सोमबार, भाद्र ३०, २०७६
    बिदेश

    अफगानिस्तानमा १४ हजार अमेरिकी सैनिक तैनाथ, ट्रम्प भन्छन् - वार्ताको औचित्य छैन

    मंगलवार, २४ भाद्र २०७६, आहाखबर

    वासिङटन, २४ भदौ ।  

    संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अफगानिस्तानमा  सशस्त्र संघर्षरत तालिबानसँगको शान्ति वार्ता “मृततुल्य“ भएको बताउनु भएको छ । ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले अब वार्ताको तत्काल सम्भावना छैन भन्नुभयो ।

    संयुक्तराज्य अमेरिका र तालिबानबीचको वार्ता सम्झौतानजिक पुगेका खबरहरु दुबैतर्फबाट सार्वजनिक भइरहेका थिए । तर गत साता काबुलमा अमेरिकी दूतावासनजिकै भएको कारबम आक्रमणबाट एक जना अमेरिकी सैनिक समेत १२ जनाको मृत्यु भएपछि ट्रम्पले वार्ता रद्द गरेको गर्नु भएको थियो  ।

    राष्ट्रपति ट्रम्पले अफगानिस्तानमा युद्धरत तालिबान र अफगानी नेताहरुसँग यसै सप्ताहान्तमा आयोजना गर्न खोजिएको गोप्य बैठक पनि एकाएक स्थगित गर्नुभएको थियो । 

    यस आक्रमणपछि ट्रम्पले शनिबार ट्वीटमार्फत क्याम्प डेभिडमा अफगानिस्तानका राष्ट्रपति र तालिवान नेताहरूसँग आइतबार हुने भनिएको गोप्य बैठकहरु रद्द भएको घोषणा गर्नु भएको थियो  । 

    तालिबानीले वार्ताको टेबुलमा फाइदा उठाउन खोजेको आरोप लगाउनु हुँदै यसको अमेरिकाले बदला लिने संकेत  समेत उहाँले दिनु भएको छ । 

    वार्ता रद्द गरेको घोषणापछि राष्ट्रपति ट्रम्पले अफगानिस्तानबाट तत्काल पाँच हजार सैनिक कटौती गर्ने प्रस्ताव पनि अन्यौलमा परेको बताइएको छ । 

    हाल अफगानिस्तानमा १३ देखि १४ हजार अमेरिकी सैनिक तैनाथ छन् । झण्डै १८ वर्ष अफगानिस्तानमा रहेको अमेरिकी सेनाले हाल अफगानी सेनालाई तालिम, सल्लाह र हवाई सुरक्षा प्रदान गरिआएको छ ।

    संयुक्तराज्य अमेरिकाले अल–कायदाले सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा आतंकवादी हमला गरेलगत्तै अफगानिस्तानमा आक्रमण गरी सेना पठाएको थियो । अफगानिस्तानमा तत्कालीन तालिबानी सरकारले अलकायदालाई आश्रय दिएको अमेरिकी आरोप थियो ।

    ट्रम्प प्रशासनले हाल अफगानिस्तानमा अमेरिकी सैनिक संलग्नता अन्त्य गर्न चाहेको छ । यसै सिलसिलामा सन् २०१८ देखि तालिबानसँग अमेरिकी विशेषदूत जाल्मे खलिलजादको नेतृत्वमा वार्ता जारी छ ।

    अमेरिका र तालिबानबीच हुने भनिएको सम्झौतामा अफगानिस्तानबाट अमेरिकी सेना चरणबद्धरुपमा फिर्ता हुने, अफगानिस्तानलाई जिहादीहरुको सुरक्षित आश्रयस्थल बन्न नदिइने, अफगानिस्तान सरकारसँग वार्ता गर्ने तथा अन्ततः युद्धविराम गर्ने बुँदा रहेको बताइएको थियो । 

    पछिल्लो समय तालिबान समूहले राजधानी काबुल सहित देशका प्रमुख शहरमा आक्रमणलाई तिब्र बनाएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast