सोमबार, भाद्र ३०, २०७६
    राज्य-समाज

    एनसेल कर प्रकरण : न्यायाधीशलाई महाअभियोग लगाउन सांसदहरुको माग

    मंगलवार, २४ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, २४ भदौ ।

    प्रतिनिधिसभाको बैठकमा मंगलबार सांसदहरुले एनसेललाई पुँजीगत लाभकरमा छुट दिने गरी मुद्दाको फैसला गर्ने न्यायाधीलाई महाअभियोग लगाउन माग गरेका छन् ।

    मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै नेकपाका सांसदहरु खगराज अधिकारी, मोहना बानियाँ र यज्ञराज सुनुवारले एनसेलको लाभकर छुट दिने न्यायाधीशलाई कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् ।

    सांसद बानियाँले संविधान र कानुनको रक्षा गर्ने दायित्व बोकेको सर्वोच्च अदालत नै कानुनको भक्षक भएको आरोप लगाए। ‘न्याय क्षेत्रले आफ्नो क्षेत्राधिकार मिचेको छ । कानुनको रक्षक नै भक्षक भयो । राष्ट्रलाई दोहन गर्ने, सूर्यलाई हत्केकाले छेक्ने न्यायाधीशहरुलाई महाअभियोग लगाइयोस् ।’

    त्यस्तै नेकपाकै सांसद यज्ञराज सुनुवारले पनि सर्वोच्चको फैसलाले एनसेललाई मात्र नभइ मुद्दा फैसला गर्ने न्यायाधीशहरुलाई समेत फाइदा भएको आशंका जनमानसनमा उब्जेको बताए । ‘सर्वोच्चको फैसलालाई संसदले समिति बनाएर छानबिन गरिनुपर्छ । यो न्यायपालिकाकै इज्जतका लागि पनि आवश्यक छ, सुनुवारले भने ।

    सांसद खगराज अधिकारीले पनि ‘एनसेलको लाभ कर सरकारले पाउनु पर्छ कि पर्दैन ? भन्दै प्रश्न गरे । उनले भने, ‘संसदभित्र उठेका आवाजलाई सम्मान गर्छु । उहाँहरुका आवाज सुनिनुपर्छ। भ्रष्टाचारविरुद्ध अभियान थालिनु गरिनुपर्छ। राज्यलाई अर्बौँ घाटा लाग्ने गरी भएको फैसलाको छानबिन हुनुपर्छ ।’

    यसअघि आइतबार पनि सांसदहरुले महाअभियोग लगाउन माग गरेका थिए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast