सोमबार, कार्तिक ४, २०७६
    पर्यटन समाचार

    खराब मौसमले हवाई उडान प्रभावित हुँदा चार दिनदेखि पर्यटक अलपत्र

    बुधबार, १ असोज २०७६, आहाखबर

    काठमाडौं, १ असाेज ।

    खराब मौसमका कारण काठमाडौंलगायत मुलुकभरको हवाई उडान प्रभावित भएका छन् । मंगलबार बिहानैदेखि परिरहेको लगातारको वर्षाले मौसम बिग्रिएपछि केही समय काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान र अवतरण ठप्प  भएको थियो ।

    केही समय काठमाडौंको आकासमा विमान उडानका लागि आवश्यक भिजिबिलिटी नपुगेका कारण आन्तरिक र बाह्य उडानका धेरै विमानको सेवा प्रभावित भएको थियो । अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महानिर्देशक राजकुमार क्षत्रीले खराब मौसमका कारण मंगलबार दिउँसो केही समय काठमाडौंको हवाई प्रभावित हुन पुगेको बताए ।

    उनले न्यून भिजिबिलिटीका कारण हवाई सुरक्षाको दृष्टिले केही समय यस विमानस्थलमा विमान उडान र अवतरण बन्द भएको जानकारी दिए । उनले यस विमानस्थलबाट हुने उडान भने नरोकिएको बताए ।

    अवतरण बन्द भएपछि सो समय दिल्लीबाट आएको नेपाल वायुसेवा निगमको एउटा विमान र इन्डिगो एयरको विमान केही समय आकाशमै होल्ड गर्न बाध्य भएका थिए भने आन्तरिक उडानका विमानहरू पनि धेरै समय होल्डमै बस्न बाध्य भएका थिए ।

    आन्तरिक वायुसेवा प्रदायक कम्पनीहरूका अनुसार मंगलबार बिहानैदेखि बिग्रिएको खराब मौसमका कारण निर्धारित अधिकांश आन्तरिक उडान रद्द र डिले भएका थिए ।

    सो समय सोलुखुम्बुको लुक्लाबाट काठमाडाैं आउँदै गरेको चारवटा हेलिकोप्टरसमेत काठमाडौंको आकाश सफा नभएकाले केही समय काभ्रेको पाँचखालमा आकस्मिक अवतरण गराइएको थियो । यसैगरी, लुक्लाबाट काठमाडाैं आउँदै गरेको पर्यटक सवार तीनवटा हेलिकोप्टर सिन्धुलीमा आकस्मिक अवतरण गराइएको थियो ।

    सोमबार साँझदेखि लगातार परेको वर्षाले मौसम बिग्रिएपछि मंगलबार काठमाडौंको हवाई सेवा नराम्रोसित प्रभावित भएको हो । खराब मौसमले मंगलबार काठमाडाैंबाट मुलुकभरका विभिन्न स्थानमा जाने र आउने आन्तरिक उडानमा निकै प्रभाव परेको थियो ।

    मंगरबार दिउँसो आन्तरिक उडानमा सञ्चालित वायुसेवा कम्पनीहरूको अधिकांश उडान प्रभावित भएको थियो । अनुकूल मौसम भएका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक ७० भन्दा बढी अन्तर्राष्ट्रिय र करिब ३ सयभन्दा बढी आन्तरिक उडान–अवतरण हुने गरेको थियो ।

    यसैबीच, पर्यटक सवार सात हेलिकोप्टर काभ्रे र सिन्धुलीमा आकस्मिक अवतरण गराइएको थियो । खराब मौसमकै कारण मंगलबार सोलुखुम्बुको लुक्लाबाट पर्यटक बोकेर काठमाडौं आउँदै गरेका सातवटा हेलिकोप्टरलाई काभ्रेको पाँचखाल र सिन्धुलीको नेपालथोकमा आकस्मिक अवतरण गराइएको विमानस्थल कार्यालयले जनकारी दिएको छ ।

    विगत चार दिनदेखि सोलुखुम्बुमा अलपत्र पर्यटक लिएर काठमाडाैं आउँदै गरेका विभिन्न कम्पनीका आठवटा हेलिकोप्टरमध्ये सातवटाले मौसम खराब भएपछि काभ्रेको पाँचखाल र सिन्धुलीको नेपालथोकमा आकस्मिक अवतरण गराएका हुन् ।

    अर्को एउटा हेलिकोप्टर रामेछापमा आकस्मिक अवतरण गराइएको थियो । यसरी आकस्मिक अवतरण गराउनेमा कैलाश, मनाङ र सिम्रिक एयरका हेलिकोप्टर रहेका छन् । उनीहरूले पाँचखाल–५ को जोरपाटी भन्ने ठाउँमा तीनवटा र होक्से भन्ने ठाउँमा एउटा हेलिकोप्टर बिहान ८ बजे आकस्मिक अवतरण गराएका थिए ।

    विमानस्थल कार्यालयका अनुसार बिहान सोलुखुम्बुबाट उडेका कुल आठमध्ये चारवटा काभ्रेमा र तीनवटा सिन्धुलीको नेपालथोकमा आकस्मिक अवतरण गराइएको थियो । मौसमअनुकूल भएपछि आकस्मिक अनतरण गराइएका हेलिकोप्टर काठमाडांै ल्याइएको थियो । खराब मौसमकै कारण विगत चारदिनदेखि लुक्लाबाट विमान उड्न नसकेपछि त्यहाँ रहेका करिब तीन सय जनाभन्दा बढी पर्यटक अलपत्र परेका थिए । अलपत्र परेका पर्यटकको उद्धारका लागि अहिले धमाधम हेलिकोप्टर लुक्ला पुगेका छन् ।

    नेपाल वायुसेवा सञ्चालक संघका अनुसार दिउँसो एक बजेसम्म आठवटा हेलिकोप्टर काठमाडौं आउन नसक्दा बीच बाटैमा आकस्मिक अवतरण गरिएको थियो । सो समय सिम्रिक, अल्डिच्युड, कैलाश, मनाङ, फिस्टेल र श्रीएयरको होलिकोप्टर काभे, सिन्धुली र रामेछापका विभिन्न स्थानमा अवतरण भएका थिए । मौसम अनुकूल भएपछि विभिन्न ठाउँमा आकस्मिक अवतरण भएका सबै हेलिकोप्टर काठमाडाैं आएको संघले जनाएको छ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast