मंगलवार, कार्तिक ५, २०७६
    स्कुल-कलेज

    ४० दिनपछि खुल्यो काठमाडौं विश्वविद्यालयको ताला

    मंगलवार, ३१ भाद्र २०७६, आहाखबर

    काठमाडाैं, ३१ भदाै ।

    काठमाडौं विश्‍वविद्यालयको ताला ४० दिनपछि खुलेको छ। विश्वविद्यालय ऐन, नियम र पद्धतिबाट सञ्चालन हुनुपर्ने, आर्थिक तथा नीतिगत अनियमिततालाई नियन्त्रण गर्न र प्राध्यापक र कर्मचारीको वृत्ति-विकास सम्बन्धी माग राखेर प्राध्यापक संघ र कर्मचारी संघले कार्यालय बन्द गरेका थिए ।

    काठमाडौं विश्‍वविद्यालय प्राध्यापक संघ तथा कर्मचारी संघ र विश्‍वविद्यालय बीच सम्झौता भएपछि सोमबार उक्त ताला खोलिएको हो। वार्ताका लागि विश्‍वविद्यालय कार्यकारी परिषदले अधिकार सम्पन्न समिति बनाएको थियो। सोमबारको वार्तामा चार बुँदे सहमति भएको छ।

    विश्‍वविद्यालको कार्यकारी परिषदले माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएको छ। काठमाडौं विश्‍वविद्यालय प्राध्यापक संघका सभापति वेदमणि दाहालले कार्यकारी समितिले संघका माग सम्बोधन गर्ने सहमति जनाएकाले ताला खोलिएको बताए। ‘परिषदले संघलाई विश्‍वास दिलाएको छ, विश्वास कायम रहोस् भन्ने चाहान्छौँ,’ दाहालले भने।

    काठमाडौं विश्‍वविद्यालय प्राध्यापक संघ र कर्मचारी संघले विश्‍वविद्यालयभित्र नीतिगत भ्रष्टाचार अन्त्य गर्नुपर्ने, विश्‍वविद्यालयका गतिविधिमा पारदर्शिता ल्याउनुपर्ने, विश्वविद्यालयका संघ–संगठनलाई मान्यता दिनुपर्ने माग राखेर तालाबन्दी गरेको थियो।

    त्यसैगरी, कर्मचारीको वृद्धि विकासलाई दृष्टिगत गर्दै विभिन्न किसिमका तालिम तथा प्रशिक्षणको व्यवस्था गर्नुपर्ने, कर्मचारीको सेवासुविधामा ध्यान दिनुपर्ने, विश्‍वविद्यालयको पढाईको स्तरमा सुधर गर्नुपर्ने लगायतका विभिन्न माग राख्दै साउन २३ गतेदेखि तालाबन्दी गरिएको थियो।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast