शनिबार, जेष्ठ १७, २०७७
    राज्य-समाज

    मासुको प्रचार सामग्रीमा सरकारले नै गाईको तस्वीर छापेपछि….

    मंगलवार, ७ असोज २०७६, आहाखबर

    ७ असोज, काठमाडौं । 

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागले पशुपंक्षीजन्य उत्पादनको उपभोगलाई गुणस्तरीय बनाउन तयार पारिएको प्रचार सामग्रीमा राष्ट्रिय जनावर गाईको तस्बिर राखिएकोप्रति क्षमा मागेको छ । 

    ‘बधशालादेखि भान्सासम्म स्वस्थ र स्वच्छ मासु’ शीर्षक राखिएको उक्त पोस्टर विवादास्पद बनेको हो ।

    मासुजन्य पदार्थको उपभोगलाई गुणस्तरीय बनाउन तयार पारिएको प्रचार सामग्रीमा राष्ट्रिय जनावर गाईको तस्बिर राखिएको भन्दै सर्वसाधारणले व्यापक विरोध गरेपछि विभागले मंगलबार दिउँसो विज्ञप्ति जारी गरेर क्षमा मागेको हो । 

    उक्त पोस्टरमा नेपालको राष्ट्रिय जनावर र हिन्दू धर्मावलम्बीले लक्ष्मी मानेर पूजा गर्ने गाईको समेत तस्वीर समावेश छ । मासुजन्य पदार्थको रुपमा खसी, बंगुर, भेडा, माछासँगै गाईको तस्वीर राखिएपछि विवाद भएको हो ।

    “हाल उक्त त्रुटि सच्याईसकिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदै प्राविधिक कारणले हुन गएको र त्रुटिप्रति पशु सेवा विभाग हार्दिक क्षमा याचना गर्दछ,” विभागका महानिर्देशक डा. वंशी शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

    उनले विज्ञप्तिमार्फत् नै प्रचार–प्रसारका लागि तयार पारिएका पोस्टरहरुमध्ये एउटा पोस्टरमा छपाईको त्रुटिका कारणले गाईको तस्बिर भूलवश पर्न गएको पनि बताएका छन् । राष्ट्रिय पशु आहारा तथा लाईभस्टक गुण व्यवस्थापन प्रयोगशाला हरिहरभवनको बा २ झ ३८११ नम्बरको भ्यानमा पशुपंक्षीजन्य उत्पादनहरुको उत्पादन, प्रशोधन तथा उपभोगलाई गुणस्तरीय बनाउने उद्देश्यले टाँसिएको पोस्टरमा राष्ट्रिय जनावर गाईको तस्बिर देखिएपछि सामाजिक सञ्जालमा विभागको व्यापक आलोचना भइरहेको छ । 

    पोस्टरका अन्य तस्वीरहरुमा पनि विचार पुर्‍याइएको छैन । स्वच्छ मासु भनिएको पोस्‍टरमा पाठाले दूध खाइरहेको बाख्राको तस्वीर पनि राखिएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast