मंगलवार, भाद्र ३१, २०७६
    पर्यटन समाचार

    नेपालमा डंगर गिद्ध २,००० मा सीमित, आकडा केलाउदा जे देखियो...

    सोमबार, २३ भाद्र २०७६, – प्रेमनारायण आचार्य .

    अर्घाखाँची, २३ भदौ ।

    नेपालमा पाइने चराका ८८६ प्रजातिमध्ये डंगर गिद्ध अति सङ्कटापन्न (लोप हुने) अवस्थामा छ । हाल नेपालमा डंगर गिद्धको सङ्ख्या २ हजारको हाराहारीमा रहेको अनुमान छ ।

    सन् १९९० को दशकमा दक्षिण एशियामा करोडौं र नेपालमा लाखौंको सङ्ख्यामा पाइने गिद्ध झण्डै ९५ प्रतिशतले घटी हिजोआज केही हजारमा सीमित हुन पुगेको छ । विश्वमा २३ प्रजातिका गिद्ध पाइन्छन् भने दक्षिण एशियामा नौ प्रजाति । 

    तीमध्ये नवै प्रजातिका गिद्धहरु नेपालमा पाइन्छन् । यिनै ९ प्रजाति मध्येको एक हो डंगर गिद्ध । 

    एउटै सिनो र बासस्थानलाई सामूहिक उपयोग गर्ने डंगर गिद्ध ठूला र अग्ला रुखमा गुड बनाई मानव बस्ती वरपर बस्न रुचाउँछन् । मानिस भन्दा आठ गुणा टाढासम्म देख्ने डंगर गिद्ध सिनोको खोजीमा ३०० किलोमिटर टाढासम्म उड्ने गिद्धविज्ञ कृष्ण भुसाल बताउनुहुन्छ । 

    औषत तीन दिनमा एक किलोग्राम सिनो खाने एउटा गिद्धले मात्र पनि एक वर्षमा कम्तीमा १२० किलोग्राम सिनो खाई वातावरण सफा राख्न सहयोग गरिरहेको हुन्छ । आजीवन जोडी बनाउने डंगर गिद्धका भालेपोथी दुबैले मिलेर गुँड निर्माण गर्ने, बच्चा कोरल्ने र हुर्काउने काम गर्छन् । गिद्धले एक वर्षको एक प्रजनन अवधिमा एउटा मात्र फुल पार्दछ भने प्रजनन् कार्य कात्तिकदेखि शुरु भई जेठ महिनामा सम्पन्न हुन्छ । नेपालमा यस डंगर गिद्ध चितवन पश्चिमको तराईका जिल्ला र पश्चिम नेपालको मध्यपहाडी जिल्ला पाल्पा, स्याङ्जा, तनहुँ, कास्की र अर्घाखाँचीमा भेटिन्छ ।

    गिद्ध आफैं शिकार नगरी केवल मरेका जनावरको मासु अर्थात् सिनो मात्र खाने पन्छी हो । मरेका जनावरको सिनो र फालेको मासुजन्य फोहर पदार्थ खाई वरपरको वातावरणलाई प्रदूषित, दुर्गन्धित र रोगमुक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गिद्धलाई ‘प्रकृतिको कुचिकार’ पनि भनिन्छ । 

    सिनोको कुशलतापूर्वक छोटो समयमै दोहन गर्ने गिद्धको पेटमा रहेको अत्यधिक अम्लीय रसले हानिकारक किटाणुहरू भएको सडेगलेको मासु पनि सहजै पचाउँछ । गिद्धको अभाव भएमा सिनो प्रकृतिमा यत्तिकै सड्छ जसमा भुस्याहा कुकुर, स्याल, मुसा र झिँगाको सङ्ख्यामा वृद्धि भई मानिसमा रेबिज, प्लेग, हैजा, आउँ, झाडापखाला जस्ता घातक रोगहरू फैलिन सक्छन् । पर्यावरणीय चक्र र सनातन खाद्य शृङ्खलालाई सन्तुलनमा राख्न र  पारिस्थितिकीय स्वस्थता कायम राख्न गिद्धको उपस्थिति अनिवार्य छ ।

    गिद्धको पर्यावरणीय सँगै धार्मिक र सांस्कृतिक महत्व पनि छ । हिन्दू धर्ममा गिद्धलाई शनि देवताको बाहनको रुपमा पुजिन्छ । प्रसिद्ध धर्मग्रन्थ रामायणमा रावणले सीतालाई हरण गरी लङ्का लैजाँदा सीतालाई जोगाउन गिद्ध अन्तिम श्वास रहुन्जेल लडेको उल्लेख छ । नेपालको हिमाली क्षेत्रमा बस्ने तिब्बतेली मूलका लामा समुदाय मृत आफन्तको शव गिद्धलाई खुवाउँछन् । गिद्धलाई मृतकको आत्मालाई स्वर्ग पु¥याउने दूतका रुपमा पुज्ने गरिन्छ । 

    गिद्ध विनाश हुनाका मुख्य कारण घरपालुवा पशुको उपचारमा प्रयोग गरिने औषधि डाइक्लोफेनेक हो । पशुमा सुन्निएको र दुखेको निको पार्न यसको प्रयोग हुन्छ ।  डाइक्लोफेनेकले उपचार गरिएका पशु मरेमा उक्त पशुको सिनो खाने गिद्ध पनि मिर्गौला असफल भई मर्छ । गिद्धहरु समूहमा खाने हुँदा डाइकलोफेनेक प्रभावित एउटै सिनोबाट पनि ठुलो सङ्ख्यामा मर्छन् । 

    मात्र ३० मिलिलिटरको एक भायल डाइक्लोफेनेक प्रयोग गरिएको एउटै सिनोबाट ३५० देखि ८०० वठा गिद्ध मर्ने भएकाले नै यो औषधि गिद्ध विनाशमा प्रमुख कारण बन्न पुग्यो । यसका साथै अरु सहायक कारणहरु बासस्थानको विनाश, र आहारामा कमी पनि हुन् । अन्य मांसाहारी जनावरलाई लक्ष्य गरी सिनोमा विष राखिदिँदा पनि यो पन्छी शिकार बन्ने गरेको छ । अवैज्ञानिक ढङ्गबाट विस्तार गरिएका विद्युतीय तारले पनि गिद्धहरुको ज्यान लिएको पाइन्छ । 

    गिद्ध संरक्षणका लागि नेपाल सरकारले २०६३ जेठ २३ देखि पशुउपचारमा डाइक्लोफेनेकको प्रयोग, उत्पादन, आयात र बिक्रीमा प्रतिबन्ध लगाएको छ । त्यसको विकल्पमा गिद्ध, अरु चराचुरुङ्गी र वन्यजन्तुमा असर नगर्ने मेलोक्सिक्यामको उत्पादन र बिक्री वितरण शुरु गरेको छ । गिद्धलाई डाइक्लोफेनेकरहित शुद्ध आहार उपलब्ध गराई संरक्षण गर्ने उद्देश्यले जटायु (गिद्ध) रेष्टुराँ सञ्चालन गरिएका छन् । 

    समुदाय स्तरबाटै सञ्चालन र व्यवस्थापन गरिएका गिद्ध रेष्टुराँ नवलपरासीको कावासोती, रुपन्देहीको गैँडहवा ताल, दाङको लालमटीया र बिजौरी, कैलालीको खुटीया, कास्कीको घाँचोक र पूर्वमा सुनसरीको कोशीटप्पुमा छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast