बुधबार, कार्तिक ६, २०७६
    विज्ञान/प्रविधि

    नेपालको मोबाइल इन्टरनेट स्पीड भारतको भन्दा राम्रो !

    मंगलवार, ७ असोज २०७६, आहाखबर

    काठमाडौँ, ६ असोज ।

    नेपालको मोबाइल इन्टरनेट स्पीड (गति) भारतको भन्दा राम्रो भए पनि गतवर्षको तुलनामा यस वर्ष नेपालको गुणस्तर भने केही खस्केको छ । 

    सूचना–प्रविधिसँग सम्बन्धित एक अन्तर्राष्ट्रिय संस्थाको अध्ययनले मोबाइल इन्टरनेट स्पीड गति भारतको भन्दा राम्रो देखाएको हो ।

    ओक्लाको ‘स्पीडटेस्ट ग्लोबल इन्डेक्स’ मा नेपाल यसपटक १३०औं स्थानमा छ । सन् २०१८ मा नेपाल यो सूचीको १२९ औं स्थानमा रहेको थियो। भारत यस वर्ष यो सूचीमा नेपालभन्दा एक स्थान पछि १३१औं स्थानमा रहेको छ ।

    ओक्लाको अध्ययनअनुसार सन् २०१९ अगस्टमा नेपालको मोबाइल इन्टरनेट स्पीड १०.७८ एमबिपिएस थियो । नेपालको मोबाइल इन्टरनेट गति डाउनलोड गर्दा १०.७८ एमबीपीएस र अपलोड गर्दा ५.५९ एमबीपीएस रहेको ओक्लाको प्रतिवेदनमा उल्लेख छ ।

    कूल १ सय ४५ राष्ट्रलाई समेटिएको अध्ययनको पहिलो नम्बरमा दक्षिण कोरिया छ । विश्वमै सबैभन्दा तीव्र मोबाइल इन्टरनेट गति कोरियामा पाइएको छ । कोरियामा मोबाइलको इन्टरनेट गति १११ एमबीपीएस पाइएको छ ।

    ओक्लाको ‘स्पीडटेस्ट ग्लोबल इन्डेक्स’ सूचीमा दोस्रो नम्बरमा अस्ट्रेलिया छ । त्यहाँ मोबाइल इन्टरनेट गति ६६.४५ एमबीपीएस छ ।

    सूचीमा कतार, नर्वे र युनाईटेड अरब इमिरेट्स (युएई) क्रमसः तेस्रो, चौथौं र पाँचौ स्थानमा छन्। ओक्लाका अनुसार कतारमा ६५.६२, नर्वेमा ६५.३५ र युएईमा ६४.११ एमबीपीएस गति छन्। अमेरिका ३५औं स्थानमा छ, जहाँ मोबाइल इन्टरनेट गति ३६.२३ एमबीपीएस रहेको ओक्लाले देखाएको छ । भारतमा मोबाइल इन्टरनेट गति १०.६५ एमबीपीएस रहेको ओक्लाको प्रतिवेदनमा उल्लेख छ । सूचीको अन्तिममा इस्ट टिमोर छ, जहाँ मोबाइल इन्टरनेट गति ४.७१ एमबीपीएस पाइएको छ ।

    दक्षिण एसियामा माल्दिभ्स, श्रीलंका र पाकिस्तान नेपालभन्दा अघि छन् । ओक्लाको प्रतिवेदनअनुसार ६७औं स्थानमा रहेको माल्दिभ्समा २४.७१ एमबीपीएस र ८३औं स्थानमा रहेको श्रीलंकामा २२.०४ एमबिपिएस र ११८औं स्थानमा रहेको पाकिस्तानमा १३.०८ एमबीपीएस मोबाइल इन्टरनेट गति रहेको छ ।

    दक्षिण एसियाली राष्ट्रमा भारत, पाकिस्तान र अफगानिस्तान नेपालभन्दा पछाडि छन् । ओक्लाको सूचीमा बंगलादेश १३५औं स्थानमा छ, जहाँ मोबाइल इन्टरनेट गति १०.०७ एमबीपीएस छ । यस्तै, १४२औं स्थानमा रहेको अफगानिस्तानमा मोबाइल इन्टरनेट गति ७.४६ एमबीपीएस छ ।

    सन् २०१९ मा विश्वभर औसत मोबाइल इन्टरनेट गति २८.०२ एमबीपीएस पाइएको छ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast