मंगलवार, कार्तिक ५, २०७६
    स्वास्थ्य

    झन बढ्दै असुरक्षित गर्भपतन

    बिहिवार, २ असोज २०७६, आहाखबर

    काठमाडौं, २ असोज । 
    असुरक्षित गर्भपतन गराउनेको संख्यामा अझै कमी आएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार हरेक एक सय महिलामध्ये ५८ जनाले असुरक्षित गर्भपतन गराउँछन् । प्रतिएक घण्टामा २१ महिलाले असुरक्षित गर्भपतन गराउने गरेको तथ्यांक स्वास्थ्य सेवा विभागको छ । बर्सेनि १ लाख ८६ हजार १ सय ४४ असुरक्षित गर्भपतन हुने प्रजनन स्वास्थ्य क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था गुटामाचार इन्स्टिच्युट र कृपा नामक संस्थाले जनाएका छन् ।

    सरकारले गर्भपतन सेवा शीर्षकमा झन्डै १० करोड बजेट विनियोजन गरे पनि असुरक्षित गर्भपतन गराउनेको संख्यामा कमी आएको छैन । पर्याप्त जनचेतना, प्रभावकारी नियमनको अभावमा असुरक्षित गर्भपतन गराउनेहरूको संख्या बढ्दै गएको छ ।
    अनिच्छित गर्भलाई सुरक्षित तरिकाले गर्भपतन गराउन आवश्यक सीप नभएका व्यक्तिले गरेको अथवा तोकिएको मापदण्डअनुसारको सुविधा नभएको स्थानमा दिइएको गर्भपतन सेवालाई असुरक्षित गर्भपतन भन्ने गरिन्छ । चिकित्सकका अनुसार आवश्यक तालिम नलिएका वा अनुमति नलिएका स्वास्थ्यकर्मी जोखिमपूर्ण विधिबाट गर्भाशयमा रहेको भ्रुण नष्ट गर्ने कार्य असुरक्षित गर्भपतन हो । पछिल्लो तथ्यांकअनुसार २४ प्रतिशत महिलाहरू परिवार योजनाको साधन प्रयोग गर्न चाहे पनि सहज रूपमा पाउन सकेको छैन ।

     

    सुरक्षित गर्भपतन सेवा कार्यक्रम कार्यविधि निर्देशिका, २०७४ ले गर्भवती महिलाको लिखित मन्जुरीमा सूचीकृत स्वास्थ्यकर्मीद्वारा सूचीकृत स्वास्थ्य संस्थामा प्रचलित कानुनले तोकेको परिधिभित्र रहेर प्रदान गरिने गर्भपतन सेवालाई मात्र सुरक्षित गर्भपतन सेवा मानेको छ ।

    परिवार कल्याण महाशाखाका वरिष्ठ कम्युनिटी नर्सिङ अधिकृत कुमारी भट्टराईका अनुसार सूचीकृत स्वास्थ्य संस्थामा सूचीकृत स्वास्थ्यकर्मीबाहेक अन्य स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीले प्रदान गरेको गर्भपतन सेवालाई गैरकानुनी मानिन्छ । यस्तो सेवाप्रदायक र सेवाग्राही दुवै कानुनबमोजिम कारबाहीको भागीदार हुने प्रावधान छ । वरिष्ठ कम्युनिटी नर्सिङ अधिकृत कुमारी भट्टराईले भनिन्, ‘सरकारले प्रत्येक वर्ष निःशुल्क गर्भपतन सेवाका लागि झन्डै १० करोड बजेट छुट्याउँछ । गर्भपतन गराउने महिलामध्ये ४२ प्रतिशत मात्र सुरक्षित गर्भपतन गराउँछ ।’
     

    स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले परिवार योजनालाई प्रभावकारी बनाउन कम उमेरमा हुने विवाहलाई रोक्नुपर्ने बताए । उनले भने, ‘अझै पनि झन्डै ५० प्रतिशत विवाह २० वर्षभन्दा कम उमेरमा हुने गरेको छ । यसलाई नियन्त्रण गर्न स्थानीय तहको सहयोग लिनुपर्छ ।’

    सुरक्षित गर्भपतन सेवा प्रक्रिया, २०६० अनुसार गैरसरकारी तथा निजी सूचीकृत स्वास्थ्य संस्थाले प्रत्येक पाँच वर्षमा जिल्ला जनस्वास्थ्य कार्यालयको सिफारिसमा परिवार कल्याण महाशाखाबाट नवीकरण गर्नुपर्छ । सूचीकृत स्वास्थ्य संस्था नवीकरण गर्न विभागले तोकेको नवीकरण शुल्कसहित सूचीकृत प्रमाणपत्रको सक्कलसहित परिवार स्वास्थ्य महाशाखामा बुझाउनुपर्ने हुन्छ । तर, सरकारी स्वास्थ्य संस्थाको हकमा संस्था एकपटक सूचीकृत भइसकेपछि नवीकरण गर्नुपर्दैन ।
     

    स्वास्थ्य सेवा विभागको पछिल्लो तथ्यांकअनुसार ५८ प्रतिशत गर्भपतन लुकिछिपी, असुरक्षित व्यक्ति वा गर्भवती महिला आफैंले गर्ने गरेका छन् । १० असोज २०५९ देखि सुरक्षित गर्भपतनले कानुनी मान्यता पाएको हो । नेपालको जनसांख्यिक र स्वास्थ्य सर्वेक्षण, २०१६ अनुसार गर्भपतन गराउनेमध्ये सबैभन्दा धेरै ३५ देखि ४९ वर्ष उमेर समूहका छन् ।

    यी उमेर समूहका गर्भपतन गराउने महिलामध्ये २७ ले घरमा तथा निजी क्षेत्रको सेवा केन्द्रबाट सेवा लिएको पाइएको छ । ‘गर्भपतनले कानुनी मान्यता पाएको’ कुरा सर्वसाधारण महिलासम्म जानकारी नहुँदा असुरक्षित गर्भपतन संख्या बढिरहेको चिकित्सक बताउँछन् । समुदाय तहमा हुने मृत्युमध्ये १३ प्रतिशत असुरक्षित गर्भपतनका कारणले भइरहेको तथ्यांक छ । चिकित्सक भन्छन्, ‘ग्रामीण तहमा सुरक्षित गर्भपतन सेवामा सबै महिलाको पहुँच नै पुगेको छैन, गुणस्तरीय सेवा नपुग्दा गर्भपतनका कारण अकालमा महिलाको मृत्यु हुने गर्छ ।’ पछिल्लो स्वास्थ्य सर्वेक्षणअनुसार १९ प्रतिशत महिला अनिच्छित गर्भ राख्न बाध्य हुन्छन् ।

    सुरक्षित गर्भपतन सेवाको पहुँच सुनिश्चितता गर्न १ हजार १ सय सूचीकृत संस्था र करिब ३ हजार सेवा प्रदायक संस्थाले गर्भपतन गराउन पाउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ कात्तिक २०७३ देखि गर्भपतन सेवा निःशुल्क बनाएको छ । असुरक्षित गर्भपतन गराउने चारमध्ये एक जनालाई जीवनभर उपचार गराउनुपर्ने र तिनको शारीरिक, मानसिक एवं आर्थिक तथा भावनात्मक समस्या हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । चिकित्सकका अनुसार असुरक्षित गर्भपतनले विशेषगरी अधिक रक्तश्राव, संक्रमण, पाठेघरको मुख, महिलाको प्रजनन अंग, पाठेघरजस्ता अति संवेदनशील अंगमा असर पुग्ने गर्छ । दक्ष र सूचीकृत स्वास्थ्य प्रदायक निकायबाट गर्भपतन गर्नुपर्ने विषयमा पर्याप्त जनचेतना नहुँदा पनि असुरक्षित रूपमा गर्भपतन गर्नेको संख्या बढ्दै गएको तथ्यांकले देखाउँछ । राजधानीबाट

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast