सोमबार, मंसिर ३०, २०७६
    लेख/संवाद

    “जति बेला मैलै यो उद्यम शुरु गरें त्यति बेला त छिमेकीबाट पनि सहयोग पाइनँ”

    बुधबार, १ असोज २०७६, – किरण पौड्याल.
    इलाम, १ असोज  
     
    इलाम नगरपालिका–७ की उषा निरौलालाई बिहान उठ्ने बित्तिकै आफ्नो उद्योगमा काम गर्न हतारो हुन्छ । घरमै भएको उद्योगमा समय मिलाएर काम गरे पनि अरु काम गर्न उनलाई धौ धौ पर्ने गर्छ । उनी इलामकी एक मात्र अदुवा उद्यमी हुन् । उनी अदुवाबाटै विभिन्न परिकार बनाएर बेच्ने गर्छिन् । उनको उद्योगमा बनेका वस्तु इलाममा मात्र नभई जिल्ला बाहिर पनि बिक्छ । उनी यो व्यवसाय गर्ने जिल्लाकै एक मात्र उद्यमी हुन् भन्दा पनि फरक पर्दैन । 
     
    विसं २०६८ मा सामान्य तालीम लिएर अदुवा प्रशोधनमा हात हालेकी उषाले अदुवाबाट बन्ने क्यान्डी, तितौरा, मिक्चर, सर्बत, सुठो र अचार बनाउने गर्छिन् । यसैबाट जीवन चलाउँदै आएकी उनको प्रशोधन केन्द्रमा मासिक पाँच क्विन्टल अदुवा  खपत हुन्छ । “अहिले मेरो प्रशोधन केन्द्रमा पाँच क्विन्टल जति अदुवा खपत हुन्छ, सबै अदुवा अर्गानिक मात्रै ल्याउने गरेकी छुु,” उषाले भनिन् । 
     
    रासायनिक मल र विषादीले मानिसको शरीरमा प्रत्यक्ष तथा अप्रत्यक्ष असर पर्ने कुरा बुझेकी उनले अदुवा साना किसानबाट मात्रै किन्ने गरेकी छन् । उनको अनुभवमा व्यावसायिक रुपले खेती गर्ने ठूला किसानले बढी रासायनिक विषादीे प्रयोग गर्छन् । 
     
    शुरुआती समयमा अनावश्यक झण्झट खेपेकी उनले व्यवसाय बढे सँगै प्रशंसा पनि बटुल्ने गरेकी छन् । उनले भनिन् – “जति बेला मैलै यो उद्यम शुरु गरें त्यति बेला त छिमेकीबाट पनि सहयोग पाइनँ । राम्रो बजारीकरण पनि नभएको बेला अरुलाई बुझाउन समस्या प¥यो । अहिले पनि बजार मूल्य राम्रो त पाएको छैन तर, बनाइसकेका परिकार खेर चाहीँ फाल्नु पर्दैन ।”
     
    यस्ता वस्तुको माग स्वदेशमा राम्रो नभए पनि विदेशमा हारालुछ हुने गरेको उनी बताउँछिन् । उनी भन्छिन् – “यहाँ त अहिले पनि अदुवाको सर्बत भन्दा मानिसले बुझ्दैनन् तर, बाहिरबाट आएका पर्यटकका लागि भने यही अमूल्य हुने गरेको छ ।” उषाले अरु दुई जनालाई अहिले रोजगारी दिइरहेकी छिन् । उनी अहिले सूर्योदय नगरपालिकाको पशुपतिनगरमा उद्योग सार्ने योजनामा छिन् । 
     
    इलाम नगरपालिका–१ साँखेजुङकी मिलनकुमारी खत्रीले धेरै सङ्घर्ष गरेर हुर्किनु प¥यो । विवाह पछि पनि जीवन उस्तै रह्यो तर, मिलनको मनमा भने सधैं ‘केही गर्नुपर्छ’ भन्ने आइरहन्थ्यो । के गर्ने ? न त हातमा शीप, न गोजीमा दाम । 
     
    त्यतिकैमा मिलनको मनमा चिया रोप्ने सोच आउन थाल्यो । कुनै बेला मिलनलाई चिया ओइलाए पछि पनि लामो समय प्रयोग गर्न सकिन्छ भन्ने पत्तै थिएन । चियाको मुना टिपेर ल्याएर तत्कालै पकाएमा मात्रै चिया बन्छ भन्ने उनी सोच्थिन् ।
     
    मिलनले भनिन् – “आर्थिक स्थिति त्यति राम्रो थिएन । त्यसैले घरायसी सामग्री सटहीकै लागि पनि चिया सुकाउने काम गर्न थालें । चियाका दाम त्यति बेला आठ रुपैयाँ थियो होला तर, हामी बेच्ने काम गर्दैनथ्यौँ ।” मिलनका अनुसार चिया बनाउन थालेपछि अन्य गाउँबाट पनि माग आउन थाल्यो । 
     
    “चिया रोपेको ३–४ वर्ष पछि मात्रै नगदमा बेच्न थाल्यौँ ,” उनले भनिन् – “हामी त्यति बेला घाममा मात्र चिया सुकाउँथ्यौं । पानी परेको बेला भने आगो माथि फलामको पातामा राखेर सुकाउथ्यौँ ।”
     
    “उद्योग दर्ता गराएपछि सेवा सुविधा पनि पाइने भएपछि इलाम सदरमुकाम आएका थियौँ,” मिलनले भनिन् – “त्यति बेलै पनि दुई हजार रुपैयाँ पुरस्कार पाएकी थिएँ । ठूलै  हौसला मिल्यो ।” शुरुआती वर्षमा धेरै झण्झट भोगेकी मिलनको अहिले भने दिन फिरेको छ ।
     
    मिलनको अहिले आफ्नो र भाडामा लिएको गरी ३२ रोपनी जग्गामा चिया खेती हुन्छ भने चिया प्रशोधन गर्ने उद्योग पनि छ । त्यही चियाबाट अहिले वार्षिक तीनदेखि चार लाख रुपैयाँ नाफा हुन्छ । सयौँको सङ्ख्यामा उद्योग हेर्न आउँछन् । मिलन भन्छिन् – “राम्रो कमाइ हुन्छ । चिया खेतीबाटै हामीले परिवार पालेका छौं भने दुई छोरा काठमाडौँमा  पढ्दैछन् । अर्को आम्दानी केही पनि छैन ।”
     
    अहिले मिलनको उद्योगको चिया रसिया, ताइवान, चीन, जापानमा समेत जान्छ । उनको उद्योगमा पाँच जना भन्दा बढीले रोजगारी पाइरहेका छन् । असल र कर्मठ किसान भएकैले राष्ट्रपति उत्कृष्ट पुरस्कार पाइसकेकी मिलनको परिवार नै चिया क्षेत्रमा खट्ने गरेको छ ।
     
    लेकाली कृषि सहकारी संस्थाकी मिलनले चियाकै लागि उन्नति परियोजनाबाट ८० लाख रुपैयाँको परियोजना पनि विगतमा सञ्चालन गरिसकेकी छन् । अर्गानिक चिया बनाएमा कहिल्यै पनि घाटा नहुने र उचित मूल्यमा बिक्ने उनको अनुभव छ । उनी भन्छिन् – “केही गर्न सङ्घर्ष गर्ने पर्छ, नभए केही हुँदैन ।” 
     
    सन्दकपुर गाउँपालिकास्थित सुलुबुङकी लीलादेवी भट्टराई पनि आफ्नै घरमा भएको डेरीमा बिहान सबेरैदेखि खट्छिन् । विसं २०३३ मा पाँचथर जन्मेकी लीला एक सङ्घर्षशील महिलाका रूपमा चिनिन्छिन् ।  
     
    सानैदेखि सामाजिक कार्यमा रुचि भएकी उनलाई विवाह पछि पनि अवरोध भएन । विवाहपछिका अनेकौँ चुनौतीलाई पार गर्दै अहेव उनले अध्ययन गरिन् । नौ वर्षसम्म करारमा अहेवको जागीर खाएकी लीला सामाजिक सङ्घसंस्था, सहकारी, महिला समूह गरी दशभन्दा बढी संस्थामा आवद्ध थिइन् । जागीरले उनलाई चित्त बुझेन । आम्दानी राम्रो हुने सुनेपछि घरमै गाई पाल्ने सोच बनाइन् । आजभन्दा पाँच वर्षअघि पाँच लाखको पूँजीमा भट्टराई कृषि पशुपालन तथा डेरी उद्योग सञ्चालनमा ल्याएकी उनले पहिलो पटक गोठ बनाउन पाँच हजार रुपैयाँ अनुदान पाएकी थिइन् ।
     
    उनको डेरीबाट ३०० लिटर दूधको दैनिक १२ किलो घिउ र छुर्पी उत्पादन हुन्छ । किसानलाई भुक्तानी दिएर पनि मासिक तीस हजार रुपैयाँ नाफा हुँदै आएको उनी बताउँछिन् । आधुनिक डेरीको सञ्चालन पछि करीब एक हजार लिटर दूध उत्पादन हुने र यसबाट मासिक एक लाख रुपैयाँ आम्दानी हुने उनको आकलन छ । उनको डेरीमा हाल तीन पुरुष र दुई महिला गरी पाँच जनाले रोजगारी पाइरहेका छन् । 
     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast