सोमबार, असोज ६, २०७६
    बिदेश

    बेलायती प्रधानमन्त्रीलाई झड्का, आम चुनावको प्रस्ताव पनि अस्वीकृत

    बिहिवार, १९ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, १९ भदौ ।

    वेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई संसदमा लगातार एकपछि अर्को झड्का लागेको छ ।

    केही महिनाअघि मात्रै सत्तामा आएका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले संसदमा लगातार असफलता प्राप्त गरेका छन् ।

    बिना सम्झौता बेलायत युरोपबाट बाहिरिने (नो–डिल ब्रेक्सिट) लाई मार्ग प्रशस्त गर्ने कानून पारित गराउने प्रयासमा असफल भएका प्रधानमन्त्री जोन्सनले गरेको आम चुनावको प्रस्ताव पनि असफल भएको छ ।

    सत्तारुढ पक्ष ट्रोयका केही सांसद तथा विपक्षी सांसदले आफूले ल्याएको विधेयक पारित हुन नदिएपछि प्रधानमन्त्री जोन्सनले आम चुनावको प्रस्ताव संसद (हाउस अफ कमन्स) मा पेश गरेका थिए । तर त्यो प्रस्ताव पनि असफल भएको छ ।

    बेलायत युरोपियन युनियन (इयु) बाट बाहिरिने हालको समय सीमा अक्टोबर ३१ हो । सो अवधिमा बिना सम्झौता नै भए पनि बेलायत इयुबाट अलग हुने सम्बन्धी कानून बनाउनका लागि ल्याइएको विधेयकको पक्षमा ३०१ तथा विपक्षमा ३२८ मत परेको थियो ।

    संसदमा आफूले ल्याएको विधेयक असफल भएपछि प्रधानमन्त्री जोन्सनले आम चुनाव नै उत्तम विकल्प रहेको भन्दै त्यसको प्रस्ताव गरेका हुन् । तर लेबर पार्टीका नेता तथा संसदमा विपक्षी दलका नेता जेरोमी कोर्बिनले बिना सम्झौताको ब्रेक्सिटका लागि बाध्य पार्न प्रधानमन्त्री जोन्सनले कपटी खेल खेलिरहेको आरोप लगाएका छन् ।

    आफ्नो पार्टी चुनावको पक्षमा रहेको तर त्यो ब्रेक्सिट सम्बन्धी विधेयक पारित भएपछि मात्रै हुनु पर्ने उनले बताएका छन् । ब्रेक्सिट सम्बन्धी विधेयक सबैको सहमतिमा हुनु पर्ने उनको भनाई छ । नो डिल ब्रेक्सिटका लागि बाध्य पार्ने मनसायले आउने कुनै पनि विधेयक वा राजनीतिक खेलको पक्षमा आफ्नो पार्टी नरहेको उनले स्पष्ट पारेका छन् ।

    एसएनपी तथा लिबरल डेमोक्र्याटिक पार्टीले पनि नो डिल ब्रेक्सिटका लागि बाध्य पार्न प्रधानमन्त्री जोन्सनले गरिरहेको प्रयासको विरोध गरेका छन् ।

    जोन्सनका समर्थकले भने पछिल्लो दुई वर्षदेखि आम चुनावको माग गरिरहेका विपक्षीहरुले त्यसको वास्तविक प्रस्ताव आउँदा विरोध गरेको भन्दै आलोचना गरेका छन् ।

    जोन्सनले आउँदो अक्टोबर १५ मै आम चुनाव होस् भन्ने चाहेका छन् । चुनाव सम्बन्धी प्रस्ताव पारित हुन दुई तिहाई सांसदको मत अर्थात ४३४ मत चाहिन्छ । तर जोन्सनले ल्याएको प्रस्तावको पक्षमा २९८, विपक्षमा ५६ र मत नदिने सांसदको संख्या २८८ रह्यो ।

    बिना सम्झौता बेलायत युरोपबाट बाहिरिने मार्ग प्रशस्त गर्ने कानुन पारित गराउने प्रधानमन्त्री जोन्सनको प्रस्ताव पनि बहुमतले अस्वीकृत भएको थियो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast