सोमबार, मंसिर २, २०७६
    स्वाद/परिकार

    घरवासको आकर्षण आलुका परिकार

    शुक्रबार, २० भाद्र २०७६, खेमराज गौतम.

    गलकोट, २० भदौ

    बर्खामासमा उब्जनी हुने आलु सामान्यतयाः तरकारी बनाउन र उसिनेर खाजाको रुपमा प्रयोग गरिन्छ तर, बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा घरवास ९होमस्टे० मा आलुका अनेक परिकार बन्छन् । ती परिकारले आगन्तुक पाहुनालाई निकै लोभ्याउँदो रहेछ । उसिनेका आलु, सिल्टिुमरको चटनी, आलु चिप्स, आलु अचार, आलु रोटी लगायतका परिकारले आन्तरिक तथा बाह्य पाहुनाको मन जित्ने गरेको घरवास सञ्चालक बताउँछन् । 

    उच्च पहाडी गाउँको चिसो स्थानमा पाइने आलु स्वादिलो हुने भएकाले पाहुनाले आलुका विभिन्न परिकारका स्वाद निकै मिठो मानेर खाने गरेको बेलढुङ्गा सामुदायिक घरवासका अध्यक्ष टेकबहादुर पुनले बताउनुभयो । “पाहुनालाई उसिनेको आलु, पोलेको, घिउमा तारेको, अचारलगायतका परिकार खुवाउने गरेका छौँ”, पुनले भन्नुभयो,  “दोस्रो पटक आउने पाहुनाले शुरुमै आलुकै परिकारको माग राख्ने गरेका छन् ।” 

    घरवासमा आयातित खाद्य सामग्रीलाई निषेध गरी स्थानीयस्तरमा उत्पादित खानाका परिकारलाई विशेष रुपमा प्रवद्र्धन गर्ने स्थानीयको योजना छ । गाउँकै मुख्य बालीको रुपमा उत्पादन हुने आलुको व्यवसायीकरण र अन्य उत्पादनलाई समेत प्रवद्र्धन गर्न अब गाउँलाई अर्गानिक गाउँकोे रुपमा स्थापित गर्ने योजनासमेत अघि बढाइएको घरवासका सञ्चालक समितिका सचिव गोपाल श्रीसले बताउनुभयो । 

    घरवास सेवामा आलुका परिकारलाई मुख्य आकर्षणको रुपमा राखिएको छ । यसका साथै सिस्नोको खोले, फापरको पिठो, मकै, भटमास, कोदोको रोटी, ढिँडो, बाँकाको सिन्कीलगायतका परिकारको समेत स्वाद लिन सकिन्छ । “हाल एक रातमा २० जना आरामदायी रुपमा बस्न मिल्ने गरी १० घरमा व्यवस्थापन गरेका छौँ”, सञ्चालक उमा श्रीसले भन्नुभयो, “पाहुनाको आगमनअनुसार थप व्यवस्थित र विस्तार गर्ने योजना छ ।” पाहुनलाई स्वागत गर्न मालादेखि बिदाइ गर्ने क्रममा समेत कोशेलीका रुपमा आलुनै प्रयोग गर्ने योजना बनाएको उहाँले बताउनुभयो ।
     
    आलुको परिकारले घरवासको छुट्टै पहिचान दिन सफल भएको घरवासमा पुगेका बागलुङ नगरपालिका–८ सिगानाका कृष्ण खड्काले बताउनुभयो । “आलु त सधैँ खाइन्थो तर धम्जा र त्यहाँको घरवासको आलु निकै स्वादिलो रहेछ”, खड्काले भन्नुभयो, “पाहुनालाई आलुकै मालादेखि आलुकै कोसेली, हावापानी सबै हिसाबले यस ठाउँमा पुग्दा निकै आनन्दको महसुस भएको छ ।” साविकको धम्जा गाविसको ओखले र असौजेमा आलुको उत्पादन धेरै ठूलो परिमाणमा हुने भएकाले यसको व्यावसायिक सुनिश्चितताका लागि आलु चिस्यान केन्द्रसमेत निर्माण गरिएको छ । 

    घरवासमा आउने पाहुनाको स्वागत सत्कारका लागि गण्डकी प्रदेश सरकारको दश लाख र काठेखोला गाउँपालिकाको एक लाख सहयोगमा २०० क्षमताको सामुदायिक भवनसमेत निर्माण गरिएको छ । भवनमा पाहुनालाई सामूहिक रुपमा नाचगानसहित स्वागत सत्कार गरिन्छ । त्यसपछि खाना र आवासका लागि घरघरमा व्यवस्था छ । गाउँ पुगेका पाहुनालाई परम्परागत झाँकी, गीत सङ्गीत र नाच देखाउने गरिन्छ । 

    पछिल्लो समय घरवासलाई समेत प्रवद्र्धन गर्ने गरी बागलुङ नगरपालिकाको पञ्चकोटदेखि संसारकोट, कारिकोट, थाप्लेको धुरी, कान्छो धौलागिरि हुँदै धम्जा र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सिमानामा अवस्थित बेलढुङ्गा चढ्ने गरी पदमार्गको रेखाङ्कनसमेत गरिएको छ । बेलढुङ्गाबाट निकै लामो हिमशृङ्खला र विभिन्न गाउँ शहरको दृश्य हेर्न सकिने छ । 

    गाउँपालिकाले समेत धम्जा गाउँलाई आलु जोनको रुपमा विकास गर्ने लक्ष्य राखेको काठेखोला गाउँपालिका–३ का अध्यक्ष यामबहादुर श्रीसले बताउनुभयो । “गाउँ अहिले गाउँजस्तो छैन, बसाइँसराइले सुनसान बन्न थालेको छ”, अध्यक्ष श्रीसले भन्नुभयो, “स्थानीयलाई आयआर्जनमा अग्रसर बनाएर गाउँमै आनन्दले रम्ने बस्ने व्यवस्था गर्ने गरी हामीले योजना र कार्यक्रम बनाइरहेका छौँ ।”

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast