सोमबार, कार्तिक ४, २०७६
    अावास-निर्माण

    निजगढ विमानस्थल जुरिच एयरपोर्टले बनाउने, बाहिरी चक्रपथका लागि चाइना कम्युनिकेसन कन्सट्रक्सन

    मंगलवार, ७ असोज २०७६, आहाखबर

    काठमाडौँ, ७ असोज ।
     बहुप्रतिक्षित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल स्विस कम्पनी जुरिच इन्टरनेसनल एयरपोर्ट (एजी)ले बनाउने भएको छ । लगानी बोर्डले विमानस्थल निर्माणका लागि जुरिच इन्टरनेसनल एयरपोर्टसँग विस्तृत प्रतिवेदन प्रस्ताव माग गरेको छ ।  गत चैतमा सम्पन्न लगानी सम्मेलनका क्रममा सोकेसमा राखिएका विभिन्न परियोजनामध्ये निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सातवटा प्रस्ताव परेका थिए । त्यसबेला आशय प्रस्ताव पेस गर्ने विभिन्न कम्पनीमध्येबाट जुरिच एयरपोर्टसँग विस्तृत प्रस्ताव माग्ने निर्णय गरिएको हो ।

     

    बोर्डको सोमबार बसेको बैठकले आशयपत्र पेस गर्ने ६ वटा प्रस्तावक कम्पनीमध्येबाट जुरिच इन्टरनेसनल एयरपोर्टलाई योग्य ठह¥याएर ‘सर्ट लिस्ट’मा राखेको छ । जुरिचले स्विट्जरल्यान्डसहित विभिन्न मुलुकमा विमानस्थल निर्माण, सञ्चालन तथा व्यवस्थापनको काम गर्दै आएको बोर्डले जनाएको छ ।

    बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीले बैठकले जुरिच इन्टरनेसनल कम्पनीको आशयका आधारमा प्रस्ताव माग्ने निर्णय गरेको जानकारी दिए । बैठकले त्यसबेला सोकेस गरेको समयमा प्रस्ताव परेका विभिन्न सातवटा कम्पनीमध्ये ६ वटा प्रस्तावकले मापदण्ड नपु¥याएको ठहर गरेको बोर्डले जनाएको छ ।
     

    बोर्डका सीईओ अधिकारीले जुरिच इन्टरनेसनल एयरपोर्टको मात्र मापदण्ड पुगेकाले सर्ट लिस्टमा राखिएको जानकारी दिए । विमानस्थल निर्माणको अनुमानित लागत ३ अर्ब अमेरिकी डलर छ । प्रस्ताव मूल्यांकनपछि उपयुक्त भएमा सार्वजनिक–निजी–साझेदारीमा विमानस्थल निर्माणका लागि सम्झौता प्रक्रिया अघि बढाइनेछ ।
     

    यसैगरी, लगानी बोर्डले काठमाडौं उपत्यकामा बाहिरी चक्रपथ निर्माणका लागि परेका विभिन्न प्रस्तावमध्ये चाइना कम्युनिकेसन कन्सट्रक्सन कम्पनीसँग विस्तृत प्रतिवेदन माग गरेको छ । उनले यस परियोजनाका लागि परेका चारवटा प्रस्तावमध्ये तीनवटा प्रस्तावकले मापदण्ड पूरा नगरेको बताए ।

    त्यसैगरी, लगानी बोर्डले तल्लो अरुण हाइड्रोपावर निर्माणका लागि तीनवटै प्रस्तावकलाई नै विस्तृत प्रतिवेदन रिपोर्ट (डीपीआर) माग्ने निर्णय गरेको जानकारी गराउँदै प्रमुख कार्यकारी अधिकृतले भने, ‘भारतको एसजेभीएन, चीनको चाइना पावर कम्पनी र जापानको जे पावर वाटरसँग विस्तृत रिपोर्ट माग्ने निर्णय भएको छ ।’ उनले तीनवटै कम्पनीबाट प्राप्त प्रस्तावलाई मूल्यांकन गरेर उपयुक्त ठहरिएको कम्पनीलाई नै विमानस्थल निर्माणको जिम्मा दिइने बताए ।

    बोर्डका अनुसार तल्लो अरुण हाइड्रोपावर ६ सय ७९ मेगावाट क्षमताको हुनेछ । यो हाइड्रोपावर निर्माण कार्य सम्पन्न भएपछि सरकारको विद्युत् आपूर्ति कार्य थप सहज हुने अपेक्षा गरिएको बोर्डले जनाएको छ । अरुण तेस्रो निर्माण गरिरहेको भारतीय निर्माण कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन)ले पनि तल्लो अरुणका लागि प्रस्ताव पेस गरेको छ ।

    चीनको चाइना पावर कम्पनी र जापानको जे पावर वाटरले तल्लो अरुण निर्माणका लागि आशय व्यक्त गरेका थिए । प्राप्त प्रस्तावको मूल्यांकनपछि मात्र उपयुक्त कम्पनी छनोट गरिने लगानी बोर्डले जनाएको छ । राजधानीबाट

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast