सोमबार, असोज ६, २०७६
    अावास-निर्माण

    पुनःनिर्माण सन्तोषजनकरूपमा हुन सकेन : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी

    शुक्रबार, २० भाद्र २०७६, आहाखबर

    काठमाडौँ, २० भदौ

    मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नेपालमा भूकम्पपछिको पुनःनिर्माण सन्तोषजनकरूपमा हुन नसकेको बताउनुभएको छ । 

    नेपाल युवक माध्यमिक विद्यालय क्षेत्रपाटीमा पुनःनिर्माण भएको भवनको ‘उद्घाटन तथा हस्तान्तरण समारोह’ मा उहाँले भूकम्पपछिको पुनःनिर्माण जुन गतिमा हुनुपर्ने हो त्यो हुन नसकेको बताउनुभएको हो । “सामुदायिक विद्यालय सम्पूर्ण नेपालीको विद्यालय हो, यसको पुनःनिर्माण चाँडो हुनुपर्छ”, उहाँले भन्नुभयो ।

    उहाँले विश्वका हरेक देशको विकास सामुदायिक विद्यालयमा पढेका विद्यार्थीबाट भएको भन्दै नेपालको सामुदायिक विद्यालयलाई राम्रो बनाउन सरकार लाग्नुपर्ने उल्लेख गर्नुभयो । अहिले मुलुकमा संस्कृति, सभ्यता सिकाउने नैतिक शिक्षाको खाँचो रहेको उहाँको भनाइ थियो । 

    काठमाडौँ क्षेत्र नं ७ का सांसद रामवीर मानन्धरले अहिलेको समयमा प्रविधियुक्त शिक्षाको खाँचो रहेको बताउनुभयो । “सीपमूलक र गुणस्तरीय शिक्षा अहिले मुलुकका लागि आवश्यक छ”, उहाँले भन्नुभयो । 

    प्रदेश–३ का प्रदेशसभा सदस्य वसन्त मानन्धरले इतिहास बोकेको युवक माध्यमिक विद्यालयले जीवनोपयोगी शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । काठमाडौँ महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालले गुणस्तरीय शिक्षाका कारण मात्र मुलुकको विकास हुने बताउनुभयो । युवक माध्यमिक विद्यालयको शिक्षाको विकासका लागि वडाको साथ र सहयोग रहने उहाँको भनाइ थियो । 

    नेपाल पुनःनिर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइका निर्देशक इमनारायण श्रेष्ठले विसं २०७२ को भूकम्पले क्षति पु¥याएका आठ हजार विद्यालयमध्ये पाँच हजार विद्यालय पुनःनिर्माण गरिसकेको जानकारी दिनुभयो । 

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पन्तले भवन निर्माणसँगै विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । एशियाली विकास बैंकको रु चार करोड ६६ लाख ऋण अनुदानमा निर्माण भएको भवन चारतले रहेको छ । उक्त भवनमा २४ कक्षाकोठा रहेका छन् । एशियाली विकास बैंकले हाल नेपालमा १६२ विद्यालय पुनःनिर्माणका लागि ऋण अनुदान उपलब्ध गराइसकेको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast