाउसले युक्रेनलाई दिने २५ करोड डलरसम्मको सैन्य सहायतामा अस्थायी रोक लगाउने निर्णय गरेकै समयमा दुई राष्ट्रपतिबीच सो विवादित फोनवार्ता भएको थियो । अमेरिकी सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार सहायता निलम्बन गर्ने निर्णय जुलाई २५ मा भएको फोनवार्ताअघि भएको थियो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast