सोमबार, कार्तिक ४, २०७६
    अध्यात्म चर्चा

    सोह्र श्राद्ध : श्राद्ध नगरे के हुन्छ ? यस्तो छ शास्त्रीय मान्यता

    आईतवार, २९ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, २९ भदौ 

    प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु भएको छ । 

    भाद्रशुक्ल पूर्णिमाको दिन पूर्णिमा तिथिको श्राद्ध गरी यसपछि आश्विन कृष्ण पक्षका १५ दिन क्रमशः प्रतिपदादेखि अमावस्या (औंसी)सम्म तिथिअनुसार श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो । पर्व तिथिका अवसरमा गरिने श्राद्ध भएकाले यसलाई पारवन वा महालय श्राद्ध पनि भनिन्छ । 

    पितृहरूलाई प्रसन्न पार्न तथा जानेर वा नजानेर पितृहरूको अनादर भएको छ भने उनीहरूप्रति कृतज्ञता व्यक्त गर्ने तथा क्षमा माग्नका लागि यो श्राद्ध गर्ने धार्मिक चलन छ ।

    पितृहरु दिवंगत दिवंगत भएको वार्षिक तिथिमा, औंशीको दिनमा विशेष गरेर पितृका नाममा दान गर्ने, तर्पण दिने, पूजा गर्ने, यज्ञ गर्ने धार्मिक चलन छ । पितृप्रति श्रद्धा प्रकट गर्नका लागि हिन्दु संस्कारमा सोह्र श्राद्धको निकै महत्व छ ।

    सोह्र श्राद्धको अवधिभर घरमा तामसी भोजन माछामासु वा कुनै मादक पदार्थको सेवन गर्न नहुने र मांगलिक तथा शुभ काम गर्न पनि बर्जित छ ।

     

    कसको श्राद्ध कहिले ?

    हुन त दिवंगत पितृलाई सम्झनका लागि कुनै विशेष दिन नै कुर्नुपर्छ भन्नै छैन । यद्यपि हाम्रो हिन्दू संस्कारले केही तिथि भने पितृप्रति श्रद्धा कायम राख्नका लागि उनीहरुका नाममा दान, धर्म र कर्म  गर्ने विशेष अवसर जुटाइदिएको छ ।

    सोह्र श्राद्धमा प्रत्येक तिथिका दिन मानिसहरू आफ्ना पूर्वजहरूको मृत्यु तिथिअनुसार श्राद्ध गर्छन् ।  जसलाई पूर्वजको मृत्यु तिथि थाहा हुँदैन उनीहरूले सर्वपितृ मोक्ष अमावस्याका दिन अर्थात् आश्विन कृष्ण पक्षको औंसी तिथिमा श्राद्ध गर्छन् ।

    पञ्चमी तिथिमा अविवाहित स्थितिमा मृत्यु भएकाहरुको श्राद्ध गरिन्छ । नवमी तिथि माताको श्राद्धका लागि उत्तम मानिन्छ । यस तिथिमा श्राद्ध गर्नाले कुलका सबै दिवंगत महिलाहरूको श्राद्ध सम्पन्न हुन्छ भन्ने विश्वास गरिन्छ ।

    एकादशी एवं द्वादशी तिथिका दिन परिवारका ती व्यक्तिहरूको श्राद्ध गर्ने विधान छ जसले सन्यास लिएका छन् । चतुर्दशी श्राद्ध अकाल मृत्यु भएकाहरुका लागि गरिन्छ ।

    प्रतिपदा तिथि मावलीका बाजेबज्यैको श्राद्धका लागि उत्तम मानिन्छ । यदि मावलीको परिवारमा श्राद्ध गर्ने व्यक्तिको अभाव छ र तिनको मृत्युतिथि पनि थाहा छैन भने यस तिथिका दिन श्राद्ध गर्नाले तिनको आत्मालाई शान्ति प्राप्त हुन्छ भन्ने मान्यता छ ।

    विशेषगरी बुवा वा हजुरबुवाको मृत्यु तिथि पारेर श्राद्ध गर्ने चलन छ । यसमा सामान्य आफ्नो कुलका तीन पुस्ता अर्थात् बुवा, हजुरबुवा र बुढो हजुरबुवा तथा मावलीतर्फ तीन पुस्ता अर्थात् मावली हजुरबुवा, बुढो हजुरबुवा र कुप्रो हजुरबुवालाई पत्नीसहित पिण्ड प्रदान गरिन्छ ।

    तर्पण भने आफू शास्त्रले निर्देश गरेबमोजिम सबैलाई दिइन्छ । पितृपक्षमा प्रतिपदादेखि औंसीभित्र आफ्ना पितृकुलका तीन पुस्ताभित्रकै पुण्य तिथिमा महालय श्राद्ध गर्नुपर्ने हो, तर यस पक्षको चतुर्दशी तिथि र संयोगवश मघा नक्षत्र परेमा श्राद्ध नगर्नु भन्ने शास्त्रीय मान्यता पाइन्छ ।

     

    के गर्ने, के नगर्ने ?

    श्राद्धभन्दा एकदिन अगाडि नङ, कपाल आदि काटी एकछाक मात्र सात्विक भोजन गरी चोखोनीतो गर्नु पर्दछ । श्राद्धको एक दिन अगाडिको दिनलाई ‘एकछाकी’ भन्ने गरिन्छ । श्राद्धका दिन तथा सोह्रश्राद्धको पूरा अवधिभर घरमा तामसी भोजन माछामासु, मदिरा वा कुनै मादक पदार्थको सेवन र संसर्ग गर्नु हुँदैन । त्यस्तै मुसुरीको दाल, लौका, चिचिन्डो, बैगुन, लसुन, प्याज, कोदो, तीते फापर लगायतका खाद्यवस्तुहरुको प्रयोग गर्नु हुँदैन ।

    त्यस्तै हलो जोत्नु, कोदालो खन्नु, दाउरा काट्नु, नाचगान गर्नु आदि पनि निषेध गरिएको छ । एकछाकी र श्राद्धका दुवै दिन आकस्मिक रूपमा धनप्राप्त हुने कुनै पनि लाभमूलक काम गर्नुहुँदैन । उक्त दुवै दिन शरीरमा सुन, तेल र साबुनको संसर्ग गर्नु हुँदैन ।

    पूर्ण ब्रहृमचार्यको पालना गर्नुपर्दछ । दिउँसो सुत्नु वा निदाउनु हुँदैन, अनि राति पनि भुइँमा एकसरो ओछ्यान लगाएर शयन गर्नुपर्दछ । यसैगरी यस अवधिभर कुनै देवस्थल दर्शन गर्न नजाने परम्परा रहेको छ ।

    पद्म पुराण तथा मनुस्मृतिका अनुसार श्राद्ध देखाउनका लागि गर्ने होइन, गुप्त रूपमा गर्नुपर्छ भन्ने छ । धनी छ भने पनि श्राद्धमा धेरै खर्च र देखावटी नगर्नू अनि भोजनको माध्यमबाट मित्रता र सामाजिक तथा व्यापारिक सम्बन्ध स्थापित नगर्नु, श्राद्धको दिन घरमा दही नमथ्नु, श्राद्धकै दिन कपाल नकाट्नु भनिएको छ ।

    महाभारतका अनुसार भन्टा, गाजर, मुसुरोको दाल, रहर, लौका, हिङ, प्याज, लसुन, बीरे नून, जामुन, सुपारी, सरस्युँ र चनाको प्रयोग निषिद्ध छ । पितृपक्षमा कुनै पनि मांगलिक तथा शुभ काम गर्न वर्जित छ । यतिखेर इनार वा कुवा निर्माण, देव प्रतिष्ठा वा कुनै प्रयोजनका लागि व्रत, उत्सव, उद्यापन र वधू प्रवेश लगायतका कार्य गर्नु हुँदैन ।

    घरमा रंग लगाउन, नयाँ कपडा किन्न, घर सर्ने, विवाह गर्ने र विवाहको कुरा झिक्नसमेत वर्जित छ । भूमि पूजन, इनार पूजा, सन्यास ग्रहण, व्यापारको श्रीगणेश आदि श्राद्धपक्षमा गर्नु हुँदैन ।

    श्राद्धमा प्लास्टिक, स्टील र फलामका भाँडाकुँडाको प्रयोग गर्नु हुँदैन । त्यस्तै केराको पात पनि चलाउनु हुँदैन । कर्ताको सामर्थ्यअनुसार श्राद्धमा सुन, चाँदी, काँस वा तामाका पात्र अथवा सालको पातले बनेका दुना टपरीको प्रयोग गर्न सकिन्छ ।

     

    यस्ता छन् धार्मिक विधि

    पितृपक्ष सूर्य दक्षिणायन भएको बेलामा पर्दछ । शास्त्रबमोजिम सूर्यले यस समयमा सन्ततिले श्राद्ध गरी तृप्त भएका पितृहरूको आत्मालाई मुक्ति प्रदान गर्दछन् । त्यसैले पनि पितृहरू आफू दिवंगत भएको तिथिका दिन आफ्ना सन्ततीहरूबाट आफ्नो उद्धारको आकंक्षा राखी पिण्ड र तर्पणको आशा गर्दछन् । त्यसैले प्रत्येक सन्ततिले आफ्ना दिवंगत भएका मृत पितृहरूलाई उद्देश्य गरी श्राद्धादि कर्म गर्ने गर्दछन् ।

    पितृपक्षमा गरिने श्राद्ध दिनको तेस्रो पहरमा गर्नु पर्दछ । तैत्तिरीय संहितामा बताइएअनुसार सृष्टिको प्रारम्भमा पूर्व, पश्चिम र उत्तर दिशा क्रमशः देवता, मनुष्य र रुद्रदेवलाई प्रदान गरिएको थियो । अनि दक्षिण दिशा पितृहरूको भागमा पर्यो । त्यसैले पितृहरूको श्राद्ध र पूजादि सदैव दाहिने काँधमा जनै भिरेर दक्षिण दिशातर्फ फर्किई गर्नुपर्दछ ।

    कुनै पनि श्राद्धमा गंगाजल, दूध, मह, तोरीको साग, छोरीको छोरो, कुश र तिल महत्वपूर्ण मानिन्छन् । यसबाहेक श्राद्धमा प्रयोग गरिएको तुलसीको मञ्जरीबाट पितृगण प्रसन्न रहन्छन् भन्ने गरिन्छ र पिण्डको भित्री भागमा तुलसीको मञ्जरी लुकाउने चलन पनि छ । यसरी मञ्जरीको उपयोग गरेमा पितृगण गरुडमा सवार भई सीधै विष्णुलोक पुग्दछन् भन्ने मान्यता छ ।

    प्रत्येक गृहस्थीले नियमित श्राद्ध सम्भव भएसम्म घरैमा गर्नु पर्दछ । बन्धुबान्धव र सगोत्रीको स्वामित्व भएको घर वा कोठाचोटामा श्राद्ध गर्दा फरक पर्दैन । तर अर्काको घर वा डेरामा श्राद्ध गर्दा पितृ अप्रसन्न हुनेमात्र होइन, तिनको शक्ति र सामर्थ्यमा पनि कमी आउँछ भन्ने शास्त्रीय मान्यता रहेको छ । त्यसैले खासगरी सहरी क्षेत्रमा अरूको स्वामित्वको घरमा डेरा गरी बस्ने श्राद्धकर्ताले श्राद्ध र तर्पणादि कार्य सकेसम्म नजिकको तीर्थक्षेत्र वा मन्दिरमा गई गर्नु उपयुक्त हुन्छ । मन्दिर वा तीर्थक्षेत्र पनि नजिकै छैन भने भुइँमा आँगनमा बनाइएको तुलसीको मठ छ भने गृहमालिकको स्वीकृति लिई त्यहाँ श्राद्ध गरेमा दोष लाग्दैन ।

    श्राद्धमा रातो रङको कुनै पनि वस्तुको प्रयोग निषेध गरिएको छ । यसमा तुलसी, भृङ्गराज, सयपत्री, अगस्त्यपुष्प आदि फूलहरू ग्राहृय मानिन्छन् । केत्तकी, करवीर, बकुल, कुन्दक र रातो रङका अन्य फूलहरू प्रयोग गर्नु हुँदैन ।

    जसको जन्मकुण्डलीमा सूर्य र राहु वा केतु ग्रहको युतिसम्बन्ध छ  त्यस्तो व्यक्तिलाई पितृदोष रहेको छ भन्ने गरिन्छ । यसबाहेक नीच सूर्य, शनिबाधित सूर्य वा शनिको घरमा रहेको सूर्य हुँदा पनि पितृदोष नै ठहर्याउने गरिन्छ । यसरी पितृदोष हुँदा टाउको वा दिमागी बिमारी, निर्णय क्षमतामा कमी, धन नटिक्ने, उन्नतिप्रगतिमा रोकावट आदि विभिन्न बाधा ब्यहोर्नु पर्ने हुन्छ । 

    पितृपक्षमा श्राद्धकर्मद्वारा पूर्वजहरूलाई दिवंगत भएको तिथिअनुसार पिण्डदान, तर्पण आदि गर्नाले पितृदोषबाट मुक्ति पाइन्छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast