बुधबार, असोज १, २०७६
    धर्म-संस्कृति

    हनुमानढोका परिसरमा इन्द्रध्वजा उठाएपछि भैरवका मूर्ति प्रदर्शन

    मंगलवार, २४ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, २४ भदौ

    भाद्र शुक्ल द्वादशीमा हनुमानढोका परिसरमा इन्द्रध्वजा उठाएपछि भैरवका मूर्ति प्रदर्शन गरिएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका परिसरमा विधिपूर्वक इन्द्रध्वजा फहराउने गरिन्छ । इन्द्रध्वजाको लिङ्गो तयार पार्न नालास्थित वनबाट रुख काटेर ल्याइएको थियो । 

    हनुमानढोका नजिकै रहेको श्वेतभैरवको मूर्ति पनि आजदेखि एकसातासम्म सर्वसाधारणलाई दर्शन र पूजाका लागि खुला गरिएको छ । आकाशभैरवको मूर्तिलाई मन्दिरको बाहिर खट बनाएर राखी सिँगार गरिन्छ । उक्त मूर्तिलाई किराँती राजा यलम्बरको शिरका रुपमा मानिएको छ । 

    सनातन धर्मावलम्बीका प्रमुख र प्रचलित चाड दशैँ, तिहार र फागुभन्दा पनि इन्द्रजात्रालाई पुरानो चाडका रूपमा लिइन्छ । इन्द्रध्वजा फराइएपछि एक हप्तासम्म इन्द्रजात्रा पर्व शुरु भएको मानिन्छ । यस अवधिमा विभिन्न नाच, गान, रथयात्रा गरी आश्विन कृष्ण चौथीका दिन बेलुकीको साइतमा लिङ्गो ढालेर जात्राको समापन गरिन्छ । 

    भाद्र शुक्ल चतुर्दशीका दिन जीवित देवीका रूपमा रहेकी कुमारी, गणेश र भैरवको दर्शन गर्न वसन्तपुरमा राष्ट्र प्रमुख, सरकार प्रमुख, संवैधानिक अङ्गका प्रमुख, उच्चपदस्थ अधिकारी, विदेशी पाहुनाको सहभागिता हुने गर्दछ । यो जात्रामा राष्ट्रप्रमुखको उपस्थिति तत्कालीन कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लको पालादेखि चलिआएको हो । जयप्रकाश मल्लले जीवित देवी कुमारीको रथ जात्रा चलाई आफू स्वयं रथमा बसी नगर परिक्रमा गरेको बताइन्छ । 

    हनुमानढोका दरबार आसपास क्षेत्रमा कालभैरवको मूर्ति अगाडि लिङ्गो ठड्याइनुलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गो ठड्याउँदा सेना, सशस्त्र प्रहरी, गुरुजुको पल्टनले विभिन्न बाजा तथा मङ्गलधुन बजाउनका साथै तोप पड्काएका थिए । 
     
    स्वर्गलोकका राजा इन्द्रले आफ्नी आमाले लिएको बसुन्धराको व्रत पूरा गर्न काठमाडौँ आएर पारिजातको फूल टिपेकामा स्थानीयवासीले नियन्त्रणमा लिएर डोरीले बाँधेको किंवदन्ती पाइन्छ । इन्द्रलाई छुटाउन उनकी आमा आएर इन्द्रलाई फर्काएर लगेको स्मरणमा जात्राको प्रचलन शुरु भएको जनविश्वास छ । नेवार समुदायले विभिन्न टोलमा समयबजि बाँडने, धिमेबाजाको तालमा प्रसादका रूपमा भैरवको मुखमा जडित नलीबाट सर्वसाधारणका लागि जाँड र रक्सीको धारा बनाएर प्रसाद वितरण गर्ने गर्दछन् । 

    रथ परिक्रमा सकिएपछि मरूटोलबाट वर्षभरिमा मृत्यु भएका व्यक्तिका परिवारजनले सत्बीज छर्दै कान्तिपुर नगरी परिक्रमा गर्ने गर्दछन् । हनुमानढोका वरपर क्षेत्रका विभिन्न टोलमा इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने तथा लाखे नाच गरिन्छ । बौद्ध धर्मावलम्बीले वर्षभरिमा दिवंगत भएका आफन्तको शान्तिको कामना गर्दै धारणी स्तोत्र पाठ गर्ने गर्छन् । 

    काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले यहाँका प्राचीन सभ्यता तथा संस्कृतिको संरक्षणका लागि प्रतिबद्धता व्यक्त गर्दै पुराना जात्रा तथा पर्वले सहिष्णुता र देशभित्र रहेको विविधताभित्र एकता कायम गर्ने विश्वास व्यक्त गर्नुुभयो । यही भदौ २७ गते भाद्र शुक्ल चतुर्दशीका दिन परेको इन्द्रजात्राका दिन दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भोलिपल्ट स्नान गरेर मेला भर्न भक्तजनको भीड लाग्दछ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast