सोमबार, भाद्र ३०, २०७६
    राज्य-समाज

    सेनाको इतिहासमै पहिलोपटक प्रधानसेनापति थापाले गरे सम्पत्ति विवरण सावर्जनिक, सुधार गर्दा मित्र टाढिएको गुनासो

    बुधबार, २५ भाद्र २०७६, आहाखबर

    काठमाडौं, २५ भदौ । 
    प्रधानसेनापति थापाले संगठनमा सुधारको प्रयास गर्दा आफन्त र मित्र टाढिएको बताए ।संगठनको नेतृत्व लिएपछि कतिपय आफन्त र मित्रका भनसुनलाई बेवास्ता गरेर सुधारका प्रयास थालेको उनले दाबी गरे । ‘जोखिम लिएर संगठन सुधारका लागि अभियान थालें, यही कारणले आफन्त र मित्र गुमाएँ,’ उनले भने, ‘यसमा मलाई पश्चाताप छैन, सुधारका लागि रोपिएको बिरुवाले भविष्यमा प्रतिफल दिनेछ ।’

    अनैतिक र आर्थिक लाभ लिनेलाई सुधार गर्न थालिएका प्रयास र परिवर्तन कठिन हुने उनको भनाइ थियो । विगतमा सेनामाथि भएको क्षयीकरणबाट पद्धति र प्रणालीमा लैजाने काम भएको उल्लेख गर्दै उनले यसबाट आफू हौसिएको तर सतर्क रहेको बताए । अनियमितता, अपारदर्शी खर्च, भनसुनले सेनाको चरित्र हरण गरेको जनाउँदै उनले अब त्यो सह्य नहुने चेतावनी दिए । ‘समस्या भए ठाउँमा चिरफार गर्ने हो, बाहिर टेप लगाएर हुँदैन,’ उनले भने।

    प्रधानसेनापति थापाले छड्के निरीक्षण गरेर अनियमितता र गल्ती गर्नेमाथि ठाउँको ठाउँ कारबाही गर्ने दाबी गरे । यसका लागि उनले निरीक्षणाधिकृत (उपरथी) को नेतृत्वमा ‘मार्सल टोली’ गठन गरेका छन् । ‘बफादार सिपाहीले संगठनलाई बदनाम गर्दैन । ऊ कसैसँग डराउँदैन । जसले गल्ती गर्छ, ऊ डराउँछ,’ उनले भने ।

    सैनिक कर्मचारी भर्नामा बिचौलिया कायम रहेको उल्लेख गर्दै उनले त्यसलाई नियन्त्रण गर्न कदम चालिने बताए । गत वर्ष मात्रै सैनिक मुख्यालयले १ सय ८१ जनालाई भर्ना अनियमितता प्रकरणमा कारबाही गर्नुका साथै त्यसमध्ये १ सय १२ जनालाई सेवाबाट बर्खास्त गरेको थियो ।

    थापाले संगठन सुदृढीकरण र आधुनिकीकरणका लागि पूर्ववर्ती नेतृत्वका पालामा गरिएका राम्रा प्रयासलाई निरन्तरता दिएको समेत जनाएको छ । ‘पश्चिम र पूर्वी एयरबेसको अवधारणा मेरो कार्यकालमा सुरु भएको होइन । फलानोको कार्यकालमा सुरु भएको अवधारणा भनेको भए सुर्खेतको एयरबेस सञ्चालनमा आउने थिएन,’ उनले भने ।

    प्रधानसेनापतिको सम्पत्ति विवरण सार्वजनिक
    नेपाली सेनाले इतिहासमै पहिलोपटक बहालवाला सेनापतिको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । मंगलबार नेतृत्व सम्हालेको १ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममै सेनापति थापाले पारदर्शिता कायम गर्ने भन्दै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । त्यसको केहीबेरमै सेनाले थापाको सम्पत्ति विवरण वेबसाइटमा राखेको थियो ।
    सार्वजनिक विवरणअनुसार थापासँग ५५ तोला सुन र ५ सय ९० तोला चाँदी छ । करिब १० लाख रुपैयाँ बराबरको हीराका हार पनि उनीसँग छ । नवलपरासी, लमजुङ, काठमाडौंमा करिब ८० रोपनी जग्गा देखाइएको छ । उक्त जग्गा आमाबाट पैतृक अंशबन्डा, श्रीमती दीपा थापाले माइतबाट ल्याएको तथा राष्ट्रसंघमा कार्यरत रहँदा पाएको रकमबाट खरिद गरेको देखाइएको छ ।

    नेपाल इन्भेस्टमेन्ट बैंकमा १६ लाख ६१ हजार ८ सय ९८ रुपैयाँ र ५ हजार ९ सय ७० अमेरिकी डलर बचत छ । ग्लोबल आईएमईमा ४२ हजार २ सय ८३ रुपैयाँ छ । श्रीमती दीपाका नाममा मेघा बैंकमा ५० हजार रुपैयाँ मौज्दात देखाइएको छ । श्रीमती दीपाकै नाममा मेघा, डीसीबीएल, ग्लोबल आईएमई, प्राइम, शिव श्री हाइड्रोमा ४३ लाख १५ हजार ८ सय रुपैयाँ बराबरका ४३ हजार कित्ता सेयर पनि छ ।

    विभिन्न बैंक तथा संघसंस्थाबाट १ करोड ५१ लाख ४५ हजार ऋण लिएकामा ७१ लाख ६१ हजार १ सय ८१ रुपैयाँ तिरिसकेको उल्लेख छ । प्रधानसेनापति थापासँग बा११च ९५२४ नम्बरको फिगो फोर्ड गाडी २२ लाख ५० हजारमा खरिद गरिएको उल्लेख छ । ऋण र सरकारी सेवाबाट प्राप्त रकमबाट कार खरिद गरिएको उल्लेख छ ।
    थापाले सबै सैनिक अधिकृतहरूलाई आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशनसमेत दिएका छन् । उनले सम्पत्ति विवरण सार्वजनिक गर्न नचाहने सैनिक अधिकारीले नेपाली सेनाको सैनिक सचिव विभागलाई आन्तरिक रूपमा उपलब्ध गराउनसमेत निर्देशन दिए । कान्तिपुरबाट

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast