मंगलवार, कार्तिक ५, २०७६
    राज्य-समाज

    कास्की–२ बाट चुनाव नलड्ने बामदेव गौतमको घोषणा

    शनिबार, ४ असोज २०७६, आहाखबर

    काठमाडौँ, ४ असोज

    दिवंगत रविन्द्र अधिकारीको निर्वाचन क्षेत्र कास्की – २ बाट चुनाव लड्ने भनी हल्ला चले पनि नेकपाका उपाध्यक्ष वामदेव गौतम उक्त क्षेत्रबाट चुनाव नलड्ने भएका छन्।

    प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालय बैठकमा गौतमले आफू कास्की–२ को उपचुनावमा नलड्ने प्रस्ताव राखेका हुन्।

    नेकपा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष गौतमलाई मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा कास्की प्रतिनिधि सभा २ बाट उपनिर्वाचन लड्न प्रस्ताव गरेका थिए ।

    सोही प्रसंगमा उनले भनेका छन्, ‘मलाई त्यहाँबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेडसहित पार्टीका समस्त सहयोद्धाप्रति म हार्दिक आभार प्रकट गर्दछु ।’

    उनी गत निर्वाचनमा बर्दिया १ मा काँग्रेस उम्मेद्वार सञ्जय गौतमसँग पराजित भएका थिए । उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी हुँदा पनि आफू पराजित भएको भन्दै उनले भने,‘ त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु फेरि पराजित हुनु हो ।’ साथै उनले कास्कीमा स्थानीय नेताहरुलाई उठाउँदा सहज जित हुने विश्वास व्यक्त गरे ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast