सोमबार, असोज ६, २०७६
    राज्य-समाज

    ‘समाजलाई अराजकतातर्फ जान नदिन महिलाको भूमिका महत्वपूर्ण’

    बिहिवार, २६ भाद्र २०७६, आहाखबर
    काठमाडौँ, २६ भदौ
     
    सभामुख कृष्णबहादुर महराले समाजलाई अराजकतातर्फ जान नदिनका लागि महिलाको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । सञ्चारिका समूहले आज आयोजना गरेको ‘२३ औँ वार्षिकोत्सव तथा साधारणसभा’ कार्यक्रममा उहाँले हिजोको जस्तो एकअर्कासँग निकट सम्बन्ध नभएर अहिले समाज व्यापक बन्दै गएकाले समाजमा विभिन्न खालका विकृति देखिन थालेको बताउनुभयो ।
     
    आफूले नेतृत्व गरेको सङ्गठनका अनुभवका आधारमा महिलाले कुनै पनि क्षेत्रमा रहेको विकृति हटाउन योगदान गर्नसक्ने देखिएको उहाँको भनाइ छ । पत्रकारिताको सुदृढीकरणमा महिला पत्रकारको भूमिका रहेको उहाँले औँल्याउनुभयो । उहाँले भन्नुभयो, “पत्रकारितालाई स्वस्थ, व्यवस्थित र मर्यादित बनाउन महिला पत्रकारको भूमिका रहेको छ ।”
     
    नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष विपुल पोखरेलले पत्रकार महासङ्घले नियमितरुपमा मिडियामैत्री कानून निर्माणका लागि सरकारलाई दबाब दिइरहेको बताउनुभयो । पत्रकार बबिता बस्नेतले नयाँ र ‘मिड करियर’ पत्रकारको आफ्ना सहकर्मीसँग प्रतिष्पर्धा भए पनि पुरानाको आफैँसँग प्रतिष्पर्धा हुने गरेको औँल्याउनुभयो ।
     
    समूहका पूर्वअध्यक्ष निर्मला शर्माले समूहले विगतदेखि नै महिलाका मुद्दा मूलप्रवाहीकरण गर्दै आएको बताउनुभयो । सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष सुवास खतिवडाले जिल्ला जिल्लाका रेडियोहरुमा महिला पत्रकार सक्रियरुपमा सूचना सम्प्रेषणको काममा लागिरहेको बताउनुभयो । समूहकी अध्यक्ष नितु पण्डितले समूहका प्रदेश र जिल्लास्तरमा सङ्गठन विस्तार भइरहेको र तीनले त्यस क्षेत्रमा सक्रियरुपमा काम गरिरहेको बताउनुभयो ।
     
    समूहले हिमाल खबर पत्रिकामा प्रकाशित लेखका लागि पत्रकार रामु सापकोटालाई सञ्चारिका समानता पुरस्कार प्रदान गरेको छ । एक वर्षभर राजधानीका पत्रिकामा प्रकाशित लेखहरुबाट छनोट गरेर महिलासम्बन्धी उत्कृष्ट लेखलाई पुरस्कृत गरिँदै आइएको समूहले जनाएको छ । यस वर्ष उमासिंह पत्रकारिता पुरस्कारबाट पर्साकी पत्रकार माधुरी महतो पुरस्कृत हुनुभएको छ । यस वर्षको सञ्चारिका प्रोत्साहन पुरस्कारबाट पार्वती थापामगर र सुष्मा बराइलीले प्राप्त गर्नुभएको छ । 
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast