बुधबार, असोज १, २०७६
    राज्य-समाज

    समितिमा चर्काचर्की : विदेशी बुहारीलाई बिहेको १५ वर्षपछिमात्रै नागरिकता !

    बुधबार, २५ भाद्र २०७६, आहाखबर

    काठमाडौं, २५ भदौ । 

    सत्तारुढ दलका केही सांसदले बिबाह गरेर नेपाल आउने विदेशी महिलालाई नागरिकता दिन कडा प्रावधान राखिनुपर्ने माग गरेका छन् । 

    सत्तारुढ दलका केही सांसदले कडा प्रावधान राख्नुपर्ने धारणा राखेपनि  प्रतिपक्ष दल र मधेस केन्द्रीत दलका सांसदले भने वैबाहिक अङ्गीकृत नागरिकता दिन कडा प्रावधान राख्न नहुने धारणा राखे । 

    बुधबारको संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा वैवाहिक अङ्गीकृत नागरिकता दिनेबारेको छलफलमा सांसदहरुबीच यसबारे विवाद उत्पन्न भएपछि बैठक बिनानिष्कर्ष सकिएको छ । 
     
    छलफलका क्रममा सांसदहरुबीच चर्काचर्की नै हुन पुगेको थियो । 

    छलफलमा भाग लिँदै नेकपा सांसद झपट रावलले विदेशी महिलाले नेपालमा विहे गरेर आएको १० देखि १५ वर्षपछि मात्रै वैबाहिक अङ्गीकृत नागरिकता दिनुपर्ने धारणा राखे । 

    भारत, बंगलादेश, भुटान, पाकिस्तान, माल्दिभ्सलगायतका देशको उदाहरण दिँदै उनले नेपालमा मात्रै एक हातमा सिन्दुर र अर्को हातमा नागरिकता दिनेखालको व्यवस्था गर्न नसकिने बताए । 

    उनले माल्दिभ्समा त धर्म नै परिवर्तन नगरेसम्म विदेशी बुहारीले नागरिकता पाउन नसक्ने व्यवस्था रहेको उल्लेख गर्दै भुटानमा पनि बच्चा जन्माएपछि मात्रै नागरिकता दिने व्यवस्था भएको दृष्टान्त पेश गरे । उनले भने, ‘एक हातमा सिन्दुर अर्को हातमा नागरिकता दिने काम गर्नु हुँदैन । कम्तिमा पनि बिहे भएको १० देखि १५ वर्षपछि मात्रै वैवाहिक अङ्गीकृत नागरिकता दिने प्रावधान राखिनुपर्छ ।’ 

    यस्तै नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले पनि कम्तिमा पनि १५ वर्षपछि मात्रै नागरिकता दिने व्यवस्था गरिनुपर्ने धारणा राखे ।  उनले भारतमा समेत ७ वर्षको व्यवस्था रहेको उल्लेख गर्दै नेपालमा चाहिँ किन कडा प्रावधान नराख्ने भन्दै प्रश्न गरे । 

    तर, समाजवादी पार्टीका सांसद रामसहाय यादवले विदेशी महिला नेपाली बुहारी बनेर आएपछि नागरिकता दिँदा के असर पर्छ भन्दै प्रश्न गरे । उनले नागरिकता दिन वर्षौँ कुनुपर्ने कुरा किन र कहाँबाट आयो भन्दै आक्रोश पोखे । उनले कडा प्रावधान राखिए आफूहरु चुप लागेर नबस्ने पनि चेतावनी दिए । 

    यस्तै काँग्रेस सांसद देवेन्द्रराज कँडेलले कडा प्रावधानले नेपाल भारतबीचको सम्बन्धमा असर पुग्ने धारणा राखे । नेपाल चीनतिर ढल्किएको भन्ने टिकाटिप्पणी हुँदै आएको बेला कडा प्रावधानको कुरा ल्याउँदा नेपाल–भारतको सम्बन्धमा समेत असर पुग्ने उनको चेतावनी थियो । नेपाल–भारतबीच रोटी–बेटीको सम्बन्ध रहेको उल्लेख गर्दै कडा प्रावधान राखिँदा ठूलो असर पर्ने उनले धारणा राखे । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast