सोमबार, कार्तिक ४, २०७६
    पर्यटन समाचार

    पर्यटकीय सिजनको मुखैमा डेंगु त्रास

    मंगलवार, ३१ भाद्र २०७६, आहाखबर

    काठमाडौं, ३१ भदौ । 
    पर्यटनमा सेप्टेम्बरदेखि नोभेम्बरसम्मको अवधिलाई मुख्य सिजन मानिन्छ। मौसम अनुकूल हुने हुँदा यो बेला नेपाल घुम्न आउने विदेशी पर्यटकको चाहना हुन्छ। तर, मुख्य सिजनको सुरुमै पोखरामा डेंगु संक्रमण डरलाग्दो रुपमा फैलिइरहेको छ। 

    पोखरामा अहिलेसम्म १४ सयभन्दा बढी सर्वसाधारण डेंगुबाट संक्रमित भइसकेका छन्। विदेशी नागरिक संक्रमित भएको घटना सार्वजनिक नभए पनि संक्रमणको जोखिम भने उत्तिकै रहेको चिकित्सकले बताएका छन्। एकजना विदेशी नागरिकलाई डेंगी लाग्यो भने समग्र पर्यटन क्षेत्रमा मार पर्ने व्यवसायीको चिन्ता छ।

    सिजनको मुखमा फैलिएको डेंगुले विदेशी पाहुनालाई नेपाल आउनैबाट रोक्ने हो कि भन्ने चिन्ता उनीहरुमा छ। नेपाल आएका र आउने तयारीमा रहेका कतिपय विदेशीले पोखरामा फैलिएको डेंगुबारे चिन्ता जनाउन थालेको व्यावसायीको भनाइ छ। पोखरामा डेंगुको जोखिम कत्तिको र कुन अवस्थामा छ भनेर पाहुनाले होटलमा सोधखोज गर्न थालेका छन्।

    केही दिनअघि स्विजरल्यान्डका दुईजना प्राध्यापक एउटा सम्मेलनमा भाग लिन नेपाल आउँदै थिए। उनीहरु काठमाडौं र पोखरा घुम्ने तालिका थियो। नेपाल आउनुअघि उनीहरुले डेंगुबारे पर्यटन व्यवसायीसँग सोधखोज गरेका थिए। ‘डेंगुको अवस्था सामान्य छ भने पनि ती प्राध्यापक काठमाडौंमा आएर कार्यक्रममा सहभागी भएर फर्किए,’ होटल व्यवसायी धर्मराज पन्थीले भने, ‘उनीहरुले पोखरा आउने कार्यक्रम रद्द गरे।’ उनका अनुसार नेपाल आउने विदेशी डेंगुबारे निकै नै चिन्तित छन्। यसले पर्यटन क्षेत्रमा त्रास फैलाएको उनले बताए।

    ‘डेंगु  संक्रमणबारे पर्यटकले चिन्ता जनाएका छन्। वास्तविक अवस्था के हो भनेर सोध्न थालेका छन्,’ टेम्पल ट्री रिसोर्टका म्यानेजर कृष्ण आचार्यले भने, ‘संक्रमणकै त्रासका कारण कोही पाहुनाले अहिलेसम्म बुकिङ रद्द नगरे पनि उनीहरु सशंकित भने छन्।’ नेपालभर फैलिएको डेंगीको संक्रमणबारे विदेशी सञ्चारमाध्यममा खबर फैलिएकोले पनि विदेशी पर्यटक नेपाल आउन डराएको उनले बताए। सिजनको मुखैमा फैलिएको प्रकोपले विदेशी पाहुनालाई संक्रमण बनायो भने समग्र पर्यटकीय सिजनलाई नै मार पर्ने उनले बताए।नागरिकबाट

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast