सोमबार, असोज ६, २०७६
    अावास-निर्माण

    यता देखियो सरकार ! ८६९ हुरीपीडितलाई सरकारले दियो घर

    बिहिवार, १९ भाद्र २०७६, आहाखबर

    काठमाडौं, १९ भदौ ।
    बारा र पर्सामा विनाशकारी हावाहुरी तथा असिनापानीबाट आवासविहीन बनेका पीडित परिवारले पाँच महिनामै सरकारनिर्मित आवास पाएका छन् । प्राकृतिक प्रकोपबाट पीडितले यति छोटो अवधिमा सरकारनिर्मित आवास पाएको यो पहिलो अवसर हो । गएको चैत १७ मा त्यहाँ विनाशकारी हावाहुरी चलेको थियो । नेपाली सेनाले निर्माण गरेका आवास बुधबार केन्द्र सरकारलाई हस्तान्तरण गरेपछि केन्द्र सरकारले प्रदेश सरकार र प्रदेश सरकारले स्थानीय तहमार्फत पीडित परिवारलाई हस्तान्तरणको प्रक्रिया सुरु भएको छ । नेपाली सेनाको जनता आवास निर्माण कार्यदलद्वारा बुधबार वीरगञ्जमा आयोजित घर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै रक्षामन्त्री ईश्वर पोखरेलले स्थानीय, प्रदेश र सङ्घीय सरकारको आपसी समन्वय र नेपाली सेनाको कार्यदक्षताका कारण बारा र पर्साका हावाहुरी पीडितले घर पाएको बताउनुभयो ।

    हावाहुरी पीडितको घर निर्माणका क्रममा केही कमीकमजोरी भएको र केही छुट्न गएको लगायतका गुनासा सुन्नमा आएको बताउँदै रक्षामन्त्री पोखरेलले भन्नुभयो, “यो काम सम्पन्न गर्ने सिलसिलामा छुट्न गएका पीडितहरूका लागि के गर्नुपर्ने हो, त्यसका लागि औपचारिक निर्णय गर्छौं, यो वचन म तपाईंहरूसमक्ष राख्न चाहन्छु ।” त्यसअघि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रशासनिक कमीकमजोरीका कारण बारामा केही पीडित घर निर्माणबाट वञ्चित हुनुपरेको प्रसङ्ग उठाउनुभएको थियो । नेपाली सेनाले राष्ट्रिय स्वाधीनता र क्षेत्रीय अखण्डताको रक्षा मात्र नभई विकासनिर्माण र राज्यलाई विपत् परेको बेला सदैव जनता र देशका लागि योगदान पु¥याउँदै आएको बताउनुहँुंदै रक्षामन्त्री पोखरेलले नेपाली सेनाको जनता आवास निर्माण कार्यदलले तोकिएको समयभित्रै घर निर्माण गरी हस्तान्तरण गरेकोमा सेनालाई धन्यवाद दिनुभयो ।

    उहाँले सरकार मात्र होइन, प्रणाली नै परिवर्तन गरी तीन तहको सरकार बनेको अवस्थामा तीन तहकै सरकारबीच आपसी समन्वय कसरी गर्नुपर्छ भन्ने उदाहरण बारा र पर्साको हावाहुरी पीडितहरूको घर निर्माणले देखाएको बताउँदै देश र जनतालाई शिरमा राखेर काम गर्नुपर्ने कुरामा जोड दिनुभयो । मन्त्री पोखरेलले वर्तमान सरकार गठनपछि जनताले राखेका अपेक्षा पूरा नभएको गुनासो आउनु स्वाभाविक भएको बताउँदै अब जनतालाई दिइएको वाचा र प्रतिबद्धताअनुरूप काम गरेर देखाउने बेला आएको कुरामा जोड दिनुभयो । उहाँले मुलुकको स्थायित्व र विकासका लागि नभइनहुने कानुन निर्माण गर्ने प्रक्रिया लगभग सम्पन्न भएको र अब पनि जनताका आकाङ्क्षा पूरा नभए जनताले गर्ने फैसला स्वीकार गर्न तयार हुनुपर्ने कुरामा जोड दिनुभयो ।

    यस्तै सिङ्गापुरमा उपचार गराइरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले घर हस्तान्तरण कार्यक्रममा सहभागी हुन नसकेको भन्दै हावाहुरीपीडित बारा र पर्साको जनतासँग पछि भेट्ने सन्देश दिनुभएको जानकारी कार्यक्रममा गराइएको थियो । छोटो समयमा नेपाली सेनाले गरेको कार्यलाई प्रधानमन्त्रीले बधाई दिनुका साथै पीडित जनता र सेनालाई धन्यवाद ज्ञापन गर्नुभएको सन्देश पनि रक्षामन्त्री पोखरेलले जानकारी दिनुभयो ।

    कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री ओलीको विशेष पहलमा नेपाली सेनाले छोटो अवधिमा जनआकाङ्क्षाअनुरूप घर निर्माण सम्पन्न गरेको भन्दै नेपाली सेनालाई धन्यवाद दिनुभयो । उहाँले सेनाको कार्यकुशलताले हावाहुरी पीडितको केही घर निर्माण छोटो समयमा, मितव्ययी, गुणस्तरीय आवास निर्माण भएको बताउनुभयो । उहाँले केही पीडितको आवास छुट्न गएको बताउँदै छुटेका घरहरू सङ्घीय, प्रदेश र स्थानीय सरकारको समन्वयमा निर्माण गरिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

    प्रधानसेनापति पूर्णचन्द्र थापाले गएको चैत १७ गते बारा र पर्सामा आएको विनाशकारी हावाहुरीले पु¥याएको क्षति र स्थानीयले कठिन परिस्थितिको सामना गरिरहेको अवस्थाबाट मुक्ति दिन सरकारको निर्देशनअनुरूप सेनाले घर निर्माण कार्य सम्पन्न गरेको बताउनुभयो । उहाँले बाराका ८०७ र पर्साका ६२ गरी ८६९ घरको प्रमाणपत्र तथा नक्साको कागज रक्षामन्त्री पोखरेललाई हस्तान्तरण गर्नुभयो । मन्त्री पोखरेलले प्रदेश २ का मुख्यमन्त्री राउतलाई सो प्रमाणपत्र हस्तान्तरण गर्न‘भएको थियो ।

    यता मुख्यमन्त्री राउतले कार्यक्रमस्थलमै हावाहुरीबाट प्रभावित भई घर निर्माण गरिएका बाराका कलैया उपमहानगरपालिका, महागढीमाई नगरपालिका, फेटा, सुवर्ण, प्रसौनी, परवानीपुर, देवताल गाउँपालिका तथा पर्साको वीरगञ्ज महानगरपालिका, बहुदरामाई नगरपालिका र सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष तथा नगर प्रमुखहरूलाई सो प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । हस्तान्तरण गरिएका प्रमाणपत्र सम्बन्धित स्थानीय तहका प्रमुखहरूले आ–आफ्नो नगरपालिका तथा गाउँपालिकाको प्रभावित क्षेत्रमा पुगी विशेष कार्यक्रम आयोजना गरी हस्तान्तरण गर्ने नेपाली सेनाले जनाएको छ ।

    चैत १७ गते आएको विनाशकारी हावाहुरीका कारण बारा र पर्सा जिल्लामा २९ जनाको ज्यान गएको थियो भने एक हजार दुई सयभन्दा बढी घाइते भएका थिए ।
    हावाहुरीले ठूलो धनजनको क्षति पु¥याएपछि चैत २१ गतेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले हावाहुरी पीडितका लागि सरकारले नै घर निर्माण गरिदिने र सोको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । सो निर्णयपछि बारा र पर्सामा नेपाली सेनाले वैशाख २१ गते घर निर्माण कार्यको थालनी गरेको थियो । नेपाली सेनाले बारा र पर्सामा १२ समूह बनाएर सैनिक र गैरसैनिक गरी छ हजारभन्दा बढी जनशक्ति घर निर्माणमा लगाएको थियो ।

    लागत प्रतिघर झन्डै पाँच लाख
    नेपाली सेनाको जनता आवास निर्माण कार्यदलले हावाहुरी पीडितले घरको लागत प्रतिघर चार लाख ८५ हजार रुपियाँ रहेको प्रतिवेदन पेस गरेको छ । सरकारले प्रतिघर निर्माणका लागि पाँच लाख ४५ हजार ९८५ रुपियाँ ८८ पैसाका दरले रकम उपलब्ध गराएको थियो । कटिन्जेन्सी र निर्माण सामग्रीबाट सेनाले प्रतिघर ६१ हजार एक सय रकम बचत गर्न सफल भएको छ । सेनाको जनता आवास कार्यदलले निर्माण गरिदिएको घरमा दुई कोठा, एक भान्सा, एक शौचालय, बरण्डा छन् । गोरखापत्रबाट

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast