मंगलवार, मंसिर २४, २०७६
    स्वास्थ्य

    सरकारी डाक्टरको विदेश मोहः बिरामीको कन्तबिजोग

    शनिबार, ४ असोज २०७६, आहाखबर

    काठमाडौँ, ४ असोज । 
     विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले १ हजार जनसंख्या बराबर एक चिकित्सक हुनुपर्ने मापदण्ड तोकेको छ । तथ्यांक विभागका अनुसार नेपालको जनसंख्या २ करोड ९६ लाख ९९ हजार ७४७ छ । यसरी हेर्दा २९ हजार ७ सय डाक्टर नेपालका लागि आवश्यक छ । तर, अझै ५ हजार डाक्टर नेपालमा अपुग भएको देखिन्छ । भएका अधिकांश डाक्टर पनि विदेश पलायन हुने क्रम बढेको छ ।

    विदेशमा पर्याप्त सुविधा, अवसरको पहुँचलगायत कारणले सरकारी सेवामा कार्यरत र निजी अस्पतालमा कार्यरत चिकित्सकहरू बिदेसिएका छन् । सरकारी चिकित्सक संघका अनुसार सरकारी सेवामा कार्यरत रहेका मात्रै झन्डै ४ सय चिकित्सकहरू बिदेसिएका छन् । ती चिकित्सकहरू विदेशमा रोजगारीको अवसर पर्याप्त हुने भएकाले माल्दिभ्स, दुबई, साउदी अरबलगायतका खाडी देशमा जाने गरेका छन् ।

    चिकित्सकहरू निकै कम मात्रामा हुँदा बिरामीहरू निकै मर्कामा पर्ने गरेका छन् । विशेषज्ञ डाक्टरको अभावका कारण अधिकांश बिरामीहरू बिचल्लीमा पर्ने गरेका छन् । केही बिरामी सदरमुकाम अथवा देशको केन्द्रीय राजधानी काठमाडौं धाउनुपर्ने बाध्यता छ ।

    भएका केही चिकित्सक पनि समायोजनपछि सरुवा भएका कारण केही स्वास्थ्य संस्था प्रमुखविहीन छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. विकास देवकोटाले चिकित्सकहरूलाई विदेश पलायन हुन नदिन आवश्यक सेवासुविधामा परिमार्जन गर्न आवश्यक रहेको बताए । उनले भने, ‘दर्तावाल डाक्टर सबै नेपालमै कार्यरत छैनन् । यस विषयमा मन्त्रालयको विशेष ध्यान गएको छ । छात्रवृत्तिमा पढेका चिकित्सकलाई दुर्गम भत्ताको व्यवस्था गरिएको छ ।’

    सरकारले प्रत्येक स्थानीय तहमा एउटा अस्पताल पु¥याउने नारा लिए पनि कागजमा मात्रै सीमित हुन पुगेको छ । नेपाल मेडिकल काउन्सिलको तथ्याकंअनुसार २५ हजार डाक्टर दर्तावाल छन् । जसअन्तर्गत झन्डै ८ हजार विशेषज्ञ डाक्टर छन् ।

    स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभरमा १६ वटा केन्द्रीय अस्पताल, ३ हजार ८०५ स्वास्थ्यचौकी, १९८ वटा प्राथमिक स्वास्थ्य केन्द्र, १० वटा साबिकका अञ्चल अस्पताल छन् । यस्तै, उपक्षेत्रीय अस्पताल तीन, क्षेत्रीय अस्पताल दुई, स्वास्थ्य विज्ञान प्रतिष्ठान सात छन् । १ हजार ४ सय सरकारी डाक्टरमध्ये १५० देखि २ सयको संख्यामा विशेषज्ञ डाक्टर छन् ।

    अहिले अधिकांश स्वास्थ्य संस्थाहरू छात्रवृत्ति करार चिकित्सकको भरमा चलिरहेका छन् । एमबीबीएस वा एमडी उत्तीर्णपश्चात् ग्रामीण तहमा दुई वर्ष सेवा गरेको हुनुपर्ने प्रावधान छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर ४ हजार डाक्टर आवश्यक पर्छ । सोमध्ये करिब १ हजार ४ सय मात्रै कार्यरत छन् भने २ हजार ६ सय डाक्टरको अभाव छ । कार्यरत १ हजार ४ सयमध्ये अधिकांश सहरी क्षेत्रमा कार्यरत छन् भने ग्रामीण तहमा निकै न्यून संख्यामा मात्रै डाक्टर कार्यरत छन् ।

    सरकारी चिकित्सक संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेका अनुसार नेपालमा चिकित्सकहरूलाई निर्धक्कसँग काम गर्ने वातावरण नहुँदा र सरकारले चिकित्सकहरूको सुरक्षाको ग्यारेन्टी नगर्दा विदेश पलायन हुने गरेका छन् । सरकारी चिकित्सक संघका अध्यक्ष डा. पाण्डेले भने, ‘चिकित्सा शिक्षा पढेअनुसार उपयुक्त पारिश्रमिक छैन, थप अध्ययन र अनुसन्धानको अवसर पनि छैन । सानो कुरामा पनि बिरामी पक्षबाट हुलदंगा हुन्छ, त्यही भएर विदेश पलायन हुने क्रम बढेको हो ।’ नेपालमा निकै कम पारिश्रमिकमा काम गर्न बाध्य भएको चिकित्सकहरूको गुनासो छ ।राजधानीबाट 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast