सोमबार, असोज ६, २०७६
    बिदेश

    तालिवानसँगको शान्ति प्रक्रिया रद्ध गरिएको ट्रम्पद्वारा घोषणा

    आईतवार, २२ भाद्र २०७६, आहाखबर
    (फाईल तस्बिर)

    वाशिङटन, २२ भदौ । 

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानको तालिवान समूहसँगको शान्ति प्रक्रिया रद्ध गरिएको घोषणा गरेका छन् । 

    ट्रम्पले श्रृङ्खलाबद्ध ट्वीट गरेर आइतबार क्याम्प डेविडमा तालिबानी नेता र अफगानी राष्ट्रपतिसँग गोप्य बैठकमा भाग लिने कार्यक्रम निश्चित भएपनि अब यसलाई रद्द गरिएको जानकारी दिएका हुन् ।

    यसअघि अमेरिकी संझौताकार जाल्मे खालीजादले सैद्धान्तिक रुपमा शान्ति प्रक्रिया सहमतिको नजिक पुगेको जनाएका थिए ।

    उनले काबुलमा भएको कार बम बिस्फोटपछि उक्त कदम उठाएको बताएका छन् जसमा एक अमेरिकी सैनिकसमेत १२ जनाको मृत्यु भएको थियो । तालिबानले उक्त हमलाको जिम्मेवारी लिएको थियो ।

    प्रस्तावित शान्ति सम्झौताअनुसार २० हप्ता सम्ममा ५ हजार ४०० अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता गरिने जनाइएको बताइएको थियो । तर, सहमतिलाई अन्तिम रुप दिनका लागि राष्ट्रपति ट्रम्पबाट अनुमति लिन बाँकी रहेको संझौताकारले जनाएका थिए । 

    गएको बिहीबार काबुलमा भएको बम बिस्फोटमा एक अमेरिकी सैनिकसहित करिब एक दर्जन मानिसको मृत्यु भएको थियो । बिहीबारको आक्रमणले अमेरिकासँगको सहमतिका बावजुद अफगानिस्तानमा हिंसा नरोकिने डर उत्पन्न भएको थियो । 

    अमेरिकाले सन् २००१मा अफगानिस्तानमा हस्तक्षेप गरेपछि सबैभन्दा बढी भूभागमा अहिले तालिवानको नियन्त्रण रहेको छ ।

    सो समूहले अहिलेको अफगान सरकारलाई अमेरिकी ‘पपेट’ भनेर उसँग वार्ता गर्न अस्वीकार गर्दै आएको छ । अमेरिका र तालिवानबीच अफगान सरकारको सहभागिताबिना नै गएको सन् २०१८ देखि शान्ति प्रक्रिया चलिरहेकोे थियो । यस क्रममा दुई पक्षबीच कतारको दोहामा ८ चरणसम्मका वार्ता भएका थिए । 

    हाल अफगानिस्तानमा १४ हजार अमेरिकी सेना र नेटो समर्थित ३९ राष्ट्रका १७ हजार सेना रहँदै आएका छन् । वार्ता सकारात्मक दिशामा अघि बढिरहेको र सहमति नजिक पुगेको दुवै पक्षले हालै बताएका थिए ।

    अफगानिस्तानका लागि विशेष अमेरिकी राजदूत जल्मे खलिलजादले गत सोमबार तालिबानसँग ‘सौद्धान्तिक रुपमा’ एक शान्ति सम्झौता भएको घोषणा गरेका थिए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast