सोमबार, असोज २७, २०७६
    यातायात

    केरुङ–रक्सौल रेलको चर्चा मात्रै

    आईतवार, २९ भाद्र २०७६, आहाखबर

    काठमाडौं, २९ भदौ । 
    काठमाडौंसँग केरुङ र रक्सौल जोड्ने रेलको धेरै चर्चा भयो । जति चर्चा भए पनि दुवै रेलको अहिलेसम्म विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) हुन सकेको छैन । यसै साता आएका चिनियाँ विदेशमन्त्री वाङसँग काठमाडौं–केरुङ रेलबारे छलफल हुने अपेक्षा गरिएको थियो । तर त्यसबारे छलफल भए/नभएको सार्वजनिक गरिएको छैन ।

    केही समयअघि भारतीय विदेशमन्त्री एस जयशंकर आउँदा भने काठमाडौं–रक्सौल रेलबारे कुरा उठेको थियो । यसबारे छलफल राम्रै भएको रेल विभागका महानिर्देशक बलराम मि श्र बताउँछन् । उनका अनुसार काठमाडौं–रक्सौल रेल विस्तार गर्नेबारे सहमतिसमेत भएको थियो ।

    ‘चिनियाँ विदेशमन्त्री आउँदा परराष्ट्रमन्त्रीले रेलबारे सामान्य कुरा भयो भन्ने कुरा समाचार पढेर थाहा पाएँ,’ महानिर्देशक मि श्रले भने, ‘तर, हाम्रो मन्त्रालयदेखि विभाग सम्मलाई कुनै बैठकमा बोलाइएन, त्यही भएर केरुङ जोड्ने रेलबारे छलफल भएको कुरा थाहा पाउन सकिएन ।’ उनले अहिले छलफलको विषय नबने पनि उच्च तहबाटै यसबारे छलफल हुने दाबी गरे । काठमाडौं–केरुङ रेलको डीपीआर गर्नेबारे छलफल हुने अपेक्षा विभागको थियो ।

    ‘डीपीआर गर्ने अहिले कुरै भएन,’ महानिर्देशक मि श्रले भने, ‘उच्च राजनितिक तहबाटै यसबारे निर्णय होला, अक्टुबरमा चिनियाँ राष्ट्रपति सी जिन पिङ नेपाल आउने कुरा छ, त्यही बेला केही होला भन्ने अपेक्षा गरेका छौं ।’ यता काठमाडौं–रक्सौल रेलको भने डीपीआर गर्न भारत तयार भएको छ । ‘नेपाल सरकारले अनुरोध गरे डीपीआर अघि बढाउन भारत तयार रहेको जानकारी पाएका छौं,’ उनले भने, ‘डीपीआर तयार गर्ने सबै काम भारतले गर्नेछ ।’ यसको प्रारम्भिक अध्ययन भइसकेको छ ।

    यसको अध्ययन भारतको कोन्कोर रेलवेज कर्पोरेसन लिमिटेडले गरेको थियो । कोन्कोरले सेप्टेम्बर ४ मा प्रारम्भिक अध्ययन सकेर प्रस्तुतीकरणसमेत गरिसकेको छ । ‘डीपीआर गर्ने आशय भारतले देखाएको छ,’ उनले भने, ‘भारत सरकारलाई नेपाल सरकारले अनुरोध यो काम चाँडै सुरु हुने थियो ।’ काठमाडौं–रक्सौल रेल गुडे मुलुकमा आर्थिक क्रान्ति हुने उनले दाबी गरे । रेल सञ्चालनमा आएपछि यात्राको दूरी छोटिनेछ ।

    वीरगन्जको रक्सौलस्थित सुक्खा बन्दरगाह (ड्राईपोर्ट) सम्म रेल चल्छ । त्यहाँबाट रेललाई काठमाडौं जोड्न खोजिएको हो । यसको दूरी १४० किमि रहनेछ । ‘यो वीरगन्जको सिर्सिया ड्राईपोर्टबाट बाराको जितपुर आउँछ, त्यहाँबाट निजगढ फास्टट्र्याक छेउछाउ हुँदै काठमाडौं आइपुग्नेछ ।’ उनले भने । ठाउँठाउँमा सुरुङ बन्नेछ । यसका लागि ३ खर्ब रुपैयाँ अनुमान गरिएको छ ।

    त्यस्तै काठमाडौं–केरुङ रेलमार्ग निर्माण गर्दा भने ९८ प्रतिशत पहाड छेडेर काम गर्नुपर्ने हुन्छ । यो चाइना जोड्ने रेलमार्ग हो । चीनको सीमासम्म रेल आइसकेको छैन । चीनको सिगात्सेसम्म मात्र छ । ‘त्यहाँबाट पनि हाम्रो सीमासम्म आउन ३/४ सय किमि बाँकी छ ।’ उनले भने । रसुवागढीबाट काठमाडौं ७२ किमि छ । प्रारम्भिक सर्भे भइसकेको छ ।

    अर्कोतर्फ काठमाडौं–पोखराको पनि अध्ययन भइरहेको छ । काठमाडौं–पोखरा १६३ दशमलव ५ किमि रहेको छ । जयनगर–जनकपुर–कुर्थासम्म गुड्ने दुई सेट रेल कोन्कोर रेलवेले नोभेम्बर १५ मा उपलब्ध गराउने जानकारीसमेत गराएको महानिर्देशक मिश्रले बताए । कान्तिपुरबाट

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast