सोमबार, मंसिर २, २०७६
    ब्राण्ड/संगठन

    एप्पलको नयाँ आइफोन : ३ वटा फरक लेन्ससहितका क्यामेराहरु, के छन् विशेषता ?

    बुधबार, २५ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, २५ भदौ ।

    प्रख्यात स्मार्टफोन निर्माता कम्पनी एप्पलले नयाँ आइफोन बजारमा ल्याएको छ । एप्पलको मुख्यालय क्यालिफोर्नियामा एप्पलका सिइओ टिम कुकले नयाँ फोन सार्वजनिक गरेका हुन् ।

    कम्पनीले आइफोन ११, आइफोन ११ प्रो र ११ प्रो म्याक्स गरेर तीनवटा नयाँ फोन सार्वजनिक गरेको छ ।

    नयाँ आइफोनका साथमा नयाँ आइओएस पनि सार्वजनिक गरिएको छ। आइओएस १३ र ए १३ बायोनिक प्रयोग गरेर बनाइएको नयाँ आइफोन पहिलेका फोनको तुलनामा छिटो र छरितो रहेको कम्पनीको दाबी छ ।

    आइफोन ११ मा डुअल क्यामेरा छन् भने आइफोन ११ प्रो र म्याक्स प्रोमा तीनवटा क्यामेरा राखिएको छ । जसमा वाइड क्यामेरा, अल्ट्रा वाइड क्यामेरा र टेलिफोटो लेन्स राखिएको छ ।

    त्यस्तै नयाँ आइफोनमा भिडियो र फोटो सम्पादनमा पनि उत्तिकै जोड दिइएको छ । 

    भिडियो वा फोटोमा जुमको अलावा नयाँ प्रोमा भिडियो खिच्दा अडियो पनि जूम गर्न सकिने सुविधा दिइएको छ । यसले फरक फरक अडियोको लागि सहयोग पुग्नेछ ।

    नयाँ आइफोनको अर्को विशेषता भनेको पानीबाट बच्ने हो । आइफोन ११ प्रो र म्याक्स प्रो ४ मिटर गहिराइसम्म आधा घन्टासम्म डुब्दा यसमा पानी नपस्ने कम्पनीको दाबी छ । फोन टेबलमा राखेर काम गर्दा यसमा चिया, कफी वा पानी पोखिएमा अब आत्तिनु पर्दैन ।

    त्यस्तै नयाँ आइफोनमा सुपर रेटिना एक्सडिआर डिस्प्लेको प्रयोग गरिएको छ। त्यस्तै यसमा प्रयोग भएको सिपियुले फोनलाई पहिलाका फोनभन्दा ४० प्रतिशतसम्म छिटो बनाउने बताइएको छ । एप्पलले आइफोन ११ लाई अर्को जेनेरेशनको स्मार्टफोन भनेको छ ।

    नयाँ आइफोनमा एप्पलले बिशेषगरी क्यामेरा र ब्याट्रीमा विशेष जोड दिएको छ । आइफोन ११ प्रो म्याक्सको ब्याट्री लाइफ यसअघिको एक्स एस म्याक्सको ब्याट्रीको तुलनामा ४ घण्टा बढी टिक्ने कम्पनीले जनाएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast