शनिबार, जेष्ठ १७, २०७७
    राज्य-समाज

    चिनियाँ कम्पनीलाई काठमाडौंको बाहिरी चक्रपथ बनाउने जिम्‍मेवारी

    सोमबार, ६ असोज २०७६, आहाखबर

    काठमाडौँ, ६ असोज ।

    लगानी बोर्डको आजको ४०औँ बैठकले काठमाडौँ बाहिरी चक्रपथ परियोजनाको जिम्मेवारी ‘चिनियाँ कम्युनिकेसन पूर्वाधार कम्पनी’लाई दिने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज सिंहदरबारमा सम्पन्न बैठकले प्रस्ताव पेश गरी सङ्क्षिप्त सूचीकरण (सर्ट लिष्ट)मा परेकामध्ये मापदण्ड र मूल्याङ्कनका आधारमा उक्त कम्पनीलाई जिम्मेवारी दिएको हो ।

    बैठकले सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको परियोजना विकास गर्न ‘जुरिच एयरपोर्ट इन्टरनेशनल एजीलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ । दुवै परियोजनाका लागि ती कम्पनीले ४५ दिनभित्र परियोजना विकासको प्रस्ताव पेश गर्नुपर्ने छ ।

    बैठकले पश्चिम सेती तथा एसआर छ संयुक्त जलविद्युत् परियोजना, तल्लो अरुण जलविद्युत् परियोजनाका लागि प्रस्ताव पेश गर्नेमध्ये सङ्क्षिप्त सूचीकरण छनोटका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको संयोजकत्वमा अलगअलग समिति गठन गरेको छ । 

     

    यातायातबारे एकीकृत सुझाव दिन निर्देशन

    बैठकमा प्रधानमन्त्री ओलीले काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापन र सुधारबारे हालसम्म भएका विभिन्न अध्ययन, अवस्था, त्यसका लागि लगानी गर्न इच्छुकको सूचीसहित सुझाव दिन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिनुभयो । 

    प्रधानमन्त्री ओलीले भन्नुभयो, “सबै काम समयमा योजनाबद्धरुपमा सम्पन्न हुनुपर्छ, मन्त्रालय र निकायले एकार्कामा समन्वय गर्नुपर्छ, त्यसका लागि चाँडो प्रतिवेदन प्राप्त होस् ।” बैठकमा बोर्डका प्रमुख कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले अघिल्लो बैठकका निर्णय र प्रगतिबारे प्रस्तुति गर्नुभएको थियो । 

     

    प्रधानमन्त्री – चिनियाँ प्रमण्डल भेट

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ पाओ नेतृत्वको प्रमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेको छ । 

    भेटका अवसरमा चिनियाँ सोङ पाओले चीनले नेपालको समृद्धिको यात्रामा सघाउने विश्वास व्यक्त गर्नुभयो । नेपालमा छिट्टै हुने चिनियाँ राष्ट्रपतिको भ्रमणको तयारीका क्रममा यहाँ आएको सो टोलीले दुई देशबीचको सहयोगात्मक सम्बन्धलाई अझ सुदृढ बनाउने जनाएको थियो ।

    जवाफमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिको आसन्न भ्रमण सफल हुनेमा आश्वस्त रहन आग्रह गर्दै आपसी सम्बन्धलाई अझ गाढा बनाउन नेपालको तर्फबाट पनि पहल गरिने व्यक्त गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो । 

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast