बुधबार, असोज २९, २०७६
    कृषि-उर्जा

    माग बढेपछि कोदो खेती तर्फ किसान आकर्षित

    बुधबार, १ असोज २०७६, आहाखबर

    उदयपुर, १ असाेज ।

    विस्तारै काेदाेकाे माग बढ्न थालेपछि पछिल्लो समय लाेप हुँदै गएकाे काेदाे खेती बढ्दै गएकाे छ। सिँचाइको व्यवस्था नभएको सुक्खा क्षेत्रमा हुने कोदो खेती गर्ने किसानहरु बढ्दै गएका हुन्।

    खाद्य संस्कृतिमा चामलको भातले व्यापकता पाएको छ। अन्य खाद्यान्न बालीलाई हेला गर्ने, त्यस्ता बालीको खेती नगर्ने, खेती गर्नेले पनि मादक पदार्थ बनाउन वा नगदेबालीको रूपमा त्यसको उपयोग गर्न कोदो खेती गरिन्थ्यो।

    तर, पछिल्लो समय कोदोको माग सहरी क्षेत्रमा बढ्दै गएको छ। सहरमा कोदोमा माग बढ्दै गएपछि किसानले पनि मूल्य राम्रै पाउन थालेका छन्।  ‘पहिला पहिला कोदोबाट बनेका परिकार खानेहरु गरिब हुन्छन् भन्ने मान्यता थियो, कोदो खेती गर्नेहरु पनि मादक पदार्थ बनाउनेलाई मात्र बिक्री गर्दथ्ये,’ उदयपुरगढी गाउँपालिकाको उदयपुरगढीमा कोदो रोप्न हलो जोत्दै गरेका यादव राईले भने, ‘अहिले त कोदो किन्न सहरका ठूला व्यापारीहरु पनि आउने गर्दछन्। राम्रो पैसा दिएर पनि खरिद गरेर लाने गरेका छन्।’

    सरकारले पनि खाद्यान्न अपुग हुने स्थानमा राहतका लागि चामलबाहेक अन्य बालीको खाद्यान्न पठाउँदैन। नियमितरूपमा खाद्य संकट उत्पन्न हुने स्थानका बासिन्दाहरू पनि आफ्नो स्थानमा उब्जनी हुने खाद्यान्न बालीहरूको खेती नगरी सधैं सरकारले पठाउने चामलको बाटो हेरेर बस्थ्ये।  कोदोलाई कुअन्न भन्ने चलन छ।

    नेपालको तराई वा सिंचाइ पुगेको सीमित क्षेत्रमा मात्र उब्जनी हुने धानकै चामललाई मात्र खाद्यान्न भनिन्छ। त्यसैले कोदो खेती हराउँदै गएको थियो। तर, अन्य खाद्यान्नभन्दा कोदोमा धेरै गुण भएको थाहा पाएपछि यसको माग बढ्दै गएको छ। जसको कारण कोदो खेती पनि बढ्दै गएको छ। अन्य बालीभन्दा कोदीमा बढी पौष्टिक तत्व पाइन्छ। कोदोमा पाइने पौष्टिक पदार्थ र यसका औषधीय गुणहरूको प्रचारप्रसार भएपछि कोदोको खेती बढेको मयाँखुका शिक्षक तोकबहादुर श्रेष्ठ बताउँछन्।

    उदयपुरमा आर्थिक वर्ष आर्थिक वर्ष २०६५÷०६६ मा दुई हजार ७७५ हेक्टरमा कोदो खेती गरिएको थियो। जिल्ला कृषि विकास कार्यालय उदयपुरका प्रमुख सरोजकान्त अधिकारीका अनुसार आथिर्क वर्ष २०७४÷०७५ मा आइपुग्दा तीन हजार ५५५ हेक्टरमा खेती गरिएको छ।

    प्रमुख अधिकारीका अनुसार उदयपुरमा बर्सेनि ५० देखि १०० हेक्टरको दरले कादोखेती बढ्दै गएकोछ। ‘कोदोको परिकार खाँदा स्वास्थ्यमा फाइदा पुर्याउने थाहा पाएपछि यसको खेतीले व्यापकता पायो,’ उनले भने, ‘बजार माग पनि बढ्दयो, त्यसकारण कोदो खेती गर्ने किसानको संख्या बढ्दै गयो, क्षेत्रफल पनि विस्तार हुने क्रममा छ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast