मंगलवार, कार्तिक ५, २०७६
    बैंक-बीमा

    ६५ वर्ष कटेपछि गभर्नर र बैंक संचालक बन्न नपाउने

    बुधबार, १ असोज २०७६, आहाखबर

    काठमाडाैं, १ असाेज ।

    अब ६५ वर्ष उमेर कटेका मानिस बैंकका संचालक तथा गभर्नर बन्न नपाउने भएका छन् । बैंक तथा वित्तीय संस्थासम्वन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संचालकको अयोग्यताका विषयमा यो उमेर हदको व्यवस्था गरिन लागेको हो।

    सरकारले संसदमा प्रस्तुत गरेको बैंक तथा वित्तीय संस्थासम्वन्धी ऐनको दफा १८ को उपदफा १ 'क'मा यो व्यवस्था थप गर्ने प्रस्ताव गरिएको छ।

    यद्यपी सो विधेयक संसदमा छलफल हुने क्रममा छ। संसदबाट विधेयक हुबहु वा संशोधनसहित पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण हुनेछ। प्रमाणीकरणपछि राजपत्रमा सूचना जारी गरी नयाँ व्यवस्था लागू हुनेछ।

    हाल बैंकको संचालकका लागि २५ वर्ष नपुगेको व्यक्ति अयोग्य हुने व्यवस्था रहे पनि अधिकतम उमेर हद तोकिएको छैन। यद्यपी साउन २० गते राष्ट्र बैंकले निर्देशनमार्फत ७० वर्ष कटेपछि संचालक बन्न नपाउने व्यवस्था गरेको थियो।

    तर सर्वोच्च अदालतले साउन २८ गते उमेर तोक्ने निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश दिएपछि सो निर्देशन कार्यान्वयनमा आउन सकेको छैन। अब भने यसलाई ऐनमै व्यवस्था गरिने भएको हो।

    त्यस्तै राष्ट्र बैंक ऐन २०५८ लाई संशोधन गर्न बनेको विधेयकमा गभर्नरसहित उच्च पदस्थ व्यक्तिको पनि उमेर हद तोकिएको छ। सो ऐनको संशोधन विधेयकमा दफा २१ मा गभर्नर, डेपुटी गभर्नर तथा संचालकको अयोग्यताका लागि उमेर हद तोकिएको छ।

    अब न्यूनतम ३५ वर्ष पुरा नभएका र ६५ कटेकाहरु गभर्नर, डेपुटी गभर्नर तथा संचालक बन्नका लागि अयोग्य हुने छन्। यसअघि अयोग्यतामा उमेरहदको विषय तोकिएको थिएन।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast