आईतवार, कार्तिक ३, २०७६
    स्कुल-कलेज

    २ हजार विद्यार्थी अध्ययनरत चितवन मेडिकल कलेजमा १६ दिनदेखि पठनपाठन ठप्प

    बुधबार, १ असोज २०७६, आहाखबर

    चितवन, १ असोज ।

    सरकारले तोकेकोभन्दा बढी शुल्क लिइएको भन्दै चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले आन्दोलन गरेपछि १६ दिनदेखि पठनपाठन ठप्प भएको छ । कलेजको २६ वटा सङ्कायमा दुई हजार विद्यार्थी अध्ययनरत रहेका छन् । 

    त्यहीँ अध्ययनरत प्रकाश चन्दको नेतृत्वमा गठित चिकित्सा शिक्षा सङ्घर्ष समितिले आन्दोलनको नेतृत्व गरिरहेको छ । चन्दले सरकारले तोकेभन्दा बढी शुल्क चितवन मेडिकल कलेजले असुल गरेकै कारण आन्दोलन गर्नुपरेको बताउनुभएको छ । शुल्क नघटेसम्म आन्दोलन जारी रहने उहाँको भनाइ छ । 

    मुख्यरुपमा एमबिबिएसमा सरकारले तोकेभन्दा रु १२ लाख बढी शुल्क कलेजले असुल गरेको चन्दको भनाइ छ । यता कलेज प्रशासनले भने सरकारले तोकेभन्दा बढी शुल्क नलिएको जिकिर गर्दै आएको छ । कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले एमबिबिएसका लागि शैक्षिक शुल्क रु ४२ लाख तोकेको बताउनुभयो । 

    यसका अतिरिक्त आइओएमलाई जनाकारी गराएर परीक्षा शुल्क, इन्टर्नसिप शुल्क र समुदायमा जाँदा हुने खर्च गरी रु छ लाख मात्र अतिरिक्त शुल्क लिइएको उहाँको भनाइ छ । शुल्कका विषयमा विवाद भएपछि प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य संसदीय समितिले अध्ययनसमेत गरेको भन्दै उहाँले सो समितिले दिएको प्रतिवेदन र सुझावअनुसार अघि बढ्न आफूहरु तयार रहेको बताउनुभयो । 

    समितिले शैक्षिक शुल्कका अतिरिक्त कलेजले लिँदै आएको तीन शुल्कबाहेक रजिष्टे«शन, काउन्सिल शुल्क र सम्बन्धन शुल्क लिन पाउने उल्लेख गरेको भन्दै त्यसमा रहेर काम गर्न आफूहरु तयार रहेको प्राडा न्यौपानेले बताउनुभयो । अन्य सङ्कायमा सरकारले शुल्क निर्धारण गर्नुअघि कलेज स्वयंले निर्धारण गरेको शुल्क बढी भए पनि तोकेपछि भने बढी नलिएको न्यौपानेले जानकारी दिनुभयो । पुरानो शुल्क घटाउन नमिल्ने भन्दै नयाँ शुल्क सरकारले तोकेभन्दा बढी नलिइने बताउनुभयो । 

    कलेज बन्द हुँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको भन्दै उहाँले तत्काल आन्दोलन फिर्ता लिएर नियमित पठनपाठनमा सहयोग पु¥याउन आग्रह गर्दै आएको बताउनुभयो । नेपालमा हाल १८ वटा मेडिकल कलेज सञ्चालनमा रहेका छन् । सबै मेडिकल कलेजमा यस्ता समस्या भए पनि यहाँमात्र आन्दोलन भएको उहाँले बताउनुभयो । “सरकारले तोकेको शुल्कमा पढाउन तयार हुँदा अन्यत्र हुने हाम्रोमा मात्र आन्दोलन किन भइरहेको छ हामी अन्योलमा छौँ ?” न्यौपानेको प्रश्न छ । 

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast