सोमबार, कार्तिक ४, २०७६
    पर्यटन समाचार

    अन्तर्राष्ट्रिय उडानबाट ब्याक हुँदै बुद्ध एयर, अब कोलकाता उडान बन्द हुने

    शुक्रबार, ३ असोज २०७६, आहाखबर

    काठमाडौँ, ३ असोज 

    निजी वायुसेवा कम्पनी बुद्ध एयरले कोलकाता उडानलाई व्यवसायिक रुपले परीक्षण उडान गर्दा नाफामुलक नभएपछि डिसेम्बरबाट काठमाडौं-कोलकाता उडान बन्द गर्ने भएको छ ।

    'हामीले कोलकाता उडानलाई परीक्षणका रुपमा लिएका थियौँ । हामीले यो गन्तब्य उडानमा उडान गर्नु अघि ६ महिनाको परीक्षण उडान गर्ने भनेका थियौं ।' कम्पनीका एक कर्मचारीले बिजमाण्डूसँग भने ।

    उनका अनुसार आर्थिक सम्भावना नभएका स्थानमा उडान बन्द गर्ने कम्पनीको नीति छ।यसअघि पनि कम्पनीले भुटान र म्यानमार उडान गरेर केही समयमै बन्द गरेको थियो। कम्पनीका अनुसार तत्कालका लागि भने काठमाडौं-वनारस उडानलाई भने निरन्तरता दिइनेछ ।

     

    आन्तरिकमै फोकस गर्ने

    अन्तर्राष्ट्रिय उडानमा सफल नभएपनि आन्तरिक उडानमा भने पहिलो नम्बरमै वुद्ध पर्छ।त्यही भएर वुद्धले अन्तर्राष्ट्रिय उडान भन्दा आन्तरिकमै फोकस गर्ने भएको छ।

    आन्तरिक तर्फ स्टोल(विकट) गन्तब्यमा उडानका लागि कम्पनीले विभीन्न जहाज निर्माता कम्पनीसँग छलफल सुरु गरिसकेको जनाएको छ । 

    कम्पनीका अनुसार शुक्रबार क्यानडाको जहाज निर्माता कम्पनी भाइकिङ एयरसँग छलफल भएको छ । कम्पनीका प्रवन्ध निर्देशक वीरेन्द्र हादुर बस्नेत र भाइकिङ कम्पनी अन्तर्गत दक्षिण पूर्व एशियाका क्षेत्रीय विक्री निर्देशक डेभिड हेथवीच भाइकिङको ट्विनअटर-४०० जहाज ल्याउने बारे छलफल गरेको हो ।

    कम्पनीले छिट्टै अमेरिकाको कन्सासस्थित सेस्ना एयरक्राफ्टसँग  पनि छलफल गर्ने योजना बनाएको छ । 'अहिले आन्तरिक उडान अन्तर्गत विकट क्षेत्रमा क्षमता विस्तार गर्ने हाम्रो योजना छ । भाइकिङ कम्पनीसँग भइसकेको छ भने दुई सातामा सेस्ना कम्पनीसँग छलफल गरिनेछ ।' ती कर्मचारीले बिजमाण्डूसँग भने ।

    कम्पनीका अनुसार अपरेशन, मर्मत सम्भारको प्राविधिक पक्ष हेरेर दुई मध्ये एउटा कम्पनीसँग बुद्धले जहाज खरिद प्रक्रिया अगाडि बढाउनेछ । 

    कम्पनीले छनोट गरेको कम्पनीमार्फत सन् २०२० मा तीनवटा र पछि सन् २०२१ मा दुईवटा जहाज खरीद गरेर संचालनमा ल्याउने योजना बनाएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast