मंगलवार, कार्तिक ५, २०७६
    कृषि-उर्जा

    सुस्त गतिमा ‘उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान’

    बिहिवार, २ असोज २०७६, आहाखबर

    जुम्ला, २ असोज

    ‘उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान’ (मारी) को केन्द्रीय कार्यालय जुम्लाको प्रसिद्ध पर्यटकीयस्थल गुठीचौरमा स्थापित छ । उच्च पर्वतीय क्षेत्रको कृषि अनुसन्धानका लागि स्थापित विश्वविद्यालयस्तरको संस्थाले भने अपेक्षित काम गर्न सकेको छैन ।

    विसं २०७२ मा स्थापित अनुसन्धान प्रतिष्ठानका गतिविधिहरुको राम्रो प्रयोग हुन नसक्दा पर्वतीय क्षेत्रका नागरिकले अहिलेसम्म आशातीत लाभ लिन सकेका छैनन् । प्रतिष्ठानको भौतिक तथा सङ्गठन संरचनाका विषयमा सेवा क्षेत्र नजिकका बासिन्दालाई समेत थाहा छैन ।

    पूर्वइलामदेखि दार्चुलासम्मको पर्वतीय क्षेत्रमा नयाँ प्रविधि विकास गर्ने, अनुसन्धानका लागि सरकारी तथा गैरसरकारी निकायहरुसँग समन्वय सहकार्य गर्ने र अनुसन्धानको क्षेत्रमा अनुगमन तथा मूल्याङ्कन गर्ने जिम्मा पाएपनि मुख्यगरी सङ्गठनात्मक संरचना र अन्य संस्थागत व्यवस्थापन हुन नसक्दा निर्दिष्ट काम अघि बढेको पाइदैन । 

    प्रतिष्ठानअन्तर्गत सामान्यतः तालीम, प्रशिक्षण तथा प्रविधि प्रचारप्रसार, भेडाका लागि घाँस तथा थुमा बाँड्ने, जडिबुटीको ‘जिङ्क’ सङ्कलन गर्ने जस्ता काम भइरहेका छन् । यस क्षेत्रको स्याउ, रैथाने बाली संरक्षण गरेपनि उद्देश्य अनुरुप जान सकेको छैन । यसको विकास तथा विस्तारमा तीनवटै सरकारको नजर पुगेको छैन । मूलत ः नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लाई कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सहयोग नगरेको प्रतिष्ठानका कर्मचारीहरुको गुनासो छ । यसको महत्वलाई बुझेर सबै सरकार लागिपरे प्रतिष्ठानमा अनुसन्धान गर्न आउने वातावरण तयार हुन्छ ।  

    मुलुकका २३ जिल्ला कार्यक्षेत्र रहेको प्रतिष्ठान नयाँ प्रविधि विकास र त्यसको प्रयोगमा तल्लिन हुनुको साटो खुम्चिएर रहेको छ । मूलत ः पर्याप्त जनशक्ति, विद्युत् र आवश्यक उपकरण नहुँदा लक्ष्य अनुरुप अघि बढ्न नसकेको प्रतिष्ठानका निर्देशक तीर्थराज रिजालले राससलाई जानकारी दिनुभयो ।

    “अनुसन्धान क्षेत्रमा विश्वविद्यालयस्तरको यस्तो संस्था ताईवानपछि नेपालमा मात्र छ,” रासससँग कुरा गर्दै निर्देशक रिजालले भन्नुभयो, “अनुसन्धानका साथै प्राज्ञिक गतिविधि सञ्चालन गर्न हुन सक्ने नेपालकै गौरवको संस्थामा छ जना वरिष्ठ वैज्ञानिकको दरबन्दीमा म एक जना मात्र कार्यरत छु ।” जेनेतन कार्यालय सञ्चालन गरिएको उहाँको भनाइ छ । 

    उहाँले भन्नुभयो, “प्रतिष्ठान जस्तो राष्ट्रिय महत्व राख्ने संस्था पाउने जुम्ला भाग्यमानी जिल्ला हो । बिडम्बना, जुम्लाको कृषि अनुसन्धान केन्द्र विजयनगर, बागवानी अनुसन्धान केन्द्र राजीकोट र भेडाबाख्रा अनुसन्धान केन्द्र गुठीचौर एक्लैले सम्हाल्नुपरेको छ ।” उहाँका अनुसार प्रतिष्ठानले पाँच वटा केन्द्र हेर्ने जिम्मेवारी पाएको छ । कृषि अनुसन्धान केन्द्र विजयनगर र बागवानी अनुसन्धान केन्द्र राजीकोट जुम्ला, आलु अनुसन्धान केन्द्र जौबारी इलाम, घाँस तथा चरन अनुसन्धान केन्द्र रसुवा र रेन्बो ट्राउट माछा अनुसन्धान केन्द्र नुवाकोट यसअन्तर्गत छन् । तर, जनशक्ति अभावमा अनुसन्धान र नयाँ प्रविधि विकासका काम हुन सकेको छैन । 

    त्यस्तै, विषयगत क्षेत्रका भेडाबाख्रा अनुसन्धान केन्द्र गुठीचौर जुम्ला र पहाडी बाली अनुसन्धान कार्यक्रम दोलखा पनि प्रतिष्ठानले हेरिरहेको छ । यसको क्षेत्र र कामले मुलुकको विकासमा ठूलो फरक पार्ने सोझै अनुमान लगाउन सकिने भए पनि सरकारको प्राथमिकता पर्न नसक्नु दुर्भाग्य भएको बताउनुहुन्छ, कर्णालीका वरिष्ठ कृषक रामकृष्ण बुड्थापा । 

    प्रतिष्ठानमा कर्मचारी दरबन्दी सङ्ख्या २१ हुँदा मुश्किल सात÷आठ जना र त्यो पनि तल्लोस्तरका कर्मचारी अप्राविधिक जनशक्ति बढी छन् । यहाँ न विद्युत् छ, नत प्रयोगशाला । जुम्ला सदरमुकामबाट पाँच घण्टा पैदल दूरीमा रहेको प्रतिष्ठानमा फोन नै राम्रोसँग लाग्दैन र इन्टरनेटको पनि त्यत्तिकै समस्या छ ।

    खासगरी काठमाडौँ र दुर्गम कर्णालीमा काम गर्ने कर्मचारीको तलब एउटै हुँदा कर्मचारी यहाँ आउन नमान्ने गरेको प्रतिष्ठानका वरिष्ठ वैज्ञानिक वसन्त चालिसेले राससलाई बताउनुभयो । “क्षमता भए पनि शक्ति र पहुँच नभएका कर्मचारीले कर्णाली पेलिनुपर्छ,” दुखेसो पोख्दै वैज्ञानिक चालिसेले भन्नुभयो, “जसको कारणले होला, प्रतिष्ठान (मारी) प्रतिष्ठित संस्था अलपत्र जस्तो अवस्थामा छ ।”

    कर्मचारीका लागि कर्णाली पुग्ने कुनै आकर्षण नभएको र सजाय भोग्न पठाइएको जस्तो असन्तुष्ट परिस्थितिमा काम गर्ने वातावरणले प्रतिष्ठानको संस्थागत विकास र नागरिक लाभका उल्लेख्य काम नभएको उहाँको प्रतिक्रिया थियो । वैज्ञानिक चालिसेले आफूसँगैका साथी काठमाडौँ, अष्ट्रेलियामा काम गरिरहँदा आफू कर्णालीमा राम १४ वर्ष वनबास बसेजस्तो काम गर्नुपर्दा हिनताबोध हुने गरेको गुनासो गर्नुभयो । 

    कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले राष्ट्रिय महत्वको प्रतिष्ठान कर्णालीमा हुनु गौरवको विषय भएको बताउनुभयो । रासससँग कुरा गर्दै मन्त्री केसीले भन्नुभयो, “मैले प्रतिष्ठानको स्थलत अनुगमन तथा अवलोकन गरिसकेकी छु ।” कर्णाली प्रदेशको विराट सम्पत्तिको समग्र विकासका लागि सङ्घीय सरकारसँग समन्वय गर्न र प्रदेश सरकारबाट आवश्यक सहयोग पु¥याउन निरन्तर लागि पर्ने उहाँको भनाइ थियो ।

    गुठीचौर गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले प्रतिष्ठानको सेवा क्षेत्रको स्थानीय सरकारको हिसाबले प्रतिष्ठानको सुरक्षा तथा विकासमा आवश्यक सहयोग गर्ने बताउनुभयो । प्रतिष्ठानले दिने र लाभग्रहीले लिने सेवामा स्थानीय सरकारको सरोकार रहने उहाँको भनाइ थियो ।  दुई हजारदेखि चार हजार ५०० मिटरसम्म बसोबास गर्ने जनताको जीवनस्तर माथि उकास्ने, उनीहरुको जीविकोपार्जन तथा आम्दानीको स्तर बढाउने उद्देश्यले स्थापना भएको मारी कुनै पनि सरोकारवालाको नजरमा नरहेको कर्मचारीहरु बताउछन् । सबै वैज्ञानिकहरु कर्णालीमा आउने खालको अनुकूल र आकर्षित वातावरण तयार गर्न सकेमात्र कर्णालीले देशको मुहार फेर्न सहयोग पु¥याउने जानकारहरु बताउछन् ।  

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast